जितको विकल्प छैन नेपाललाई
काठमाडौं : सुरुआती दुईमध्ये दुवै खेलमा पराजय बेहोरेपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कपका लागि छनोट पक्का गर्न नेपालसामु आफ्नो बाँकी खेलमा जितको विकल्प छैन । त्यसैले शनिबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दा पनि नेपालका लागि उद्देश्य जित नै हुनेछ ।
प्रतियोगिताको उपाधि दाबेदार टोलीका रूपमा हेरिएको नेपालका लागि सुरुआती दुई खेलमा पराजय बेहोरेपछि फाइनल यात्रा नै मुस्किल देखिएको छ । नेपाल बुधबार भएको आफ्नो पहिलो खेलमा ओमानसँग सात विकेट र बिहीबार भएको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७८ रनको भारी अन्तरले पराजित भयो । यो अवस्थामा ओमान र यूएईले भने सुरुआती दुवै खेलमा जित हात पारेकाले पनि नेपाललाई छनोट प्रतियोगिताको फाइनल यात्रा तय गर्दै एसिया कप छनोट सम्भावना जीवित राख्न बाँकी रहेको आफ्ना सबै खेलमा जित अत्यावश्यक बनेको हो ।
राउन्ड रोबिन लिगको प्रतिस्पर्धापछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि विजेता एक टोली सेप्टेम्बर १५ देखि ३० सम्म यूएईमा हुने एसिया कपका लागि छनोट हुनेछन् । छनोट हुने सो टोलीले एसिया कपको समूह ‘ए’मा रहेर भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
नेपाली टोलीले भारत र पाकिस्तानका सिनियर टोलीसँग प्रतिस्पर्धा गर्न यही अवसर सदुपयोग गर्ने योजना बनाए पनि सुरुआती दुई खेलको पराजयले मुस्किल देखिएको छ । नेपाललाई प्रतियोगितामा बाँकी रहेको आफ्ना सबै खेलमा जित हात पारेर मात्रै पुग्नेछैन, अन्य टोलीको प्रदर्शनमा समेत भर पर्नु पर्नेछ ।
मलेसिया नेपालका लागि परम्परागत प्रतिद्वन्द्वी टोली हो । यद्यपि पछिल्लो समय नेपालले सशक्त प्रदर्शन गर्दै यसै वर्ष एक दिवसीय टोलीको मान्यता प्राप्त गर्दा मलेसिया भने डिभिजन चारमै अड्किएको छ । तर, जारी प्रतियोगितामा भने मलेसियाले सशक्त प्रदर्शन गरेको छ । मलेसियाले आफ्नो पहिलो खेलमै हङकङलाई तीन विकेटले पराजित गर्दै महŒवपूर्ण दुई अंक बटुलिसकेको छ ।
यद्यपि नेपालले हालसम्म कुनै पनि जित हात पार्न सकेको छैन । आफ्नो घरेलु मैदानमा खेल्ने मलेसियाविरुद्धको खेलमा जित हात पार्न नेपाललाई आफ्नो अघिल्लो प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ । जारी प्रतियोगितामा नेपालले ब्याटिङमा संघर्ष गरिरहँदा मलेसियाले पनि बलिङमा अझ सशक्त प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा हङकङलाई एक सय ६१ रनमै रोकेको मलेसियाले दोस्रो खेलमा ओमानले एक सय ९९ रन बनाउँदा आठ विकेट लिन सफल भएको छ ।
त्यसैले नेपाललाई मलेसियाविरुद्ध जित हात पार्दै एसिया कप छनोटको सम्भावना जीवित राख्न ब्याटिङमा निकै सुधार गर्न आवश्यक देखिएको छ । पहिलो खेलमा ओमानविरुद्ध दुई सय २१ रनको योगफल बनाएको नेपाल यूएईविरुद्ध भने एक सय ७६ रनमै रोकिएको थियो । पहिलो खेलमा सागर पुनले ८३ रन तथा दोस्रो खेलमा सुवास खकुरेलले ५० रनको अर्धशतकीय पालि खेल्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । दुवै खेलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी, आरिफ सेख र रोहितकुमार पौडेलको ब्याट खुल्न सकेको छैन । त्यसैले आगामी खेलमा टोलीलाई विजयी बनाउन यी खेलाडीको ब्याटबाट पनि रन आउन आवश्यक छ ।