कोस्टा बिनाको स्पेनी टोली
म्याड्रिड : स्पेन फुटबल महासंघले टोलीका भरपर्दा स्ट्राइकर डिएगो कोस्टाबिना यूईएफए नेसन्स लिग गेम्सका लागि टोलीको घोषणा गरेको छ । स्पेनले इङ्ल्यान्ड र क्रोएसियासँग खेल्ने लिग यूईएफए लिग गेम्सका लागि २९ वर्षीय कोस्टाको स्थानमा लागो आसपासलाई मौका दिएको छ । कोस्टा टोलीका भरपर्दा खेलाडी भए पनि उनकै व्यक्तिगत कारणले उनी टोलीमा नरहेको महासंघले उल्लेख गरेको छ । स्पेनले शनिबार विम्लीमा इङ्ल्यान्डसँग खेल्नेछ ।
प्रशिक्षक लुइस इनरिक्युले टोलीका प्रभावशाली अन्य खेलाडीहरू आन्द्रे इनियस्टा, डेभिड सिल्भा र जेराड पिकेसमेत टोलीमा नरहेकाले तिनको स्थान जोर्डी आल्बा र कोकेले लिने विश्वास गरेका छन् । स्पेनिस टोलीमा अहिले चारजना चेल्सीबाट खेलिरहेका खेलाडीलाई मौका दिइएको छ ।
लुइसले स्पेनिस नयाँ टोलीको गोलरक्षकमा म्यानचेस्टर युनाइटेडका डेभिड डे गेअ, चेल्सीका केपा अरिजाबालागा र बेटिसका पाउ लोपेजलाई मौका दिएका छन् । रक्षकमा रियल म्याड्रिडका डानी कार्भाजाल, नाचो, सर्जियो रामोस, सोसिएडाडका डिएगो लोरेन्टे, एट्लेटिको बिलबाओका इनिगो मार्टिनेज, भ्यालेन्सियाका जोस गाया, चेल्सीका सेसर अज्पिलिक्युटा, मार्कोस अलोन्सो र नापोलीका राउल अल्बिओल छन् । मिडफिल्डरमा बार्सिलोनाका सर्जियो बस्क्वेट्स, सर्जियो रोबर्टो, एट्लेटिकोका रोड्री, सउल निग्वेज, रियलका डानी सेबलोस र बायर्न म्युनिखका थियगो अल्कान्टरा छन् ।
स्ट्राइकरमा रियलका इस्को, मार्को असेन्सो, सेल्टा भिगोका लागो आसपास, भ्यालेन्सियाका रोड्रिगो मोरेनो, चेल्सीका अल्भारो मोराटा र एसी मिलानका सुसो टोलीमा समावेश छन् ।