बसपार्कको जमिन अतिक्रमण : ४३ वर्षमा पनि बनेन पोखरा बसपार्क

बसपार्कको जमिन अतिक्रमण : ४३ वर्षमा पनि बनेन पोखरा बसपार्क

 पोखरा : पोखराको मुख्य बजार पृथ्वीचोकमा ४३ वर्षअघि बसपार्क निर्माण गर्न अधिग्रहण गरिएको जमिन अतिक्रमणको चपेटामा साँघुरिँदै गएको छ । आधुनिक बसपार्क बनाउने योजनाका साथ २०३२ सालमा सरकारले जमिन अधिग्रहण गरे पनि जमिन अतिक्रमणमा पर्दा बसपार्क बन्न नसकेको हो ।

सरकरले बसपार्कका लागि २ सय ५ रोपनी जमिन अधिग्रहण गरेको थियो । अधिग्रहण गरिएको मध्ये १९ रोपनी जमिन पृथ्वी राजमार्गमा परेर काटिएपछि १ सय ८६ रोपनी बाँकी रहेको थियो । अधिग्रहण गरी सकेको जमिन सट्टापट्टाको नाममा ०६० सालमा तत्कालीन नगर विकास समितिका पदाधिकारीले जग्गाधनीलाई बस पार्कको २० रोपनी ५ आना र होटल व्यवसायीलाई १६ रोपनी १४ आना गरी ३८ रोपनी जमिन दिएका थिए । सोही कारण बसपार्क बन्न नसकेको पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले बताए ।

पृथ्वी राजमार्गले काटेर बचेको १ सय ८६ रोपनी जमिनमा ०६४/६५ सालमा बस पार्क बनाउन योजना तयार गरी निर्माण प्रक्रिया अघि बढाउँदै गर्दा भूमाफियाले आफूलाई पदबाटै हटाएको पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष लामिछानेले सुनाए । त्यसबेला ५ सय सवारीसाधन अट्ने, टर्मिनल भवन, आधुनिक शौचालय, सभाहल, प्राथामिक उपचार केन्द्र, हरियाली पार्कसहितको १० करोडको लागत स्टिमेट गरी बस पार्क बनाउने प्रक्रिया अघि बढाइएको लामिछानेले सुनाए । तर बसपार्क बनाउने र प्लटिङ गरी जमिन बिक्री माफियाबीचको द्वन्द्वका कारण बस पार्क नबनेको उनले बताए ।

अहिले पृथ्वीचोकको १ सय ४८ रोपनी १२ आना बसपार्कको जमिन पोखरा उपत्यका नगर विकास समितिको नाममा दर्ता छ । बाँकी जमिन पनि अतिक्रमणकै चपेटामा परेको छ । विकास निर्माणका विषयमा एक भएर अघि बढ्ने भन्दा पनि भोटको राजनीतिमा रमाउने राजनीतिक पार्टीको अभ्यासले बसपार्क अलपत्र परेको पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले बताए । उनले भने, ‘भोटको राजनीति चलिरहेसम्म बसपार्क बन्न सक्दैन ।’ पोखरा बसपार्कका जमिनमा हाल करिब ५ सय सुकुमबासीले टहरा बनाएर बसेका नगरविकास समितिको आँकडा छ ।

वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गरेर बसपार्क बनाउन सकिने भए पनि राजनीतिक दल उदासीन रहेको उनले सुनाए । समितिलाई अधिकारविहीन बनाउँदा सबै राजनीतिक पार्टीबीच सहमति बनाएर बसपार्क बनाउनेलगायत काम गर्न नसकेको उनले ठम्याइ छ । नियमित गर्ने काम पनि खोसेर महानगरपालिकाले उपत्यका नगर विकास समितिलाई नाम मात्रको कार्यालय बनाएको उनले आरोप लगाए ।

अतिक्रमणमा परेको बसपार्कको जमिनको छिट्टै छानबिन गरिने महानगरका मेयर मानबहादुर जिसीले बताए । छानबिनपछि बसपार्कलाई सिटी बसपार्कको रूपमा विकास गरिने उनले जानकारी दिए । लेखनाथको लामेआहालमा प्रदेशस्तरको बसपार्क बनाउन प्रस्ताव गरिएको र अन्य दुई ठाउँमा पनि त्यस्तै बसपार्कका लागि जमिन हेरिएको मेयर जिसीले बताए । छुट्टै पर्यटन बसपार्क पनि बनाउने महानगरको योजना रहेको उनले सुनाए ।

पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीमा पाँच हजार पाँच सय २६ वटा सार्वजनिक सवारीसाधन रुट इजाजत लिएर चल्दै आएका छन् । यसैगरी ५ हजार ठूला तथा मिनी बसले वटा रुट इजाजत लिएर दैनिक कुनै न कुनै समय पोखरा हुँदै गुड्छन् । यति धेरै सवारीसाधन पोखरामा कुनै न कुनै माध्यमबाट गुड्ने गरे पनि गण्डकी प्रदेशको राजधानी पोखरामा अहिलेसम्म एउटा पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन । जसका कारण सवारीसाधन सडकमै पार्किङ हुँदै आएका छन् । गण्डकीमा ४६ हजार २ सय ३८ कार, बस, ट्र्याक्टर, ट्रक, जिप, भ्यानलगायत चारपांग्रे सवारी दर्ता रहेको यातायात व्यवास्था कार्यालय गण्डकीका सूचना अधिकारी डम्बरबहादुर चन्दले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.