'साफ च्याम्पियनसिप' जिते खेलाडीलाई ५ लाख
काठमाडौं : साफ च्याम्पियनसिप फुटबलले १२औं संस्करण टेक्दा उपाधिविहीन बनेको नेपाली टोलीलाई यसपटक प्रतियोगिता अगाडि नै पुरस्कारको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार खेलाडीको बिदाइ गर्दै पुरस्कारको घोषणा गरेको हो । ‘साफ जित्नु हाम्रो लागि सपना हो ।
एन्फाको कोषमा पैसा नभए पनि उपाधि जितेमा हामी खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिनेछौं,’ बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने । नेपाली टोली आइतबार नै ढाका प्रस्थान गरेको छ । ढाकामा यही भदौ १९ देखि ३० गतेसम्म सञ्चालन हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले समूहको पहिलो खेल भदौ १९ गते पाकिस्तान, दोस्रो खेल भदौ २१ गते भुटान र अन्तिम खेल २३ गते बंगलादेशसँग खेल्नेछ । समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपमा नेपाल अहिलेसम्म सेमिफाइनलमाथि पुग्न सकेको छैन । बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली टोलीमा कप्तान विराज महर्जनसहित २० खेलाडी छन् ।