साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको पहिलो गोल
काठमाडौं : साफ च्याम्पियनसिप फुटबलको जारी दोस्रो खेलमा भुटानविरुद्ध नेपालले गोल गरेको छ ।
पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएको हो । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरेका हुन्। तुलनात्मक रूपमा भुटान नेपालका लागि कमजोर प्रतिद्वन्द्वी मानिन्छ। यद्यपी भुटानले पछिल्लो समय फुटबलका राम्रो गरिरहेको छ।
रुस विश्वकपको प्रारम्भिक छनोट खेलमै भुटान नेपालभन्दा निकै अब्बल ठहरिएको थियो। यद्यपि नेपाल र भुटानबीचको अघिल्ला भिडन्तमा नेपालले सफलता हात पार्दै आएको छ।
सन् १९८४ मा भएको सार्कस्तरीय फुटबल प्रतियोगितादेखि भुटानसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म भुटानलाई हराइरहेको छ। नेपाल र भुटानबीच हालसम्म भएका १२ वटा भिडन्तमा नेपालले सबैमा सफलता हात पारेको छ।
नेपालले पछिल्लो पटक सन् २०११ मा भुटानसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेलेको थियो। जसमा नेपालले पहिलो खेल १–० र दोस्रो खेल २–१ ले जितेको थियो। तर यसबीचमा भुटानको फुटबल स्तर धेरै माथि गएको छ।
जारी च्याम्पियनसिपको पहिलो खेलमै अन्तिम ३० सेकेन्डमा गोल खाएर हारमा चित्त बुझाएको नेपाललाई अघिल्लो चरणमा पुग्न बाँकी खेलमा सफलता हात पार्नु पर्ने चुनौती छ।
फिफा वरीयतामा पनि नेपाल भुटानभन्दा बलियो छ। वरीयतामा नेपाल एक सय ६१औं स्थानमा छ। भुटान एक सय ८३औं स्थानमा छ। समूहको पहिलो खेलमा भुटान आयोजक बंगलादेशसँग २–० गोलले पराजित भएको थियो।
सन् १९९३ मा सार्क गोल्ड कपको नाममा सुरु भएको साफ च्याम्पियनसिप फुटबलले १२औं संस्करण पार गर्दा उपाधिविहीन छ।
हरेक संस्करणमा जित्ने दाबी गरेको नेपाल सेमिफाइनलभन्दा माथि जान सकेको छैन। त्यसैले पनि नेपाललाई यसपटक अगाडि बढ्न भुटानसँगको खेल निकै महत्वपूर्ण मानिएको छ।
च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल २३ गते आयोजक बंगलादेशसँग खेल्नेछ। समूह ‘बी’ मा साबिक विजेता भारत, माल्दिभ्स र श्रीलंका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो। उसले सात पटक उपाधि उचालेको छ। यसपटक भारतले यू–२३ टोली च्याम्पियनसिपमा पठाएकाले समूह चरण पार गर्न मात्र सके नेपाल उपाधि होडमा पुग्न पनि सक्नेछ।