एउटा अन्त्य !

एउटा अन्त्य !

पाँच महिना बित्यो। कोरियन भाषा जानिनँ। ओठ हैन ! हात मात्रै चल्यो। हातले सबै वाक्य निर्माण गर्न सकेन।

मजस्तै साथीले भाषा जान्यो। उसले अलिक सुविधाजनक ठाउँमा काम पायो।

भाषा नजाने पनि हुने काम मैले पाएँ।

भाषै नभए पनि गर्न सक्ने काम भनेको फूलबारी गोड्ने, कुखुराको सुली सोहोर्ने, कुकुरको हेरचाह गर्ने आदि काम हुँदा रहेछन्।

थुप्रै काममध्ये कुकुरको हेरचाहा गर्ने कामबारे लेख्छु।

(पाठक ! योभन्दा पछि तपाईंलाई घिन लाग्न सक्ने सानो पाटो छ। त्यसैले पूरै नपढ्न सक्नुहुन्छ तर तपाईंलाई थाहा होस् ! यो कथाको समाप्तिमा एक कुकुरको दुःखद अन्त्य हुनेछ।)

०००

मेरो जिम्मामा तीन कुकुर थिए। दुई छाउरी, एक छाउरो। तिनको चारोपानीको ख्याल राख्नु मेरो काम थियो।

छाउरो फोहोरी थियो ! बसेकै ठाउँमा हग्थ्यो।

प्रत्येक दिन उसले हगेको जिनिस उठाएर फाल्नुपर्थ्यो। खुब घिन लाग्थ्यो। आन्द्रा फर्केर किलकिलेसम्म आइपुग्थ्यो। किलकिलेको नसा च्यापेर आन्द्रा रोक्थेँ।

‘घिन लाग्यो !’ भन्न हुँदैन थियो। त्यो काम मैले नगरे अर्काे कसैले गथ्र्याे। अर्कोलाई घिन लाग्दैन भने मलाई कसरी घिन लाग्छ ? गुहु र घिनको सम्बन्ध लगभग सबैसँग एकै हुन्छ।

आँखा चिम्लिन्थेँ। बेल्चाले गुहु उठाउँथेँ। फुत्त डाँडो कटाउँथेँ। गुहुको आलो गन्धले नाक भरिन्थ्यो। श्वास फोक्सोमै बन्दी बन्दी बन्थ्यो।

अनि औंला भाँच्थेँ। वर्ष गन्थेँ। अब कति वर्ष बाँकी छ ! यसरी गुहु उठाउन !

अनि औंला भाँच्थेँ। महिना गन्थेँ। अब कति महिना बाँकी छ यसरी गुहु उठाउन !

अनि औंला भाँच्थेँ। दिन गन्थेँ। अब कति दिन बाँकी छ यसरी गुहु उठाउन !

एक दिन कुकुरको गुहु सोर्ने काम सकियो। देश फर्कने बेला आयो। तर, त्यस बेलासम्म आमाले बच्चाको गुहुसँग घिन नमानेजस्तो ! मेरा बाले गाईको गोबरसँग घिन नमानेजस्तो, तबेलाको नोकरले घोडाको लिदीसँग घिन नमानेजस्तो मलाई कुकुरको गुहुसँग घिन लाग्न छाडिसकेको थियो।

घिन पनि बानी रहेछ। म घिनसँग बानी परेँ।

पाठकलाई घिन लागिसक्यो होला। यो प्रसंग यहीँ छाडिदिन्छु।

०००

छाउराको जात मात्र ‘छाउरो’ थियो ! काम थिएन। मालिकले सानैमा परिवार नियोजन गरिदिएछ।

दुई छाउरीमध्ये एक छाउरी एकदमै कामुक ! जतिखेर पनि छाउरासँग टाँस्सिएर बस्ने। बेला कुबेला छाउरामाथि उक्लिरहने।

हाम्रा तिरका कुकुर साह्रै धैर्य ! जे जसरी भए पनि कार्तिक पर्खन सक्ने। कोरियन कुकुर मान्छेजस्ता ! जति खेर पनि कामुक बन्न सक्ने। जति खेर पनि तयार हुन सक्ने।

म सानो हुँदा घरमा कुकुर थियो। कुकरलाई काखी च्यापेर सुत्थेँ। मलाई कुकुरको स्पर्श खुबै मन पर्छ।

तर अञ्जान कुकुरसँग असाध्यै डराउँछु। मान्छेसँग जस्तै कुकुरसँग पनि हत्तपत्त घुलमिल हुन सक्दिनँ। मान्छेसँग जस्तै कुकुरसँग पनि घुलमिल भएपछि हत्तपत्त छुट्न सक्दिनँ। मान्छे र कुकुरको दोस्तीमा, समानता छ।

सुरुमा ती तीन कोरियन कुकुर देखेर खुब डराएँ। तर, यहाँ डराउन हुँदैन। म डराएँ, अर्को कोही आएर कुकुरको चाकर गर्छ। अर्को डराउँदैन भने म मात्र किन डराउनु ?

आफूलाई कमजोर साबित गर्ने कुनै बहाना मन पराउँदिनँ।

छो नाम गरेको सन्काहा हाकिमले कुकुर देखाउँदै अर्डर गर्‍योे, ‘भोलिदेखि तैंले यिनारुको स्याहार गर्ने। नियमित दानपानी दिने। बस्ने ठाउँ सफा गर्ने !’

रिसाउन हुँदैन थियो। नरिसाई ‘हुन्छ’ भनेँ। मुसुक्क हाँसेँ। (उसलाई खुसी बनाउन हाँसेको होइन ! हाँस्न बिर्सिन्छु कि भन्ने भयले बेलाबेला हाँस्ने गर्थें।) पहिलो दिन मलाई देखेर कुकुर खुब जोडजोडले भुक्यो। मानौं म मालिकको घरमा पसेको चोर हुँ।

मेरो मुटु फुल्यो। गोडा लुगलुगाए।

‘म डराउन हुन्न !’ भन्ने ज्ञानले काम गर्‍यो— भाले कुकुरको नजिकै गएँ। उसको टाउको जबरजस्ती छोएँ। मेरो हात टोक्न मुख बायो। तर, टोक्ने हिम्मत गरेन।

टाउको मुसार्न थालेँ। प्रेमले दुनियाँ जित्छ भन्छन्। कुकुर मेरो जबरजस्ती प्रेममा पर्‍यो। प्रेमले जित्यो। उसले हार्‍यो। भुक्न छाड्यो।

दुई पोथी कुकुरले डाहा गरे। मेरो पनि जीउ मुसार्दे हुन्थ्यो भन्ने चाहे। मैले बुझेँ।

तीनवटै कुकुर भुक्न छाडे। पहिलो दिनमै कुकुर पट्टिए। खुसी भएँ।

मैले दानापानी दिएँ। कुकुर मेरो ‘आफ्नो’ भयो। म कुकुरको ‘आफ्नो’ भएँ।

कुकुरलाई लाग्यो होला, ‘मान्छे असल रहेछ। आफ्नै मालिकजस्तो।’

दोस्रो, तेस्रो दिनसम्म एक दुईपल्ट भुके। नजिकै गएपछि मलाई ठम्याउन थाले। मेरो शरीरको गन्ध सुँघ्न थाले।

एक दिन एउटी छाउरी सिक्री चुँडाएर भागी।

पूर्वराजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता’ भन्दा हामी सडकमा जसरी निष्फिक्री उफ्रँदै दौडेका थियौं, त्यसैगरी सिक्री चुँडाएकी कुकुर्नी पनि जोडजोडले कुद्न थाली। तर, कुकुर्नीलाई लोकतन्त्र आको थिएन। ऊ त जेलबाट भागेको कैदी हो। जसरी हुन्छ उसलाई सिक्रीमै फर्काउनुपर्छ।

त्यो जिम्मेवारी मेरो हो।

म कुकुर्नीको पछिपछि कुदेँ। दुई घन्टा भयो। ऊ थाकिनँ। म थाकेँ ! तर मैले थाकेँ भन्न हुँदैन। एक जिम्मेवार मान्छे कहिल्यै थाक्न हुँदैन। त्यसमाथि म आप्रवासी मजदुर, जसले थाक्छ भन्ने कुरा सोच्नै हुँदैन।

कम्पनीमा एकजना मजस्तै मजदुरी गर्ने कोरियनभाषी चइनिज बूढो थियो। जो बढ्दाबढ्दै चार फिटमै रोकिएको थियो।

उसलाई जिस्क्याएर ‘भाइकाका’ सम्बोधन गर्थें।

तीनै भाइकाकाले कोरियन भाषामा कुकुरलाई डाके। कुकुर पुच्छर हल्लाउँदै आयो।

भाइकाकाले भने, ‘कुकुर समात्न कोरियन भाषा राम्रोसँग सिक् ! नत्र सधैं यसरी नै दुक्ख पाउँछस्।’

पछिपछि कोरियन भाषा त राम्रै सिकेँ तर कुकुरले बुझ्ने गरी बोल्न जानिनँ।

कहिलेकाहीँ कुकुर समात्न नसकेको पीरमा भाइकाकालाई सोध्थेँ, ‘काका यो कुकुर कहिले मर्छ ? ’

काका भन्थे, ‘तँ घर गएपछि !’

म गुगल गर्थें ! कोरियन कुकुरको औसत आयु कति ?

हो ! साँच्चै कुकुर त म घर गएपछि मात्रै मर्ने रहिछ।

०००

जुन महिनाको एक बिहान, एक पोथी कोकुरले ६ वटा बच्चा जन्माई।

तर कसरी जन्माई ?

सँगै बस्ने भालेको पुरुषत्व जाग्दैन। मान्छेको अनुमतिबिना यहाँ अर्को कुनै भाले कुकुर आउन पाउँदैन। मैले कुनै भाले कुकुर आउने अनुमति दिएको सम्झना छैन। त्यसमाथि कोरियामा कुनै कुकुर छाडा छाडिँदैन।

कम्बोडियन साथीले जिस्क्याउँदै भन्यो, ‘नि हागो खेआगी हागो ओगुलनुन तोकाथे इस्सयो ! अत्तके ? ’ (तेरो अनुहार र कुकुरको बच्चाको अनुहर त उस्तै छ त ! कसरी ? )

साँच्चै कसरी कुकुरले बच्चा जन्मायो ?

म चित खाएँ।

मैले कुकुरलाई केही गरेको छुइनँ। आफैंसँग ठट्टा गरेँ।

म कुकुर्नीको पछिपछि कुदेँ। दुई घन्टा भयो। ऊ थाकिन। म थाकेँ ! तर मैले थाकेँ भन्न हुँदैन। एक जिम्मेवार मान्छे कहिल्यै थाक्न हुँदैन। त्यसमाथि म आप्रवासी मजदुर, जसले थाक्छ भन्ने कुरा सोच्नै हुँदैन।

गाईभैंसीलाई कृत्रिम गर्भधारण गराएजस्तै कोरियामा पनि कुकुरलाई कृत्रिम गर्भधारण गराइँदो रहेछ। गाईभैंसीकोे बच्चा जन्माउने सम्भोगको समय थाहा भएजस्तै कोरियन मालिकलाई पनि कुकुरको बच्चा जन्माउने सम्भोगको समय थाहा हुँदो रहेछ।

दुईवटा बच्चा बाँच्न सकेनन्। जन्मेकै दिन आयु सके।

बाँकी चार बच्चालाई आमाले खुबै प्रेम गरी। हावापानी नछिर्ने खोरको भित्री भागमा लगेर बच्चाहरू राखी। पृथ्वीका सबै आमालाई एकैल्ट सम्झेँ। मान्छे हुन् कि जनावर, आमाको प्रेमको विज्ञान एकै हो। आमाको प्रेमको कला एकै हो। आमाको प्रेमको भाषा एकै हो।

बच्चाहरू साह्रै झिना थिए।

अनुमान गर्न सकिन्छ, एउटा सानो कुकुरको पेटमा अटेका ६ वटा बच्चा कत्रा होलान् !

मलाई बच्चा देखेर एकदमै घिन लाग्यो। आँखा नखुलेका, शरीरमा रौं नभएका। झिलझिले कागजजस्तो पातलो छालाले बेरिएका कुकुरका नक्साजस्ता मात्र देखिन्थे।

मैले माउलाई दानापानी दिएँ।

बच्चातिर आँखा लगिनँ।

आमाले आफ्नै नियमअनुसार बच्चालाइ दूध चुसाई। न्यानो बनाई।

कुकुर ब्यायो भनेर कम्पनीभरि हल्ला भयो। कम्पनीमा पाँच देशका मान्छे काम गर्थे। कोरियन, भियतनामी, कम्बोडियन, चाइनिज र हामी नेपाली।

नेपालीहरू कुकुरका बच्चा हेर्न गएनन्। बाँकी सबै देशका मान्छे गए। कुकुरको बच्चा देखेर आआफ्नो भाषामा प्रेम अभिव्क्त गरे। बच्चालाई हातले उठाए ! ओठ छेउसम्म पुर्‍याए ! तर, कसैले बच्चाको टाउकोमा चुम्बन गरेनन्। उनीहरूले आआफ्नो भाषामा लोरी भने सुनाए।

ती कलिला बच्चालाई मान्छेका हातले ओल्टाइपल्टाइ गरेको, आमाले मन पराइन। उसले जोडजोडले भुकेर रिस पोखी।

मैलेचाहिँ बच्चालाई प्रेम गर्न सकिनँ। तर, चिसोले मरिहाल्छन् कि भनेर पुराना कपडाहरू लगेर राखिदिएँ। प्रेमले होइन दयाले। प्रेम र दयामा दुई ध्रुवीय फरक छ।

बच्चाहरूले विस्तारै आँखा खोले। आफ्नै नियमअनुसार हुर्कंदै गए। बढ्दै गए। महिना दिनपछि एकदमै रहरलाग्दा बने। मैले चारै बच्चालाई हातमा लिएर खेलाउन थालेँ। बिहान ८ बजेदेखि मेरो नियमित काम सुरु हुन्थ्यो तर म सातै बजे कुकुरको घर पुग्थेँ। बच्चाहरूसँग खेल्थेँ।

चारवटै बच्चालाई पोको पारेर छातीमा राख्थेँ। उनीहरूले मेरो छातीको सुर सुने। मीठो संगीतजस्तो लाग्यो होला ! चाल मारेर बसे।

मैले आनन्द लिएँ। खुबै आन्नद।

बच्चाहरू डेढ महिनाका भए ! कम्पनीको चियरम्यान बूढोले एकजना आफूजस्तै बूढो मान्छेलाई कुकुरको खोरमा लिएर आयो। त्यो आगन्तुक बूढोले बच्चाहरू हातमा उठायो। केही बेर खेलायो।

‘कुकुरको हेरचाह गर्ने मान्छे तिमी हौ !’ भनेर मलाई सोध्यो। म बोलिनँ ! ‘हो’ भनेर मुन्टो हल्लाएँ।

‘एकदमै राम्रोसँग स्याहार गरेछौ। सबै बच्चा सप्रिएका छन् !’ उसले मेरो प्रशंसा गर्‍यो। थौरै हाँसेर उसको प्रशंसाको सम्मान गरेँ।

दुई बलिया र राम्रा बच्चा छान्यो र उसले लिएर गयो। त्यस रात खुब पिरोलिएँ।

पीरको पनि खुसीको पनि आयु हुन्छ। पीरको आयु सकियो। मेरो दुई मुटुको सुर सुन्ने दुई बच्चा बाँकी रहे। म उनीहरूसँगै रमाउन थालेँ।

उनीहरूलाई मैले नेपाली भाषा सिकाएँ। मैले बोलेको भाषा बुझ्न थाले। जसरी कोरियन भाषामा कोरियनले बोलाउँदा माउ कुकुरहरू आउँथे, त्यसैगरी मैले बोलाउँदा बच्चा कुकुरहरू आउन थाले। म खुसीले उफ्रिएँ। कुकुरले मेरो भाषा बुझ्यो।

कम्पनीमा हत्तपत्त बिदा लिन पाइँदैन थियो। कहिलेकाहीँ महिनौं दिनसम्म लगातार काम गर्थें। कुकुर ब्याएपछि मैले कामबाट बिदा लिएको थिइनँ।

दुई महिनापछि एक आइतबार बिदा लिएर घुम्न निस्केँ।

सोमबार कम्पनी फर्कंदा कुकुरको एउटा बच्चा थिएन। मिल्ने साथी, जान्छुसमेत नभनी बसाइँ सरेर परदेश हिँडेजस्तो दुःखी भएँ। साहूले बेचिदिएछ।

सायद हिँड्ने बेला बच्चाले मलाई खोज्यो होला। नचिनेको मान्छेसँग जान डरायो होला। लैजाने मान्छेले प्रेम त गर्छ होला। तर, त्यो बच्चाले लैजाने मान्छेको भाषा बुझ्दैन। मैले सुरुसुरुमा कोरियन भाषा नबुझ्दा खुबै गाली खाएको छु। म निराश र उदास भएको थिएँ। त्यो कुकुरको बच्चा पनि भाषा नबुझेर निराश र उदास होला। कहिलेकाहीँ सिक्री चुँडाएर भाग्न पाउँदा भाषा नबुझेकै कारण दिनभर दगुर्नु पर्ला !

मालिकलाई खुब रिस उठ्ला र मार्न भनेर झम्टेला वा मैलैजस्तै कुकुरको आयु कति हो भनेर इन्टरनेटमा सर्च गर्ला ! वा मासुका लागि बधशाला पठाउला (कोरियामा कुकुरको मासु खाने चलन छ। तर, यसरी घरमा पालेर घरमै काटमार गर्न पाइँदैन।)

पीरको पनि, खुसीको पनि आयु हुन्छ। पीरको आयु सकियो। मेरो दुवै मुटुको सुर सुन्ने एउटै मात्र बच्चा बाँकी रह्यो।

बाँकी बच्चो चार महिनाको भयो ! ऊ जवान देखिन थाल्यो। कोही लिन आएनन्।

मलाई लाग्यो जवान भयो कुकुर ! अब कसैले लाँदैनन्।

भाइकाकालाई भन्थेँ, ‘यो कुकुर म घर लैजान्छु।’

उनी भन्थे, ‘कोरियाबाट घर लाने कुरा तैंले कुकुर मात्र भेटिस् !’

तर, पाँच महिनापछि त्यही एउटा बच्चा पनि बिक्री हुने भयो।

चियरम्यान बूढोले मलाई फोन गर्‍यो, ‘कुकुर लिन मेरो साथी आउँदै छ। दिई पठाइदे।’ मेरो मुटुको गति फेरबदल भयो। तर, चियरम्यान बूढोलाई ‘म कुकुर पाल्छु, देश लान्छु, कुकुरको मूल्य मेरो तलबबाट काट !’ भन्न सकिनँ।

मैले हुन्छ भनेँ।

कुकुर लिन मान्छे आयो। मैले कुकुर बस्ने घरमा लिएर गएँ।

मलाई देखेर कुकुर खुसी भयो। मैले अँगालो हालेँ। मेरो निदार चाट्यो। प्रेम देखायो। मैले बस् भनेँ, बस्यो। उठ भनेँ, उठ्यो। मैले उता जा भनेँ, गयो। मैले यता आइज भनेँ, आयो।

कुकुर लिन आउने मान्छेले पनि त्यसै भन्यो। तर, कोरियन भाषा कुकुरले बुझेन। मान्छे रिसायो।

‘भाषा नबुझ्ने कुकुर लान्नँ’ भन्यो

म खुसी भएँ।

कोरियाको हिउँद खुबै चिसो हुन्छ। पानी बग्न छाडेर जम्न थाल्छ। हिउँ मिसिएको बतास चल्छ। घामले आफ्नो सारा तेज गुमाउँछ ! युद्ध हारेर घर फर्किएको कमजोर सिपाहीजस्तो हुन्छ हिउँद।

मैले कुकुरको ओछ्यान बनाएँ। न्याना ओछ्याउनेहरू बिछ्याएँ। खोरलाई चारैतिरबाट घेरेर कम्बल ओढाएँ।

माउ कुकुरहरूले थुप्रै वर्ष भयो हिउँद–वर्षा झेलेको। तर, पहिलो हिउँद झेलिरहेको नयाँ बच्चालाई गाह्रो हुन्छ। ‘भोलि त अलिक न्यानो होला ! पर्सि त अलिक तातो होला !’ भन्दाभन्दै जाडो झन्झन् खप्टिँदै जान्छ।

जनवरी, फेब्रुअरी फ्रोजन माहिना हो। कुवादेखि खोलोसम्म जम्छ। कुकुरको लागि राखेको पानीसमेत जम्छ।

ठूला कुकुरले बरफ चाटेर प्यास मेटे। तर, सानो कुकुरले बरफ चाट्न सकेन। खाने कुरो पनि राम्रोसँग खान सकेन। दुब्लाउँदै गयो। मसँग चल्न–जिस्कन पनि छाड्यो। मैले मालिक र अरू हाकिमहरूसँग कुरा गरेँ, ‘कुकुर दुब्लाउँदै छ। खानेकुरा पनि राम्रोसँग खाँदैन। बिरामी छ।’

मालिकले भन्यो, ‘छाडिदे भाषा नजान्ने कुकुर कसैले लाँदैन। मरे पनि मरोस्।’

फेरि म पीरमा परेँ। मेरो मुटुको सुर सुन्दै हुर्किएको बच्चा हो यो। जसले मैले पहिलोपल्ट ‘आमा’ भन्न जानेको भाषा बुझ्छ। जसलाई यो बिरानो देशमा म मेरो भाषा सुनाउन सक्छु। जसले मेरो दुक्खले भरिएको कुरूप अनुहार देखेको छ। जसले मेरो खुसीले भरिएको सुन्दर अनुहार पनि देखेको छ।

फेब्रुअरी महिनाको एक बिहान, मलाई देखेर तीनवटै कुकुरले चालचुल बढाए। दुई पोथी कुकुर बेस्मारी भुक्न थाले। भाले कुकुर पनि भुक्यो। बच्चो शान्त छ।

मैले हातले चलाएँ। बरफ भएछ।

भाषा नजानेका कारण आफ्नो पूरै आयु बाँच्न पाएन। मलाई पछुतो छ। जसको कारण म हुँ। मैले उसलाई मेरो भाषा सिकाएँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.