मायांका र प्रेरणा सेमिफाइनलमा
ललितपुर : ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल समीकरण पूरा भएको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वार्टरफाइनल खेल जित्दै मायांका राणा, प्रेरणा कोइराला, अभिलाषा विष्ट र माहिका राणा अन्तिम चारमा पुगेका छन्।
मायांकाले एश्लेसा लिसानेभिचलाई ६-२, ६-२ ले हराउँदै अन्तिम चारमा स्थान बनाइन्। यसैगरी प्रेरणा कोइरालाले प्रकृति श्रेष्ठलाई ६-०, ६-१, माहिकाले एनी माथेमालाई ७-६, ६-१ ले पराजित गरे। अभिलाषा भने इरा रावत रिटायर्ड हर्ट भएपछि अन्तिम चारमा पुगिन्। तर खेलमा अभिलाषाले ७-६, ४-२ ले अग्रता लिएकी थिइन्।
पुरुष सिंगल्सतर्फ निक रासट्रपले प्रणव खनाललाई १-६, ६-३, ६-२, निशान श्रेष्ठले सुव्रत बस्नेतलाई ७-६, ७-५, प्रदीप खड्काले इभानहोई लिसानेभिचलाई ६-२, ६-३ ले पराजित गरे। यसैगरी कमल भण्डारीले भीष्मजंग गुरुङलाई ६-१, ६-०, महेश श्रेष्ठले निमवान राईलाई ६-०, ६-० र सन्तोष खत्रीले विजय महर्जनलाई ६-०, ६-१ ले पराजित गरे। नवीन मगरविरुद्ध इन्द्रबहादुर शाह र जितेन्द्र परियारविरुद्ध मुक्तिसेन गुरुङले वाकओभर दिएका थिए।
यसैगरी पुरुष डबल्सतर्फ सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले सुव्रत बस्नेत मुक्तिसेन गुरुङको जोडीलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। अन्य क्वार्टरफाइनल खेलमा महेश श्रेष्ठ र मनोज राणा, प्रदीप खड्का र नवीन पुन तथा कमल भण्डारी र प्रणव खनालको जोडीले जित हात पारेका थिए।