‘ग्रासरुट फुटबल’ प्रशिक्षण सुरु
भक्तपुर : सानैदेखि फुटबलप्रति आकर्षण बढाई खेलाडीसम्म बनाउने उद्देश्यले भक्तपुरमा शनिबारदेखि ग्रासरुट फुटबल महोत्सव सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यक्रमअनुसार भक्तपुर जिल्ला फुटबल संघले उक्त महोत्सव सुरु गरेको हो । भक्तपुरसँगै एन्फाले ४५ जिल्लाका संघलाई शनिबारदेखि नै ग्रासरुट फुटबल महोत्सव सुरु गर्न निर्देशन दिएको छ ।
भक्तपुरको माहेश्वरी खेलमैदानमा भएको महोत्सवमा भक्तपुरका ३० विद्यालयका आठदेखि १३ वर्षका तीन सयभन्दा बढी विद्यार्थी सहभागी भएको जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूले जानकारी दिए । ‘फुटबलको आधारभूत प्राविधिक र अप्राविधिक ज्ञान दिएर फुटबलप्रति बालबालिकालाई आकर्षित गर्ने महोत्सवको उद्देश्य हो’, उनले भने, ‘उक्त ज्ञान पाएका बालबालिकालाई निरन्तर प्रशिक्षण र प्रतियोगिताको व्यवस्था महोत्सवअन्तर्गत हुन्छ ।’
६ महिनासम्म सञ्चालन हुने उक्त महोत्सव जिल्लाका चारवटै नगरपालिकामा आयोजना गरिने उनले बताए । यसका लागि संघले चारजना फुटबल प्रशिक्षकलाई जिम्मेवारी तोकेको छ । संघले इन्द्रभक्त पञ्च, धनेश्वर प्रजापति, रघुनाथ प्रजापति र बालगोपाल साहुखललाई आआफ्नो नगर क्षेत्रमा ग्रासरुट फुटबल महोत्सव गर्ने जिम्मेवारी तोकेको संघका महासचिव तीर्थराज राजचलले जानकारी दिए ।
शनिबार एक कार्यक्रमबीच महोत्सव उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा फुटबल विकासका लागि खेलमैदानको समस्या रहेको बताए । उनले माहेश्वरी खेल मैदानको सुधार गर्न भक्तपुर नपा लागिपरेको जानकारी दिए ।
भक्तपुरको ऐतिहासिक टुँडिखेल नेपाली सेनाले कब्जा गरेकाले पनि फुटबल गतिविधि र प्रतियोगिता प्रभावित भएको उनको भनाइ थियो । एन्फाका प्रतिनिधि सञ्जीव मि श्रले सानैदेखि फुटबलका खेलाडी पहिचान गर्न देशका ४५ जिल्लामा ग्रासरुट फुटबल महोत्सव आयोजना गरिएको जानकारी दिए ।
फुटबलमा नेपालको सम्भावना धेरै भए पनि उत्कृष्ट खेलाडी कममात्रै उत्पादन भइरहेको उनको भनाइ थियो । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष सुजखूले एन्फाको वर्तमान नयाँ नेतृत्वले फुटबलको विकास नचाहेको आरोप लगाए । एन्फाका केही पदाधिकारीले जिल्ला संघलाई बेवास्ता गरेर जिल्ला संघलाई नै चुनौती दिएर हैसियत नभएका क्लबलाई ग्रासरुट फुटबल महोत्सव गराइएको उनको भनाइ थियो ।
भक्तपुरमै तीन ठाउँमा ग्रासरुट महोत्सव
भक्तपुरमा शनिबार नै तीन ठाउँमा ग्रासरुट फुटबल महोत्सव भएको छ । एन्फाको ग्रासरुट फुटबलको संयोजक भक्तपुरकै उपेन्द्रमान सिंह रहेका छन् । नेपाली फुटबलमा पूर्वराष्ट्रिय कप्तान सिंह हाल एन्फाको उपाध्यक्ष हुन् । एन्फाले प्रत्येक जिल्ला संघमार्फत ४५ जिल्लामा ग्रासरुट फुटबल आयोजना गर्ने निर्णय गरेको थियो । तर, भक्तपुरमा जिल्ला फुटबल संघ आफैंले महोत्सव आयोजना गर्दागर्दै अन्य दुई ठाउँमा एकै दिन अर्को ग्रासरुट फुटबल महोत्सव गराइएको छ । ग्रासरुट फुटबल संयोजक सिंहसँग भक्तपुर जिल्ला फुटबल संघसँग पहिलेदेखि मतभेद रहँदै आएको थियो । एन्फाको गएको महाधिवेशनमा उक्त मतभेद झन् सतहमा आएको थियो । त्यही कारण भक्तपुर जिल्ला फुटबल संघलाई चुनौती दिएर ग्रासरुट फुटबलका संयोजक एवं एन्फा उपाध्यक्ष सिंहले भक्तपुरमा थप दुई ग्रासरुट फुटबल आयोजना गराएको आरोप लगाइएको छ ।
‘जिल्ला संघले ग्रासरुट फुटबलको जिम्मेवारी लिँदालिँदै अन्य दुई ठाउँमा किन अर्को ग्रासरुट फुटबल गराइयो ? ’, भक्तपुर जिल्ला संघका अध्यक्ष सुजखूले भने, ‘फुटबलको विकास नै गर्ने हो भने एकै दिन एकै समय एउटै नगरपालिकामा एउटै संस्थाको फरकफरक दुई ठाउँमा किन कार्यक्रम गराइयो ।’ शनिबार जिल्ला फुटबल संघले भक्तपुर नगरको माहेश्वरी खेल मैदानमा ग्रासरुट फुटबल महोत्सव आयोजना गरेको छ भने भक्तपुर नगरकै भक्तपुर बहुमुखी क्याम्पस प्रांगणमा अर्को ग्रासरुट फुटबल महोत्सव गरिएको थियो ।
त्यस्तै मध्यपुर थिमी नगर क्षेत्रमा एन्फा उपाध्यक्ष सिंह आबद्ध भएको मध्यपुर युथ फुटबल एसोसिएसनले अर्को ग्रासरुट फुटबल फेस्टिभल आयोजना गरेको थियो । एउटै जिल्लामा फरकफरक ठाउँमा फरकफरक क्लबमार्फत ग्रासरुट फुटबल गर्दा नयाँ पुस्तामै एन्फाको विवाद र विभाजित अस्तित्वले जरा गाड्ने एन्फाकै पदाधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले जिल्ला संघ हुँदाहुँदै अरू क्लबलाई एन्फाको आधिकारिक कार्यक्रम गराइँदा अनुशासनहीनता र मनपरी बढ्ने आशंका व्यक्त गरे । ‘जिल्ला संघलाई उपेक्षा गरेर क्लबहरूतिर हात बढाउन थालियो भने देशभरका क्लबहरूले ग्रासरुट फुटबल गर्ने भन्न सक्छन्’, उनीहरूले भने, ‘के यस्तो बेला सबै क्लबलाई एन्फाले सहयोग गर्न सक्छ ? ’
जसले पनि गर्न पाउँछ : सिंह
एन्फाको ग्रासरुट फुटबलका संयोजक एवं उपाध्यक्ष सिंहले भने फुटबलको विकास जसले पनि गर्न पाउने प्रतिक्रिया दिए । उनले जहाँ क्लब र खेलमैदान छन्, त्यहाँ फुटबलको विकास हुन्छ भने एन्फाले जसलाई पनि ग्रासरुट फुटबल सञ्चालन गर्न दिने बताए । ‘ग्रासरुट फुटबल जिल्ला संघले मात्रै गर्छ भन्ने हुँदैन’, उनले भने, ‘फुटबल मैदान भएका क्लबहरूले पनि ग्रासरुट फुटबल गर्छु भन्छ भने उसले पनि एन्फाबाट सहयोग पाउँछ ।’
जिल्ला संघलाई पाँच लाख
एन्फाले ग्रासरुट फुटबल सञ्चालन गर्न प्रत्येक जिल्ला संघलाई नगद पाँच लाख रुपैयाँ र आवश्यक खेलकुद सामग्री प्रदान गरेको छ । जिल्ला संघ बाहेकका क्लबलाई भने एक लाख रुपैयाँ बराबरको खेलकुद सामग्री मात्रै उपलब्ध गराइएको उपाध्यक्ष सिंह बताउँछन् ।
एन्फाले जिल्ला संघलाई नै आआफ्नो जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका क्षेत्र समेट्ने गरी उक्त कार्यक्रम गर्न निर्देशन दिएको छ । एन्फाको उक्त स्पष्ट निर्णय हुँदाहुँदै भक्तपुरमा जिल्ला संघलाई जानकारी नै नदिईकन एन्फाकै उपाध्यक्ष सिंहको अगुवाइमा थप दुई ग्रासरुट फुटबल सञ्चालन गरिएको बताइएको छ ।
उपाध्यक्ष सिंहले यसलाई स्वीकार गर्दै भक्तपुरका अन्य नगरपालिकाका क्लबलाई पनि ग्रासरुट फुटबल सञ्चालन गर्न दिइने प्रतिक्रिया दिए ।
के हो ग्रासरुट फुटबल ?
गएको विश्वकप फुटबलमा सहभागी देशका खेलाडीहरू ग्रासरुट फुटबलबाटै उत्पादन भएका हुन् । विश्वमा फुटबलको ट्रेन्ड नै सानै बेलादेखि फुटबलमा रुचि भएका र सोहीअनुसार खेलाडी तयार गर्ने सिद्धान्त र प्रणालीले काम गर्दै आएको छ । नेपाली फुटबलमा पनि सोही सिद्धान्त र प्रणाली लागू गर्ने उद्देश्यले एन्फाले ग्रासरुट फुटबल कार्यक्रम अघि सारेको हो । यस कार्यक्रमअन्तर्गत आठदेखि १३ वर्षभित्रका बालबालिकालाई बढीभन्दा बढी सहभागी गराई फुटबलमा आकर्षण गर्ने मुख्य लक्ष्य रहेको छ । त्यस्तै फुटबलमार्फत रमाइलो गराएर नजानिँदो ढंगले फुटबलमा लाग्न उत्साहित गर्ने ग्रासरुट फुटबलको उद्देश्य रहेको संयोजक सिंह बताउँछन् । ‘ग्रासरुट फुटबलमा बालबालिकालाई आकर्षित गर्न रमाइलो ढंगले फुटबल खेल र यसका प्राविधिक पक्षबारे प्रशिक्षण दिइन्छ’, उनले भने, ‘प्रशिक्षणका बीच वास्तविक फुटबल खेलाडी बन्ने बालबालिकाको पहिचान हुन्छ । उनीहरूलाई नियमित प्रशिक्षण र प्रतियोगिताको व्यवस्था हुन्छ ।’ ग्रासरुट फुटबलले फुटबलका उत्कृष्ट खेलाडीहरूको माग पूर्ति गर्ने एन्फाको विश्वास छ ।