स्थानीय तहमा स्वास्थ्य सेवा : आमालाई फरिया, बच्चालाई ब्लाङ्केट
ओखलढुंगा : ओखलढुंगाका स्थानीय तहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रचारमुखी अभियानका रूपमा जोड दिन थालेका छन् ।
नीति तथा कार्यक्रममा उनीहरूले पूर्वाधार विकासपछि स्वास्थ्यलाई प्रथामिकतामा राखेका हुन् । तर यस्ता कार्यक्रममा औषधि खरिद, जनशक्ति व्यवस्थापनभन्दा चर्चामुखी कार्यक्रमबाट नागरिकलाई प्रभावित पार्न उपहार र सुविधा दिने योजना ल्याएका छन् । विभिन्न स्थानीय तहले सेवाभन्दा चर्चामुखी कार्यक्रम बढी ल्याएको भनी आलोचना भइरहेका बेला गर्भवती आमा र बच्चाको सुरक्षाका लागि कपडा उपहार दिने, प्रोत्साहन भत्ता दिने जस्ता कार्यक्रम सुरु भएको हो ।
यहाँको सुनकोसी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलालाई लक्ष्य गरी स्वास्थ्य जाँच गराई सुत्केरी हुनेलाई सरकारले दिएको एक हजारमा गाउँपालिकाले थप एक हजार दिन थालेको छ । त्यस्तै ९ नं. वडा कार्यालयले सुत्केरी गराउँदा बच्चालाई बेबी ब्ल्याङ्केट दिन थालेको छ ।
सुरक्षित रुपमा स्वास्थ्य संस्थामा प्रसुति गराउन प्रोत्साहन गर्न र नवजात शिशुलाई सुरक्षित गर्न बेबी ब्ल्याङ्केट वितरण गर्न थालिएको वडा अध्यक्ष झनक कार्कीले बताए । स्वास्थ्य संस्था आएर प्रसुति गराइ जन्मेका बच्चाहरूलाई वडा कार्यालयले स्वास्थ्य संस्था मार्फत बेबी ब्लाङकेट दिन थालेको हो ।
वडा कार्यालयले आफ्नै कार्यक्रम मार्फत ब्ल्याङ्केट हस्तान्तरण गरिएको बताइएको छ । नियमित रूपमा गर्भ जाँच गरि स्वास्थ संस्थामै जन्मेका सबै बच्चाले यो सुबिधा पाउने स्वास्थ्य संस्थाले जनाएको छ । हालसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवती महिलाबाट जन्मेका १२ बच्चालाई १२ थान बेवी ब्लाङकेट बितरण गरीएको स्वास्थ्य चौकी कटुन्जेका कार्यालय प्रमुख दामोदर शर्माले बताए ।
लिखु गाउँपालिका वडा नं. ६ ले स्वास्थ्य संस्थामा बच्चा जन्माउन आएका आमालाई नयाँ फरिया दिन थालेको छ । आमालाई सरसफाइमा सहयोग पुगोस् भने फरिया दिइएको वडा कार्यालयले जनाएको छ । चम्पादेवी गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने कार्यक्रम र बजेट ल्याएको छ । पहिले पूर्वाधार स्थापना गरेर मात्रै अरु सुविधा दिन सकिने गाउँपालिका अध्यक्ष नवराज केशीले बताए ।
जिल्लाभर निशुल्क औषधि अभाव भएको गुनासा आए पनि यस तर्फ भने उनीहरूको ध्यान जान सकेको छैन । स्थानीय तहले जिल्ला स्वास्थ्य र स्वास्थ्य शाखाको भर पर्दा पर्याप्त औषधि भने स्थानीय तहका स्वास्थ्य संस्थामा उपलब्ध हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !