यू १६ च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

यू १६ च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

काठमाडौं : एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले खराब सुरुआत गरेको छ। हल्चोकस्थित एपीएफ क्लबको मैदानमा समूह ‘ई’ अन्तर्गत बुधबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलले पराजित भयो। खेलको सुरुआतमा केही आक्रामक देखिएको नेपालले विस्तारै आफ्नो लय गुमाएको थियो। फिलिपिन्सका लागि कप्तान मारिया लाजोले दुई तथा अलामो र मिकाइला भिलासिनले एकएक गोल गरे।

खेलको प्रारम्भमा नेपालको प्रदर्शनलाई नियाल्न प्रयासरत फिलिपिन्सले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोलेको थियो। ४२औं मिनेटमा मारियाले गोलगर्दै टोलीको उत्साह बढाइन्। मारियाले पहिलो हाफकै इन्जुरी समयमा अर्को गोल गरेपछि पहिलो हाफमा फिलिपिन्सले आफ्नो अग्रतालाई दोब्बर बनायो। टोलीमा स्कुले विद्यार्थीको बाहुल्य रहेको फिलिपिन्सले दोस्रो हाफमा पनि लगातार गोलको अवसर बनाएको थियो।

फिलिपिन्सले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित हात पारेको थियो। अलामोले ७५औं र भिलासिनले ८२औं मिनेटमा गोल गरेका थिए। प्राविधिक रूपमा कमजोर देखिएको नेपालले खेलभर गोल गर्न लायक अवसर बनाउन सकेन। फिलिपिन्सलाई हराएर अघिल्लो चरणको यात्रा सहज बनाउने लक्ष्य लिएको नेपाललका लागि पहिलो हार निकै महँगो हुने देखिएको छ। चार टोली सम्मिलित समूह चरणको दोस्रो खेल नेपालले शुक्रबार म्यानमार र तेस्रो खेल आइतबार मलेसियासँग खेल्नेछ। समूह चरण पार गर्न नेपाललाई बाँकी खेल जित्नुपर्ने हुन्छ। नेपाली महिला खेलाडीले यसै च्याम्पियनसिपको तयारीका लागि एक महिना अघि भुटानमा भएको यू–१५ महिला साफ च्याम्पियनसिप खेलेर आएको थियो। साफको सेमिफाइनलमा भुटानसँग पराजित भएको थियो।

यसैगरी समूहकै अर्को खेलमा म्यानमारले मलेसियालाई ३–० गोलले हरायो। एकपक्षीय खेलमा म्यानमारले सबै गोल दोस्रो हाफको अन्त्यतिर गरेको थियो। म्यानमारका लागि मायट नोइ खिनले ह्याट्रिक गरिन्। मायटले ७५औं, ८७औं र ८९औं मिनेटमा गोल गरेकी थिइन्। समूहका पहिलो जितसँगै फिलिपिन्स र म्यानमारले तीनतीन अंक बनाएका छन्। समूहका शीर्ष दुई टोली सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपको फाइनल चरणका लागि छनोट हुनेछन्।

फुटबलमा मेडिसिटीको सेवा

काठमाडौंमा जारी एएफसी यू– १६ छनोट च्याम्पियनसिप फुटबलमा नेपाल मेडिसिटी अस्पतालले आकस्मिक स्वास्थ्य सेवा प्रदान गरेको छ। स्वास्थ्य सेवाका लागि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) र अस्पतालबीच सम्झौता भएको थियो। सम्झौतापत्रमा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र एन्फाका महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.