धार्मिक समिति विघटनप्रति असन्तुष्टि
इलाम : इलाम नगरपालिकाका धार्मिक स्थल संरक्षणका लागि गठित समिति विघटन गरिएपछि आलोचना सुरु भएको छ। इलाम नगरपालिका धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समिति गठन तथा सञ्चालन निर्देशिकाअनुसार समिति परिवर्तन गर्न थालेर नगरपालिकाले निरंकुश शैली अपनाएको आरोप लागेको छ।
बिनाजानकारी समिति परिवर्तन गरिएपछि कतिपय काम अवरुद्ध बनेको माईस्थान धार्मिक क्षेत्र विकास समितिका सहसचिव टेकप्रसाद रञ्जितकारले बताए। समितिका सचिव केदार श्रेष्ठका अनुसार मन्दिरको छानोमा तामाको पाता लगाउनेलगायत काम भइरहेको अवस्थामा आसपासका नागरिक र सरोकारवालालाई पनि नसुनाई समिति परिवर्तन गरिएको हो।
समितिका कोषाध्यक्ष गोविन्द कर्माचार्यले मन्दिर सञ्चालनमा वार्षिक ३ लाख २८ हजार खर्च हुने जानकारी गराउँदा पनि नगरपालिकाले चासो नदिएको बताए। नगरपालिकाले वार्षिक १ लाख अनुदान दिँदै आएको छ। नगरपालिकाका सूचना अधिकारी राम शाहले कार्यविधिअनुसार समिति परिवर्तन सुरु भएको जानकारी दिए। इलाम नगरपालिकामा माईस्थान, सिंहदेवी, सेतीदेवी, नारायणस्थानलगायत धार्मिक क्षेत्रमा संरक्षण समिति छन्।
माईस्थान संरक्षण समितिका अध्यक्ष गोपालप्रसाद श्रेष्ठले समितिले ऐतिहासिक तोप फर्काउन पनि पहल गरिरहेको बताए। यसअघि समितिको पहलमा सेनाले स्थानान्तरण गरेको निशान फिर्ता गरेको थियो।
माईस्थान मन्दिरको दिगो विकासका लागि निर्माण गरिएको गुरुयोजना मन्दिर समितिमा आइनपुग्दै हराएको छ। दुई वर्षअघि भवन विभागले क्रिएटिभ इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंलाई ३ लाख रुपैयाँ लागतमा बनाउन दिएको गुरुयोजना हातै नपरी हराएको समितिका सहसचिव रञ्जितकारले बताए।
प्रतिक्रिया दिनुहोस !