ऋषिपञ्चमी बहिष्कार किन नगर्ने ?

ऋषिपञ्चमी बहिष्कार किन नगर्ने ?

मासिक श्रावका क्रममा नेपालका अधिकांश महिलाले हरेक महिना चारदेखि सात दिनसम्म शारीरिक र मानसिक पीडा भोग्ने गरेका छन्। प्राकृतिक प्रक्रियामाथि नानाथरीका नियम बनाएर लादिएको छ। हिन्दु धर्मले गाँजेको समाजमा देवताको नाममा महिनावारीको समयमा अनेकथरी बन्देज लगाइएको छ। 

विज्ञान र प्रविधिको विकास भइसकेको आजको समयमा पनि किन हाम्रो समाजले महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रूपमा लिन सकिरहेको छैन ? सबैलाई थाहा छ- मासिक स्राव कुनै अनौठो प्रक्रिया होइन। विडम्बना, महिनावारीलाई यति ठूलो विषय बनाइएको छ मानौं पहाड फुटेर ज्वालामुखी बनेको हो। महिनावारीकै निहुँमा महिलालाई चुलो छुन नदिनेदेखि छाउघरमा गएर बस्नुपर्ने बाध्यतामा पारिएको छ।

केही समयअघि मात्र सुदूरपश्चिमको अछाममा दुई हप्ताजति बसें। त्यहाँको जीवनशैलीमा महिनावारीले पारेको प्रभाव वर्णन पनि गर्न नसकिने गरी गाह्रो छ। मानिसको नितान्त निजी विषयलाई सार्वजनिक चर्चाको विषय बनाइएको छ। छाउपडी प्रथा कमाइ खाने विषय बनेको छ। छाउपडीविरुद्ध राज्यले प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन। गैरसरकारी संस्थाहरूका कार्यक्षेत्र नै त्यहीं बनेको छ। अछाममा भर्खरै बोल्न सिकेका बच्चाले पनि नयाँ मान्छे देख्नासाथ सोध्छन्, ‘तपाईं छाउपडीको विषयमा काम गर्न आएको हो ? ’

अछामकी सुजाता लामा सुनाउँदै थिइन्, पहिलोपटक महिनावारी भएपछि धेरै दिनसम्म उनी कसैसँग बोलिनन्। विद्यालय पनि गइनन्। कारण एउटै थियो, साथीदेखि आमा-काकीसम्म सोध्थे, छोरा भयो कि छोरी ?

छाउपडी भने अछाममा मात्र होइन, काठमाडौंमै पनि जीवित छ। रूप फरक होला प्रवृत्ति र संस्कार त उही हो। अछामबाट फर्किएको दिन छिमेकीको छोरीलाई पहिलोपटक महिनावारी भएकाले लुकाएर राखिएको रहेछ। उनलाई विद्यालय जान त परै जाओस्, एउटा कोठाबाट पनि निस्कन निषेध गरिएको रहेछ। सुन्दा पनि शरीरका रौं ठाडा भए। हो, हिजो समाजको चेतनास्तर नै कमजोर थियो, त्यसैले पहिलो महिलाले त्यो कुसंस्कार चुपचाप भोग्न बाध्य भए।

ऋषिपञ्चमीको पूजा आफैंमा महिलामाथिको विभेदको वैधानिकता हो, रजस्वलाका नाममा हुने राजनीतिको प्रतीक हो। महिलाले मुक्ति खोज्ने हो भने ऋषिपञ्चमी बहिष्कारबाटै सुरु गर्नुपर्छ।

अहिले त महिलाले पनि पढ्न पाएका छन्। तर शिक्षित आमाहरूले पनि धर्म-संस्कृतिका नाममा छोरीलाई अन्धकारमा थुनिरहेछन्। कलिलै उमेरमा अन्धकारमा थुनिनुपर्दाको पीडाले मानसिक असर कस्तो पार्छ भनेर आमाहरूले कहिल्यै पनि सोचेनन्। उनीहरूलाई त केवल त्यो पनि त्यो कलिलो उमेरमा। मानसिक असर कति पर्छ भनेर आमाहरूले कहिल्यै सोचेनन् या सोच्न चाहेनन्। उनीहरूलाई संस्कृति बचाउनु छ। परम्परा जोगाइरहनुपर्नेछ।

परम्परा जोगाउने उत्कण्ठा यति धेरै छ, मानिसको आत्मसम्मानको कुनै ख्याल नै हुँदैन। एकपटक यात्रामा सास्ती नै भोग्नुप¥यो। राजमार्गमा पहिरो गएपछि दुईतीन घन्टा हिँडेर बासका लागि अलिअलि चिनजान भएको घरमा बस्यौं। सँगै हिँडेकी साथीलाई महिनावारी भएको थियो। उनले प्याड फेर्न जाँदा घरबेटी आन्टीले देखिछन्। मध्यरातमा कराउन थालिन्, ‘महिनावारी हुँदा हामी त यहाँ सुत्दैनौं। देवता मान्ने गरेका छौं।’ उनका देवता जोगाइदिन भए पनि मध्यरातमा नयाँ वास नखोजी सुखै पाइएन। केही समयअघि मकवानपुरको एक गाउँमा पुगेकी थिएँ केही दिनका लागि। त्यतिबेला सोधिन्थ्यो, ‘महिनावारी त भएकी छैनौ ? ’

प्राकृतिक प्रक्रियाको नामै दिइएको छ ‘पर सर्ने भएको’, ‘नछुने भएको’। यस्ता संज्ञाले महिलालाई हीनताबोध गर्न झनै बाध्य बनाएको छ। महिलाको स्वास्थ्य र अस्मिताप्रतिको सबैभन्दा ठूलो उपहास हो यो। महिनावारी त प्रजनन प्रणलीको नियमितता हो। तर सृष्टि सञ्चालनसँग जोडिएको प्रक्रियालाई पनि धर्म र पापसँग जोडिएको छ। त्यसैले महिनावारी हुँदा जानीनजानी छोएको पापबाट मुक्त हुन ऋषिपञ्चमीको व्यवस्था गरिएको छ। ३६५ वटा दतिवन टोकेर र गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्ने हाम्रो संस्कार नै आफैंमा गलत छ। यस्तो संस्कार खारेज गर्नुको विकल्प छैन।

बुझ्न जरुरी छ, यदि रजस्वलालाई पाप भनिन्छ भने सम्पूर्ण मानव सभ्यता पापीहरूको सभ्यता हो। रजस्वलाबिना सृष्टि नै सुरु हुँदैन भने त्यो प्राकृतिक प्रत्रियालाई किन निषेध गरिन्छ ? अब नेपाली महिलाले बुझ्न जरुरी छ- ऋषिपञ्चमीको पूजा आपैmंमा महिलामाथिको विभेदको वैधानिकता हो, रजस्वलाको नाममा हुने राजनीतिको प्रतीक हो। महिलाले मुक्ति खोज्ने हो भने ऋषिपञ्चमी बहिष्कारबाटै सुरु गर्नुपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.