राष्ट्रव्यापी र्यापिड बुद्धिचाल : लामा र नेपाली अगाडि
भक्तपुर : भक्तपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रव्यापी र्यापिड बुद्धिचाल प्रतियोगिताको पहिलो दिन पूर्व नेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा छन्। नेपाल क्रान्तिकारी युवा संघको २८औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगितामा सोमबार चार चरणको खेल सकिँदासम्म लामा र नेपालीले चार÷चार अंक बटुलेका छन्। उनीहरूसँगै मकवानपुरका कृष्ण थापाले पनि समान चार अंक बटुलेका छन्।
लामाले चौथो चरणको खेलमा राजन सुवेदीलाई हराए। नेपालीले भने चौथो चरणको खेलमा अर्का पूर्वनेपाल च्याम्पियन नवीन तुलाधरलाई माथ थिए। कृष्ण थापाले चौथो चरणमा कमल श्रेष्ठलाई हराएर महŒवपूर्ण एक अंक बटुले। स्विस लिगअनुसार नौ चरणमा हुने प्रतियोगितामा चौथो चरणसम्म पूर्वनेपाल च्याम्पियन मनीष हमाल, राजेन्द्र वज्राचार्य र राजेन्द्र सिजख्वको समान ३.५ अंक छ।
नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले भने चार चरणको खेल सकिँदासम्म तीन अंकमात्र जोडेका छन्। उनी चौथो चरणमा सु श्रुत दाहालसँग बराबरीमा रोकिएका थिए। यसैगरी भेट्रान खेलाडी एवं भक्तपुर च्याम्पियन गणेशमान दुवालको पनि तीन अंक छ। दोस्रो चरणको खेलमा पराजित भएका उनले चौथो चरणमा खोमप्रसाद तिमिल्सिनालाई माथ दिएर एक अंक हात पारेका थिए।
प्रतियोगितामा उत्कृष्ट १७ जना खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजक नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले प्रतियोगिताको च्याम्पियनले १५ हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए। यसैगरी दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ६ हजार, चौथो हुनेले चार हजार र पाँचौं हुने खेलाडीले दुई हजार रुपैयाँ पुरस्कार पाउने छन्।
छैटौंदेखि १०औं स्थानमा आउने खेलाडीले पनि जनही एक हजार रुपैयाँ पाउने छन्। भक्तपुर जिल्ला टप हुने खेलाडीले थप दुई हजार रुपैयाँ पुरस्कार हात पार्ने छन्। अनरेटेडतर्फको सर्वोत्कृष्ट, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट महिला र बेस्ट इलोतर्फ १५०० मुनि र १८०० मुनिकाले पनि जनही एक हजार रुपैयाँ पुरस्कार हात पार्ने जानकारी प्रतियोगिताका संयोजक राजकुमार लघूले दिए। प्रतियोगितामा १३ जिल्लाका ८८ जना खेलाडीको सहभागिता रहेको प्रतियोगिताका आर्विटर निरञ्जन प्रजापतिले बताए। उनका अनुसार कुल सहभागीमध्ये रेटेडतर्फ ५१ जना र अनरेटेडतर्फ ३७ जना छन्।