एभरेस्ट प्रिमियर लिग : राम्रा विदेशी खेलाडीको अनुबन्ध
काठमाडौं : नेपाली घरेलु क्रिकेटमा समेत राम्रा विदेशी खेलाडीको उपस्थिति देख्न पाइने भएको छ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) का टोलीहरूले आगामी सिजनका लागि टेस्ट राष्ट्रकै राम्रा खेलाडीहरू भित्र्याउन थालेका छन् । यसले नेपाली घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ । ईपीएलको नयाँ सिजन नोभेम्बर तेस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ ।
काठमाडौं किङ्स इलाभेनले मंगलबार जिम्बावेको वर्तमान राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सिकन्दर राजालाई अनुबन्ध गरेको घोषणा गरेको छ । सिकन्दरले आगामी सिजन नेपालमा क्रिकेट खेले सम्भवतः उनी नेपालको घरेलु क्रिकेट खेल्ने सबैभन्दा उच्च श्रेणीका विदेशी खेलाडी बन्नेछन् ।
जिम्बावेको राष्ट्रिय टोलीबाट १० वटा टेस्ट खेलेका ३२ वर्षीय सिकन्दरले ८५ एकदिवसीय र २० वटा टिट्वेन्टी क्रिकेटसमेत खेलेका छन् । मैदानमा अल राउन्ड प्रदर्शन गर्ने उनी आफ्नो टोलीका लागि आवश्यक परेको अवस्थामा बल र ब्याट दुवैबाट उत्तिकै सशक्त प्रदर्शन गर्न सक्षम रहन्छन् । सिकन्दरले गत मार्चमा जिम्बावेमै भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप छनोट प्रतियोगितामा नेपालविरुद्धकै खेलमा एक सय २३ रनको शतकीय पाली खेलेका थिए । उनी सो प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । उनै सिकन्दर नेपालको घरेलु क्रिकेट खेल्नका लागि काठमाडौं किङ्स इलाभेनसँग अनुबन्धित भएका हुन् ।
सिकन्दरलाई अनुबन्ध गर्न पाउँदा उनको टोली काठमाडौं किङ्स इलाभेनले खुसी व्यक्त गरेको छ । ‘जिम्बावे राम्रा क्रिकेट खेलाडी उत्पादन गर्ने देश हो । त्यहीमध्येका सशक्त खेलाडी हुन् सिकन्दर राजा’, काठमाडौं किङ्स इलाभेनका सीओओ राजजंग थापाले भने, ‘उनी हाम्रा लागि एकदमै सशक्त अलराउन्डर हुने छन् ।’ सिकन्दर काठमाडौं किङ्स इलाभेनले आगामी सिजनका लागि अनुबन्ध गरेको आफ्नो तेस्रा खेलाडी हुन् ।
ईपीएलको नियमअनुसार कुनै पनि टोलीले एक सिजनमा तीन जनामात्रै विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछ । काठमाडौं किङ्स इलाभेनले यसअघि आयरल्यान्डका केभिन ओब्रियन र संयुक्त अरब इमिरेट्स (यूएई) का कप्तान रोहन मुस्तफालाई समेत अनुबन्ध गरिसकेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटको माथिल्लो स्तरमा खेल्दै आइरहेका आयरल्यान्ड र यूएईका यी दुवै खेलाडी ओब्रियन र मुस्तफा पनि राम्रा खेलाडी हुन् । ओब्रियनले सन् २०११ को विश्वकपमा आयरल्यान्डलाई पराजित गर्दा उनै ओब्रियनले ६३ बलमा एक सय १३ रनको शतकीय पाली खेलेका थिए ।
सिकन्दर र ओब्रियनका लागि नेपालमा क्रिकेट खेल्नु यो पहिलो अवसर हुनेछ । मुस्तफाले भने गत वर्ष टिम चौराहबाट नेपालको अर्काे घरेलु टिट्वेन्टी फ्रान्चाइज क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) खेलेका थिए । जसमा उनकै अल राउन्ड प्रदर्शनमा टिम चौराहले उपाधिसमेत जितेको थियो ।
आगामी सिजनका लागि काठमाडौं किङ्स इलाभेनपछि चितवन टाइगर्सले पनि इङ्ल्यान्ड र न्युजिल्यान्डबाट एक÷एक खेलाडीलाई अनुबन्ध गरेको छ । चितवन टाइगर्सले नयाँ सिजनका लागि इङ्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई अनुबन्ध गरेको जनाएको छ ।
इङ्ल्यान्डको यू-१९ राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका २० वर्षीय म्याक्स र २८ वर्षीय फुलर दुवै इङ्ल्यान्डको मिडलसेक्सबाट काउन्टी क्रिकेट खेल्ने खेलाडी हुन् । ब्याटिङ अलराउन्डर म्याक्सको टिट्वेन्टी क्रिकेटमा स्ट्राइक रेट एक सय ३७ भन्दा माथि रहेको छ । यस्तै ४४ वटा प्रथम श्रेणीको क्रिकेट खेलेका फुलरले ७६ टिट्वेन्टी खेल खेलेका छन्, जसमा एक सय ५० को स्ट्राइक रेट कायम गरेका छन् भने ती खेलबाट ९४ विकेटसमेत लिएका छन् ।
गत वर्षको संस्करणमा राम्रो प्रदर्शन गर्न नसकेको पृष्ठभूमिमा यी दुवै खेलाडीले नयाँ सिजनका लागि भने राम्रा खेलाडीको अनुबन्ध गरेका छन् । ‘गत वर्ष हाम्रो प्रदर्शन सन्तोषजनक हुन सकेन । त्यसैले यो सिजन टोलीको प्रदर्शन राम्रो होस् भन्ने उद्देश्यले राम्रै खेलाडी भित्र्याइरहेका छौं’, चितवन टाइगर्सका किशोर भट्टराईले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसले टोलीका अन्य खेलाडीलाई पनि हौसला थपेको महसुस गरेको छु ।’