भारत एसिया कप क्रिकेटको फाइनलमा
दुबई : भारत एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ‘सुपर फोर’ चरणमा लगातार दोस्रो जित हात पार्दै भारतले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
भारतले आइतबार राति भएको खेलमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई नौ विकेटको भारीअन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम दुईको यात्रा पक्का गरेको हो। पाकिस्तानले भारतविरुद्ध निक्कै कमजोर प्रदर्शन गर्दा फाइनल प्रवेशका लागि बंगलादेशविरुद्ध हुने सुपर फोर चरणको आफ्नो अन्तिम खेलमा कुनै पनि अवस्थामा जित हात पार्नुपर्ने बाध्यता थपिएको छ।
भारतले पाकिस्तानविरुद्ध जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यस अघि समूहगत चरणको खेलमा पनि पाकिस्तान भारतसँग पराजित हुन पुगेको थियो। आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रारम्भिक ब्याट्सम्यानद्वय शिखर धवन र रोहित शर्माले शतकीय पाली खेल्दा भारतले सहज जित हात पारेको हो।
टस जिती पहिले ब्याटिङको निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३७ रनको योगफल खडा गरेको थियो। जवाफमा भारतले शिखर र रोहितको शतकीय पालीको मद्दतले ३९.३ ओभरमा मात्रै एक विकेट गुमाएर जित पक्का गर्यो।
भारतको जितमा शिखरले एक सय बलमा एक सय १४ र कप्तान रोहितले एक सय १९ बलमा अविजित रहँदै एक सय ११ रनको दिए। शिखरले आफ्नो पालीमा दुई छक्का र १६ चौका प्रहार गर्दा रोहितले चार छक्का र सात चौका प्रहार गरे। रोहितसँगै अम्बाती रायडु १८ बलमा १२ रन जोड्दै अविजित रहे।
त्यसअघि सोएब मालिकले सशक्त प्रदर्शन गर्दै ७८ रनको योगदान गरे पनि उनलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिन नसक्दा पाकिस्तान सहज पराजय बेहोर्न बाध्य बन्यो। मालिकले ९० बलमा दुई छक्का र चार चौका प्रहार गरेका थिए। उनीभन्दा पछि कप्तान सफ्र्रज अहमेदले ४४, फकर जमामले ३१ तथा असिफ अलीले ३० रन जोडे। अन्य पाकिस्तानी ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानलाई सहज योगफलमै रोक्न भारतका युजभेन्द्र चहल, कुलदीप यादव र जसप्रीत बुमराहले दुई÷दुई विकेट लिएका थिए।
प्रतियोगिताअन्तर्गत आइतबार नै भएको अर्काे खेलमा बंगलादेशले अफगानिस्तानसँग तीन रनको झिनोअन्तरमा पराजय बेहोरेको छ। यो पराजयसँगै अफगानिस्तान प्रतियोगिताबाटै बाहिरिएको छ भने जितले बंगलादेशको फाइनल पुग्ने सम्भावना जीवित बनेको छ।
समूहगत चरणको खेलमा बंगलादेशसहित श्रीलंकालाई पनि पराजित गरेर सनसनी मच्चाएको अफगानिस्तानले आइतबारको खेलमा भने जितको लयलाई कायम राख्न सकेन। आबुधावीस्थित शेख जायद स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४९ रनको योगफल तय गरेको थियो। सोही लक्ष्य पछ्याउने क्रममा निर्धारित ५० ओभरमा सातै विकेट गुमाएको अफगानिस्तान दुई सय ४६ रनमै रोकिएपछि जितको निक्कै नजिक पुगेर रोकियो।
अफगानिस्तानका लागि हस्मतुल्लाह सहिदीले ७१ रनको योगदान दिए पनि जिततर्फ अग्रसर बनाउन सकेनन्। उनीबाहेक प्रारम्भिक ब्याट्सम्यान मोहम्मद सेहजाद ५३, कप्तान अस्घर अफ्गानले ३९ तथा मोहम्मद नाबीले ३८ रन जोड्दा समिउल्लाह सेन्वारी २३ रनमा अविजित रहे। बंगलादेशको जितमा इमरुल कायेस र मोहमदुल्लाको ब्याटिङ प्रदर्शन महŒवपूर्ण रह्यो।
टोलीका लागि इमरुलले अविजित ७२ तथा मोहमदुल्लाले ७४ रनको योगदान दिएका थिए। बंगलादेश कुनै समय ८५ रन जोड्दा पाँच विकेट गुमाउँदै कमजोर अवस्थामा पुगेको बेला उनै इमरुल र मोहमदुल्लाले छैटौं विकेटका लागि एक सय २८ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ अग्रसर गराएका थिए। ब्याटिङतर्फ अफगानिस्तानका अफ्ताब आलम एक्लैले तीन विकेट लिए भने बंगलादेशका मुस्तफिजुर रहमान र मस्रफे मोर्टाजाले दुई÷दुई विकेट लिए।
सुपर फोर चरणको आफ्नो अन्तिम खेलमा मंगलबार भारत र अफगानिस्तान भिड्ने छन्। यद्यपि यो खेलको नतिजाले प्रतियोगिताको समीकरणमा दुवै टोलीलाई फरक पार्ने छैन। बुधबार हुने बंगलादेश र पाकिस्तानबीचको खेलले भने फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ।