रोकिएन मरीच तस्करी

रोकिएन मरीच तस्करी

विराटनगर : मोरङका सीमावर्ती नाका हुँदै भारततर्फ हुने मरीच तस्करी अझै रोकिएको छैन। तेस्रो मुलुकबाट नेपाल भिœयाएर तस्करीमा संलग्नले प्रायः राति भारततर्फ मरीच कटाउने गरेको पाइएको छ। दिउँसो मरीच कटाउँदा सुरक्षाकर्मीलाई छल्न नसक्ने भएपछि तस्करीमा संलग्नले राति सक्रियता बढाउने गरेको पाइएको छ।

मसलाका रूपमा प्रयोग हुने मरीच भारत पुर्‍याउँदा एक किलोग्राममा चार सय रुपैयाँसम्म फाइदा हुने भएका कारण मरीचको तस्करी बढेको प्रहरीको निष्कर्ष छ। सशस्त्र र नेपाल प्रहरीले दैनिकजसो नेपाल–भारत सीमा नाकाबाट मरीच बरामद गरिरहेका छन्। भारततर्फ लैजाँदै गरेको भेट्टाएर सशस्त्र प्रहरीको टोलीले मोरङको जहदा गाउँपालिका–१ बाट आइतबार राति सय किलोग्राम मरीच बरामद गरेको छ।

दुईवटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा मरीच नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर (राजस्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङका डीएसपी सुरेन्द्रराज रञ्जितले बताए। उनका अनुसार मरीच लग्दै गरेको बीआर ३९ बी २५२० र बीआर ३८ के ६६९६ नम्बरका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। डीएसपी रञ्जितका अनुसार मरीच तस्करीमा संलग्न सशस्त्र प्रहरीको टोली देख्नेवित्तिकै मोटरसाइकल छाडेर फरार भएका छन्।

बरामद गरिएको मरीच र नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले बताए। ‘विशेष गरेर भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेर मरीच तस्करी हुने गरेको पाइयो,’ रञ्जितले भने, ‘दिउँसो तस्करी गर्दा सुरक्षाकर्मीको आँखा छल्न गाह्रो हुने भएकाले तस्करीमा संलग्नले राति भारततर्फ मरीच लैजान थालेको पुष्टि भएको छ।’ उनले दैनिक तस्करीको मरीच बरामद भइरहेका घटनाले पनि भारततर्फ यसको तस्करी भइरहेको पुष्टि हुने बताए।

यसअघि मरीच तस्करीमा संलग्नले जोगबनी नाका प्रयोग गर्ने गरेका थिए। सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले कडाइ गरेसँगै तस्करीमा संलग्नले अन्य नाका प्रयोग गर्न थालेको डीएसपी रञ्जितको भनाइ छ। भन्सार कार्यालयले मरीच लिलामी गर्ने र पक्राउ परेका मरीच ओसारपसार गर्नेहरूलाई भने धरौटीमा छाड्ने गरेको छ। तस्करी गर्दैगर्दा पक्राउ परेकाहरू भन्सार कार्यालयले माग गर्ने धरौटी रकम बुझाएर छुट्दै आएका छन्।

डीएसपी रञ्जितले मरीच तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकाले विशेष अभियान नै सञ्चालन गरिएको प्रहरीको दाबी छ।

नेपालमा ६ सय २५ रुपैयाँसम्म पर्ने मरीच भारत पु¥याएपछि भने एक हजार २५ रुपैयाँसम्म बिक्री हुन्छ। भारतमा महँगो हुने भएकाले सीमा क्षेत्रबाट भारततर्फ मरीच तस्करी हुने गर्छ। विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुशील थापाका अनुसार भन्सारमा प्रतिकिलो एक सय १३ रुपैयाँ राजस्व तिरेर मरीच भारत लैजान पाइने बताए। उनले भने, ‘भन्सार बुझाउँदा महँगो पर्ने भएकाले मरीचको कारोबारमा संलग्नले तस्करी गर्न थालेको पाइएको छ। प्रक्रिया पूरा गरेर भन्सार कार्यालयबाट मरीच भारततर्फ लगिएको कुनै रेकर्ड छैन।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भन्सारमा राजस्व बुझाउँदै प्रक्रिया पूरा गरेर मरीच भारत लैजानेलाई भने प्रहरीले कुनै अवरोध नगर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.