माल्दिभ्ससँग नेपाल ३–० ले पछाडि
काठमाडौं : साफ च्याम्पियनसिप फुटबल सेमिफाइनलको पहिलो हाफमा नेपाल माल्दिभ्ससँग १–० ले पछाडि परेको नेपालले खेलको ८३ औं र ८५ औं मिनेटमा लगातार दुई गोल खाएको छ।
खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले पहिलो गोलमा परिणत गरेको थियो।
हरेक संस्करणमा उपाधि दाबेदार रूपमा आफूलाई प्रस्तुत गर्दै आएको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन।
सन् १९९३ मा सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसिपले १२औं संस्करण पार गर्दा नेपाल सेमिफाइनलमाथि जान सकेको छैन।
बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल यस पटक फेरि सेमिफाइनलमा पुगेको छ। च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरेको हो।
कठिन मानिएको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणमा आफूलाई अब्बल सावित गरिसकेको छ। नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलको हार खेपेको थियो।
नेपाल दोस्रो खेलमा भुटानलाई ४–० गोलले हराएर खेलमा फर्किएको थियो। समूहको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २–० गोलले हराएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
यसैगरी माल्दिभ्स समूह ‘बी’ को उपविजेतको रूपमा सेमिफाइनलमा पुगेको हो। तीन टोली सम्मिलित समूहमा माल्दिभ्सले श्रीलंकालाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो खेलमा माल्दिभ्स भारतसँग २–० गोलले पराजित भएको थियो।
माल्दिभ्स श्रीलंकाको समान एकएक भएपछि माल्दिभ्सले ‘लक्की ड्र’ मा श्रीलंकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो। बुधबार नै हुने अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्नेछन्।
सेमिफाइनलमा माल्दिभ्सलाई हराउन सके नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ। नेपालका लागि फाइनलमा पुग्नु नै उपलब्धि त छँदैछ। यस पटक भारतले यू–२३ टोलीलाई साफ खेलाएकोले फाइनलमा नेपालको पल्ला भारी हुने छनकसमेत देखिएको छ।
साफ च्याम्पियनसिपको सफल टोली भारत अहिले एसिया कप खेल्ने तयारीमा रहेकोले साफमा युवा खेलाडी पठाएको छ। त्यसैले पनि नेपाली फुटबल टोलीका लागि अहिले ऐतिहासिक उपलब्धि हात पार्ने अवसर छ।
नेपालका लागि माल्दिभ्ससँगको खेल धेरै महत्वपूर्ण छ। फिफा वरीयता र यसअघिको तथ्यांकमा माल्दिभ्स नेपालभन्दा बलियो छ।
वरीयतामा माल्दिभ्स एक सय ५०औं स्थानमा छ भने, नेपाल एक सय ६१औं स्थानमा छ। नेपालले माल्दिभ्ससँग सन् १९९९ को साफ च्याम्पियनसिपदेखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको थियो। हालसम्म दुई टोलीबीच ६ पटक भिडन्त भएको छ।
जसमा माल्दिभ्सले चार जित हात पारेको छ। दुई खेल बराबरीमा सकिएको छ। नेपालले पछिल्लो पटक भारतमा सम्पन्न २०११ को साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा दुवै टोली १(१ गोलको बराबरीमा रोकिएका थिए।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले आफुले प्रतिद्वन्द्वीलाई कमजोर नअगाँलेको बताएमा छन्। ‘माल्दिभ्स राम्रो टोली हो। समूह चरणमा पाएको सफलताले हामी उत्साहित बनेका छौं। ‘यसपटक हामीलाई अवसर राम्रो आएको छ। यसलाई गुम्न नदिन सबै खेलाडीले थप मेहनत गर्न आवश्यक छ,’ महर्जनले भने। टोलीका कप्तान विराज महर्जनले पनि आफ्नो कप्तानीमा नेपाललाई साफ जिताउन पाएमा त्योभन्दा ठूलो खुसी अरू नहुने बताए। उनले माल्दिभ्ससँग सबै खेलाडीले शतप्रतिशत मेहनत गरेर खेल्ने पनि बताए।
माल्दिभ्सका प्रशिक्षक पिटरले नेपाल सबैभन्दा बलियो टोली रहेको भन्दै नेपालविरुद्ध सचेत भएर खेल्ने बताए। ‘नेपाल बलियो प्रतिद्वन्द्वी हो। उसले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ। तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्ने योजनामा हुनेछौं,’ पिटरले भने। नेपाल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको (सार्क गोल्डकप सहित) यो पाँचौं पटक हो। यसअघि नेपाल सन् १९९३, १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको थियो। सन् १९९३ मा नेपाल तेस्रो भएको थियो।