विवादले बिगारेको नेपाली खेलकुद
जकार्ता (इन्डोनेसिया) : जबजब ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नजिकिन्छन् तबतब नेपाली खेलकुदमा खेल पदाधिकारीबीचको आपसी विवाद चरम अवस्थामा पुग्छ। प्रतियोगितामा आफ्नो पक्षका खेलाडी सहभागी गराउनेदेखि लिएर प्रशिक्षक चयनको विषयमा समेत खेल पदाधिकारीबीच विवाद र खुट्टा तानातानको अवस्था उत्पन्न हुन्छ। नेपाली खेलकुदका लागि यो नौलो विषय होइन।
तर, पदाधिकारीबीचको विवादको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीको प्रदर्शनमा पर्छ भन्ने विषयमा भने कसैले वास्ता गरेको पाइँदैन। न त खेलाडीको तयारीको विषयमा नै खेल पदाधिकारीहरू चाहिनेजति गम्भीर भएको देखिन्छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीले एकपछि अर्को निराशाजनक प्रदर्शन गरेपछि पनि पुनः खेल पदाधिकारीबीच अर्को चरणको आरोप–प्रत्यारोप र गालीगलौज सुरु हुन्छ, हारको भारी कसले बोक्ने ? नेपाली खेलकुदका लागि हाल इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा जारी एसियाली खेलकुदको १८औं संस्करण पनि विगतभन्दा पृथक् रहन सकेन।
प्रतियोगितामा पदकको आशा गरिएका खेलका खेलाडीहरू एकपछि अर्को गर्दै रित्तो हात घर फर्कन थालेपछि यति बेला नेपाली खेल पदाधिकारी हारको कारण खोज्न छाडेर एकअर्काको काँधमा दोषको भारी बिसाउने र आफ्ना खेलाडीको हारलाई पूर्वाधारको अभाव, खेलकुदमा सरकारको अपर्याप्त लगानीजस्ता विभिन्न बहानाबाजीको आवरण ओढाउन व्यस्त छन्।
पक्कै पनि नेपाली खेलकुदका लागि सरकारले गरेको लगानी पर्याप्त छैन। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हाम्रा खेलाडीले कमजोर भौतिक पूर्वाधारमा तयारी गर्नु परेको छ। अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य बोकेका खेलाडीले आवश्यक खुराकदेखि लिएर स्तरीय प्रशिक्षणसम्ममा सम्झौता गर्नुपर्ने बाध्यता छ।
यसका बाबजुद खेलकुद क्षेत्रको विकासका लागि सरकारले छुट्याएको सीमित बजेटकै पनि सही र समुचित प्रयोग हुन सकिरहेको छ त ? आमखेलाडी र खेलप्रेमीका लागि यसको जवाफ सुखद नहुन सक्छ। नेपाली खेलाडीले एसियाकै सबैभन्दा बृहत् खेलकुद प्रतियोगितामा पदक जितेर राष्ट्रको प्रतिष्ठा बढाउने सपना बुनिरहँदा देशका अधिकांश खेल संघहरू भने आपसी विवादमा रुमल्लिएका थिए।
एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल हो, तेक्वान्दो। तेक्वान्दोले हालसम्म एसियाली खेलकुदमा राष्ट्रलाई एक ऐतिहासिक रजतसहित १४ वटा पदक जिताएको छ। तर, चीनको ग्वान्जाओ, दक्षिण कोरियाको इन्चोन र इन्डोनेसियाको जकार्तामा भएका पछिल्ला तीन संस्करणमा तेक्वान्दो लगातार पदकविहीन बन्दै आएको छ।
आफ्नै घरमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा १४ वटा स्वर्ण जित्दै नेपाललाई पदक तालिकाको दोस्रो स्थानमा उभ्याउन सफल तेक्वान्दोले दुई वर्षअघि भारतमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा भने एउटा स्वर्ण पदकसम्म जित्न सकेन। एकताका दक्षिण एसियामै एकछत्र राज गरेको नेपाली तेक्वान्दोले आखिर पछिल्लो सयम किन आफ्नो साख गुमाउँदै छ त ?
यसको पछाडि सबैभन्दा ठूलो कारण हो, लामो समयदेखि घरेलु तेक्वान्दोमा देखिएको अन्त्यहीन विवाद। देशभित्रबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुपर्ने बेलामा देशभित्रै तेक्वान्दोका पदाधिकारी, प्रशिक्षक र निर्णायकदेखि लिएर खेलाडीसम्म लामो समयदेखि विभिन्न खेमामा विभाजित बनेका छन्।
एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्ने विषयमा समेत तेक्वान्दोभित्र चर्को विवाद देखिएको थियो। पछिल्लो समय एकातिर नेपाल तेक्वान्दो संघले आफ्ना खेलाडीलाई एसियाडका लागि बन्द प्रशिक्षणमा राखेको थियो भने अर्कोतिर राष्ट्रिय तेक्वान्दो संघ नेपालले पनि एसियाडकै लागि आफ्ना खेलाडीलाई आवश्यक तयारी गराएको थियो।
तेक्वान्दो पदाधिकारीहरू नै दुई खेमामा विभाजित भई एकअर्काविरुद्घ आरोप प्रत्यारोपमा ओर्लिएपछि त्यसको असर खेलाडीमा पर्नु स्वाभाविक हो। पदाधिकारीदेखि लिएर खेलाडीसम्म विभिन्न गुट र उपगुटमा लागेपछि न गतिलो खेलाडी छनोट हुन सक्छ र न त अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरू मानसिक रूपमै पनि तयार हुन सक्छन्।
‘खेल संघकै पदाधिकारीबीच विवाद देखिएपछि त्यसको मनोवैज्ञानिक प्रभाव खेलाडीमा पर्नु स्वाभाविक हो। कतिपय प्रतिभाशाली खेलाडी त प्रत्यक्ष रूपमै यस्तो विवादको मारमा परेका छन्’, राष्ट्रिय खेलकुद परिषद्का एक अधिकारी भन्छन्, ‘जारी एसियाडमै पनि नेपाली खेलाडीको कमजोर प्रदर्शनका पछाडि लामो समयदेखि संघभित्र चलेको विवाद धेरै हदसम्म जिम्मेवार छ।’
दुई समानान्तर खेल संघबीचको आपसी विवादका कारण देशको प्रतिनिधित्व गराएर एउटा संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाएको खेलाडीले त्यो प्रतियोगितामा पदक नजितोस् भनेर अर्को संघका पदाधिकारीले कामना गर्ने गरेको चर्चासम्म बेलाबखत नेपाली खेलकुदमा चल्ने गरेको पाइन्छ।
यसैगरी एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने चारवटा खेलमध्ये कराँते पनि एक हो। कराँतेले एसियाली खेलकुदमा नेपाललाई तीनवटा कांस्य पदक चुमाएको छ। आठौं दक्षिण एसियाली खेलकुदमा कराँतेले पनि नेपाललाई १४ वटा स्वर्ण दिलाएको थियो।
तर, नेपाली कराँते पनि लामो समयदेखि विभिन्न खेमामा विभाजित छ। खासगरी यति बेला अन्तर्राष्ट्रिय मान्यतालाई हतियार बनाएर एउटा कराँते संघ अघि बढेको छ भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता रहेर अर्को कराँते संघ पनि क्रियाशील छ।
तेक्वान्दोमा जस्तै कराँतेमा पनि पदाधिकारी र प्रशिक्षकदेखि लिएर खेलाडीसम्म दुई फरक खेमामा विभाजित छन्। १८औं एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्ने विषयलाई लिएर कराँतेभित्र पनि ठूलै रडाको मच्चिएको थियो। दुवै संघले आआफ्ना खेलाडीलाई एसियाडमा सहभागी गराउनुपर्ने अडान कायम राखेका थिए।
विवाद बढ्दै गएपछि दुवै पक्षका खेलाडीलाई सहभागी गराएर छनोट प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको थियो। खेलाडी छनोटपछि पनि यी दुई संघबीचको आपसी कटुताले भने निरन्तरता पाई नै रह्यो।
त्यसैको प्रतिफल हो, एसियाडमा छनोट भएका एक खेलाडी नवीन रसाइलीले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने निर्णय गरे। पछि उनको स्थानमा सोनाम लामालाई एसियाड टोलीमा समावेश गरियो। छनोट प्रतियोगिताको फाइनलमा नवीनले नै सोनामलाई हराएका थिए। यसरी आफ्ना खेल पदाधिकारीबीचको आपसी विवादको नकारात्मक प्रभाव छनोट चरण पार गरिसकेका खेलाडीमा समेत परेको थियो।
यसैगरी एसियाडको पूर्वसन्ध्यामा प्रशिक्षकको विषयलाई लिएर कराँतेमा ठूलै रडाको मच्चिएको थियो। एसियाडमा लैजाने प्रशिक्षकसम्बन्धी विवादकै कारण पोखरामा भएको कराँते खेलाडीको प्रशिक्षणमा समेत प्रभाव परेको थियो।
तेक्वान्दो र कराँतेजस्तै कुस्तीमा पनि दुईवटा संघ अस्तित्वमा रहेकाले एसियाडका लागि खेलाडी छनोटमा समेत त्यसको असर परेको थियो। यसैगरी एसियाडका लागि खेलाडी छनोटको विषयलाई लिएर कुराँस र टेनिसमा पनि विवाद नदेखिएको होइन। टेनिसका खेलाडी र तिनका अभिभावकले त एसियाडका लागि खेलाडी छनोट गर्दा आफ्ना नातागोतालाई प्राथमिकतामा पारिएको आरोप लगाउँदै पत्रकार सम्मेलनसमेत गरेका थिए।
उसो त नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पुलको भूमिका निर्वाह गर्ने महत्वपूर्ण निकाय नेपाल ओलम्पिक कमिटी आफैं पनि वर्षौंदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको भुमरीमा रुमल्लिँदै आएको छ।
कुनै पनि राष्ट्रले आफ्नो देशको आधिकारिक ओलम्पिक कमिटीमार्फत नै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडी सहभागी गराउनुपर्ने प्रावधान छ। नेपालमा भने निकै लामो समयदेखि दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा छन्।
एउटा ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएको छ भने अर्को ओलम्पिक कमिटी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को मान्यताबाट सुसज्जित छ। खेल संघहरूलाई मिलाएर अघि बढ्नुपर्ने नेतृत्वदायी खेल निकायहरू नै यसरी लामो समयदेखि आपसी विवादमा अल्झँदै आएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली खेलकुदमा पर्नु स्वाभाविक हो।
यसैगरी राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच आपसी समन्वयको अभाव र यी दुई खेल निकायका पदाधिकारीबीच जुँगाको लडाइँका कारण पनि वर्षौंदेखि नेपाली खेलकुद पीडित बन्दै आएको छ। यी दुई प्रमुख खेल निकायका पदाधिकारीबीचको सम्बन्ध सुमधुर नरहेका कारण पनि विभिन्न खेल संघका पदाधिकारीले आफ्नो स्वार्थ सिद्धि गर्ने अवसर पाउँदै आएका छन्। खेल संघहरू फुट्नु र जुट्नुमा पनि राखेप र एनओसीबीचको आपसी सम्बन्ध प्रमुख कारण बन्ने गरेको छ।
नेपाली खेलकुदभित्र विवाद हुनुमा राष्ट्रिय खेलकुद परिषद् पनि उत्तिकै जिम्मेवार देखिँदै आएको छ। एउटै प्रकृतिका दुईवटा खेल संघलाई आबद्धता नदिने नीति रहे पनि राखेप आफैंले बेलाबखत एउटै प्रकृतिका दुईवटा खेल संघलाई मान्यता दिँदै आएको छ, चाहे त्यो राजनीतिक दबाबका नाममा होस् वा राखेपकै पदाधिकारीहरूको निहित स्वार्थका कारण होस्।
राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएर आउने प्रत्येक सदस्यसचिवले खेल संघहरूको नियमन र शुद्धीकरणलाई आफ्नो पहिलो प्राथमिकतामा पारे पनि वर्तमान सदस्यसचिव केशवकुमार विष्टसम्म यसमा चुक्दै आएका छन्। यस अर्थमा साग र एसियाडजस्ता महत्वपूर्ण प्रतियोगितामा निराशाजनक नतिजा आउनुमा राखेप पनि उत्तिकै जिम्मेवार देखिन्छ।
यी त नेपाली खेलकुदमा विगतदेखि हुर्कंदै आएका विसंगतिका केही उदाहरण मात्र हुन्। नेपाली खेलकुदमा पदाधिकारीहरूको आपसी स्वार्थका कारण विवाद नदेखिएका निकै कममात्र खेल संघ छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार पार्ने र योग्य खेलाडी छनोट गर्ने जिम्मेवारी पाएका खेल संघका पदाधिकारीहरू नै यसरी आपसी स्वार्थको लडाइँमा व्यस्त भएपछि साग, एसियाड र ओलम्पिकजस्ता प्रतियोगितामा नेपाली खेलाडीले हासिल गर्ने नतिजा निराशाजनक हुनुलाई अस्वाभाविक मान्न सकिन्न।
समग्रमा भन्नुपर्दा नेपाली खेलकुद लामो समयदेखि खेल पदाधिकारीहरूको आपसी विवादकै कारण सबैभन्दा बढी प्रताडित हुँदै आएको छ। त्यसैले साग, एसियाड र ओलम्पिक जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीले पदक जितून् भन्ने चाहना राख्नुभन्दा पहिले खेल पदाधिकारीहरूले नै आपसी विवाद र मतभेद त्यागेर खेलकुदभित्र स्वास्थ्य वातावरण बनाउनुपर्ने हुन्छ। अन्यथा नेपाली खेलकुदले भविष्यमा पनि पटकपटक यस्तै नियति भोगिरहनुपर्ने निश्चित छ।