नेपाली यू–१९ टोलीले इन्डिया ‘ए’लाई दियो १५७ रनको लक्ष्य
काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा एकिदवसीय क्रिकेट खेल्न भारत गएको नेपालको यू–१९ टोलीले दोस्रो खेलमा पनि खराब ब्याटिङ गरको छ । भारतको टोली इन्डिया यू–१९ ‘ए ’सँग प्रतिस्पर्धा गरेको नेपाली यूवा टोलीले इन्डिया यू–१९ ‘ए‘ लाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।
एकाना अन्तराष्ट्रिय क्रिकेट मैदान लखनउमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाई १५६ रन मात्रै बनाउन सक्यो । २३ रन बनाउँदा ३ विकेट गुमाएको नेपालका लागि तृतराज दास र सन्दीप जोराले सम्मालिएर ब्याटिङ गरेका थिए ।
दास र जोराले चौथो विकेटका लाथि ६९ रनको साझेदारी गरे । २८.१ ओभरमा दास आउट भएपछि आएका भीम सार्कीले पनि राम्रो ब्याटिङ गर्दा नेपालले राम्रो स्कोर बनाउने सम्भावना देखिएको थियो । ४०.१ ओभरमा ६६ रन बनाएर खेलिरहेका सन्दीप जोरा आउट भएपछि नेपालको लगातार विकट गुम्यो । नेपालका लागि जोरापछि तृतराज दासले ४६ रन र भीम सार्कीले २८ रनको योगदान गरे । अन्यले ५ रनभन्दा माथिको योगदान गर्न सकेनन्।
इन्डिया यू–१९ ‘ए‘ का लागि अजय देव र मङ्वानीले नेपालको ४–४ विकेट लिए ।
बुधबार भएको पहिलो खेलमा भारतको राष्ट्रिय एकेडेमी टोली ‘इन्डिया यू–१९ बीसँग प्रतिस्पर्धा गरेको नेपालको यू–१९ टोली ४० रनले पराजित भएको थियो ।