स्पेनसँग क्रोएसिया ६-० गोलले पराजित, लुका मोड्रिच निरिह
काठमाडौँः रसिया विश्वकपमा शानदार प्रदर्शन गर्दै उपविजेता भएको क्रोएसियाले इतिहासमै नमिठो हार भोगेको छ । युइएफए नेशन्स लिग अन्तरगत मंगलबार मध्यराति भएको स्पेनले क्रोएसियालाई इतिहासकै सबैभन्दा नमिठो हार चखाएको हो ।
क्रोएसियका इभान राकिटिकका लागि आफ्नो सयौँ क्याप सबैभन्दा पीडादायी भयो । खेल सुरु हुनुअघि स्पेन र क्रोएसियाको १०० नम्बर लेखिएको जर्सी प्रदान गरिएका उनले पनि विश्वकपको जस्तै जादु चलाउन नसक्दा स्तब्ध हुनुपर्यो ।
विश्वकपका स्टारहरु लुका मोड्रिच र इभान राकिटिकसहित मैदानमा उत्रिएको क्रोएसियालाई लज्जास्पद हार चखाउने क्रममा स्पेनले फरक फरक खेलाडीले ५ गोल गरे भने एक गोल आत्मघाती भयो ।
रसिया विश्वकपमा पेनाल्टी सुटआउटमा रसियासँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको स्पेनको कमान बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकले सम्हालेपछि लयमा फर्किएको सन्देश दिएको हो ।
स्पनेको जितका लागि खेलको २४ औँ मिनेटमा साउल निग्युजले खाता खोले । त्यसपछि ३३ औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै अग्रता २–० मा पुर्याए । स्पेनले दुई गोलको अग्रता लिएको दुई मिनेटमै क्रोएसियाका लोभ्रे कालिनिकले आत्मघाती गोल उपहार दिँदै अग्रता ३–० मा पुर्याइदिए ।
पहिलो हाफमै रबाफ जमाइसकेको स्पेनले दोस्रो हाफमा पनि क्रोएसियालाई छिन्नभिन्न बनाइदियो । दोस्रो हाफ सुरु भएको ४ मिनेटमै रोड्रिगो मोरेनोले गोल गरेपछि स्पेनको अग्रता ४–० मा पुग्यो ।
त्यसपछि गोल गर्ने पालो थियो डिफेन्डर सर्जियो रामोसको । उनले खेलको ५७ औँ मिनेट मार्को एसेन्सियोको पासमा हेडबाट गोल गरे ।
स्पेन अझै रोकिएन, उसका लागि खेलको ७० औँ मिनेटमा रियल मड्रिडका मिडफिल्डर इस्कोले एसेन्सियोकै पासमा गोल गरेपछि ६–० को अग्रता लियो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि क्रोएसियाले लज्जास्पद हार भोग्न बाध्य भयो ।