१८औं एसियाडको समापन आज
जकार्ता (इन्डोनेसिया) : चार सय ६५ वटा स्वर्ण पदकको टुंगो लगाउँदै १६ दिनसम्म चलेको एसियाली खेलकुद प्रतियोगिताको १८औं संस्करण आइतबार सकिँदै छ। मध्य जकार्तास्थित ७६ हजार दर्शक क्षमताको ऐतिहासिक गेलोरा बुङ कार्नो रंगशालामा एसियाडको भवय समापन समारोह हुने स्थानीय आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोहजस्तै समापन समारोहलाई पनि विश्वासिलो र उल्लासमय बनाउने तयारी भइरहेको आयोजकको दाबी छ। यद्यपि, आयोजक समितिले समापन समारोहको विस्तृत कार्यक्रम भने सार्वजनिक गरेको छैन।
भवय र मनमोहक हुने विश्वास गरिएको समापन समारोहमा अबको चार वर्षपछि आयोजना हुने एसियाली खेलकुदका लागि नयाँ आयोजकलाई एसियाडको झन्डा हस्तान्तरण गरिनेछ। १९औं एसियाली खेलकुद सन् २०२२ मा चीनको ह्याङ्झुमा आयोजना हुँदैछ।
समापन समारोहमा पनि खेलाडी, प्रशिक्षण, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीसँगै विभिन्न राष्ट्रका विशिष्ट पाहुनाहरूको समेत उपस्थिति रहने बताइएको छ। कार्यक्रममा सहभागी राष्ट्रका खेलाडीहरूले मार्च पास्ट् पनि गर्नेछन्।
१८औं एसियाडमा एसियाका ४५ राष्ट्रका ११ हजार पाँच सय खेलाडी सहभागी छन्। यसदेखि बाहेक पाँच हजारभन्दा बढी प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीको समेत प्रतियोगितामा सहभागिता छ। यद्यपि, समापन समारोहमा भने ठूलो संख्यामा खेलाडीको उपस्थिति रहनेछैन। आफ्नो खेल सकिएपछि धेरै खेलका खेलाडी, प्रशिक्षक र निर्णायकहरू स्वदेश फर्किसकेका छन्।
यसैगरी समापन समारोहमा स्थानीय कला र संस्कृति झल्काउने विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने बताइएको छ। आफ्नो राष्ट्रमा दोस्रोपटक आयोजना भएको एसियाली खेलकुदको समापन समारोहलाई भव्य बनाउन स्थानीय आयोजकले आतिसबाजीसँगै विभिन्न वैज्ञानिक प्रविधिको पनि प्रयोग गर्ने भएका छन्। यसअघि सन् १९६२ मा पनि यही रंगशालामा एसियाली खेलकुदको उद्घाटन र समापन समारोह आयोजना भएको थियो।
एसियाली खेलकुदको इतिहासमा पहिलोपटक एउटै राष्ट्रको दुई ठूला सहर जकार्ता र पालेम्बाङमा प्रतियोगिता आयोजना भएको हो। प्रतियोगिताको मुख्य उद्घाटन समारोह जकार्तामा गरिए पनि यहाँबाट करिब एक हजार चार सय किलोमिटर ढाटा रहेको अर्को खेलस्थल पालेम्बाङमा समेत छुट्टै कार्यक्रम आयोजना गरिएको थियो। तर, समापन समारोह भने जकार्तामा मात्र गरिने बताइएको छ।
यसैगरी समापन समारोहमा केही विशिष्ट अथितिहरूले आफ्नो मन्तव्य पनि राख्ने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन समारोहमा इन्डोनेसियाका ओलम्पियन खेलाडीहरूले बालेको ‘एसियाड ज्योति’ पनि समापन समारोहमा निभाइनेछ। यसरी १६ दिनसम्म चलेको १८औं एसियाडको समापन समारोह चार वर्षपछि चीनमा भेट्ने वाचा गर्दै समाप्त हुनेछ।
जारी एसियाडमा सहभागी चार सय ६५ मध्ये शनिबारसम्म चार सय ६४ वटा स्वर्ण पदकको टुंगो लागिसकेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार केवल एउटा स्वर्ण पदकको टुंगो लाग्नेछ। अन्तिम दिन ट्रायथलनको मिक्स स्पर्धा बाँकी छ। १८औं एसियाडमा एक सय ८७ जना खेलाडीलाई सहभागी गराएको नेपालले प्याराग्लाइडिङमा एउटा रजत पदक जितेको छ।