साफ च्याम्पियनसिपमा आज नेपाल पाकिस्तानसँग खेल्दै
काठमाडौं : सन् १९९३ मा सार्क गोल्ड कपको नाममा सुरु भएको साफ च्याम्पियनसिप फुटबलले १२औं संस्करण मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेल मंगलबार नै पाकिस्तानसँग खेल्नेछ।
च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित आइतबार ढाका गएको नेपालले सोमबार हल्का अभ्यास गरेको थियो। नेपाली टोलीले पाकिस्तानलाई हराउँदै सुखद सुरुआतको लक्ष्य राखेको छ।
फिफा वरीयतामा पाकिस्तान नेपालभन्दा तल छ। तर, हालै इन्डोनेसियामा खेलिएको एसियाली खेलकुद (एसियाड) अन्तर्गत यू–२३ समूहको फुटबलमा नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले विपक्षीलाई कमजोर नठानी नेपालले आफ्नो लयलाई निरन्तरता दिने बताए। फिफा वरीयतामा नेपाल एक सय ६१औं स्थानमा छ भने पाकिस्तान दुई सय एक स्थानमा छ।
साफ फुटबलले करिब तीन दशक लामो यात्रा तय गर्दा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपाल च्याम्पियनसिपमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन। च्याम्पियनसिपमा अहिलेसम्म पाकिस्तान र भुटानमात्र उपाधिविहीन छन् । यसपटक नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा उपाधिविहीन तीन टोली र आयोजक बंगालदेश रहेका छन्। समूह ‘बी’ मा साबिक विजेता भारत, माल्दिभ्स र श्रीलंका छन्। भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो। उसले सात पटक उपाधि उचालेको छ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ २१ गते भुटान र अन्तिम खेल २३ गते बंगलादेशसँग खेल्नेछ। पछिल्लो समय नेपाली घरेलु फुटबलको संरचना कमजोर रहेको छ। चार वर्षदेखि लिग फुटबल सञ्चालन नहुँदा खेलाडीको प्रदर्शन निखारिन पाएको छैन। यस्तो अवस्थामा दुई साताअघि मात्र टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन्। बालगोपाल बंगलादेश आफ्ना लागि निकै फाप्ने भएकोले यसपटक नेपाललाई उपाधिको होडमा पु¥याउने दाबी गरेका छन्।
पुराना र युवा खेलाडीको समि श्रण रहेको २० सदस्यीय नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन्। रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल छन्। मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनील बल, सुजल श्रेष्ठ र नीराजन खड्का छन्। स्ट्राइकरमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।