नगरपालिका क्षेत्रभित्रै अन्धकार

नगरपालिका क्षेत्रभित्रै अन्धकार

ओखलढुंगा  : ओखलढुंगाको सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाका ग्रामीण भूभाग अझै विद्युतविहीन छन्। नगरक्षेत्रका १२ वडामध्ये अधिकांश वडामा विद्युत् विस्तार हुन सकेको छैन। ग्रामीण विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन्।

नगरपालिकाको केन्द्र सदरमुकाममा पर्छ। सदरमुकाममा वडा नं. ११ र १२ पर्छन्। तिनै वडासँग जोडिएका अन्य वडामासमेत विद्युत् विस्तार भएको छैन। साविकको ज्यामिरे गाविस अहिलेको वडा नं. ९, वडा नं. १० र ८ मा विद्युत् सेवा छैन।

वडा नं. १, २ र ३ का केही घरधुरीमा विद्युत् विस्तार भए पनि अन्य क्षेत्रमा लैजाने काम अलपत्र छ। वडा नं. ६ र ७ मा पनि विद्युत् विस्तार हुन नसकेको स्थानीयले बताए। अहिले वडा नं. ४ र ५ तथा सदरमुकाम रहेका वडा नं. ११ र १२ मात्रै विद्युत् सेवा पुगेको छ। नगरपालिकाका ८ वटा वडा अझै अन्धकारमा छन्।

यहाँका स्थानीयको वर्षौंदेखिको बिजुली बाल्ने सपना अधुरै छ। साविकका गाविस नगरपालिकामा गाभिए पनि ग्रामीण विद्युत्ीकरणको काम अलपत्र रहँदा नागरिकमा असन्तुष्टि चुलिँदै गएको हो। जनप्रतिनिधि भने विद्युत् विस्तार निरन्तर हुने बताउँछन्।

वडा नं. १ तलुवाका ५० घरधुरीमा विद्युत् जडान गरिएको छ। बजेट कम हुँदा समस्या भएको वडाध्यक्ष केदारबाबु बस्नेतले बताए। उनले भने, ‘वडाको दुई लाख बजेट छ, बजेट कम हुँदा विद्युत् विस्तार हुन सकेन।’

वडा नं. ९ ज्यामिरेमा विद्युतीकरणको काम अलपत्र छ। विद्युत् प्राधिकरणले तीन वर्षपहिले १८ लाख बजेट विनियोजन गरे पनि प्राधिकरणले आफूखुसी काम गरेका कारण विद्युत् विस्तार अलपत्र परेको वडाध्यक्ष दानबहादुर बानियाँले बताए। उनले आफ्नो वडा सदरमुकामसँग जोडिए पनि ५ सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको बताए।

वडा कार्यालयले बजेट विनियोज गरे पनि विद्युत् प्राधिकरणले समन्वय नगर्दा काम गर्न नसकेको वडाध्यक्षको आरोप छ। नगर क्षेत्रमा विद्युत् विस्तारको काम अलपत्र रहेको विषयमा नेपाल विद्युत् प्राधिकरण रुम्जाटार वितरण केन्द्रका प्रमुख सञ्जीव शाहले बताए। उनले विगतमा प्राधिकरण र वडाले के–कति बजेट विनियोजन गरेर कसरी काम गरे भन्ने थाहा नभएको र अब त्यस्तो नहुने बताए।

सिद्धिचरण नगरपालिकाले भने नगर क्षेत्रमा पाँच वर्षभित्र सबै घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्य लिएको छ। नगरक्षेत्रमा विद्युतीकरण प्राथमिकतामा रहेको सिद्धिचरणका मेयर मोहन श्रेष्ठले बताए। कामले चालु आर्थिक वर्षबाट गति लिने उनको भनाइ छ। स्थानीय भने नगरपालिकाको सुस्तताका कारण ग्रामीण विद्युतीकरणको काम ढिला भएको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.