स्पेनिस ‘पावर हाउस’को विजोग
म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको बिहीबार बिहान भएको खेलमा दुवै ‘पावर हाउस’ बार्सिलोना र रियल म्याड्रिडले नमीठो पराजय भोगेका छन् । रियल म्याड्रिडलाई सेभिलले आफ्नै घरेलु मैदानमा ३-० गोलले हरायो । बार्सिलोना पनि तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लेगानेससँग उसैको घरेलु मैदानमा २-१ गोलले पराजित हुन पुग्यो । जारी सिजनको घरेलु लिगमा यी दुवै टोलीले पहिलोपटक पराजय भोगेका हुन् ।
हारका बीच पनि बार्सिलोना र रियल अंक तालिकामा आआफ्नो स्थानमा यथावत् छन् । यसअघि सन् २०१५ मा यी दुवै टोलीले एकै दिन पराजय भोगेका थिए । रियलविरुद्घको खेलमा सेभिलका लागि आन्द्रे सिल्भा नायक बने । उनले टोलीको जितमा दुई गोलको योगदान गरे । सेभिलले तीनवटै गोल खेलको पहिलो हाफमै गरेको थियो ।
सिल्भाले पाँच मिनेटको बीचमा लगातार दुई गोल गर्दै सेभिललाई अगाडि बढाएका थिए । खेल सुरु भएको १७औं मिनेटमा पहिलो गोल गरेका सिल्भाले २१औं मिनेटमा अर्को गोल थपेका थिए । सेभिलका लागि तेस्रो गोल भने ३९औं मिनेटमा विसाम बेन एदरले गरे । ६ खेल खेलेको बार्सिलोना १३ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
यसैगरी ६ खेलबाट १३ अंक नै बटुलेको रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । समान खेलबाट १० अंक जोड्दै सेभिल तालिकाको चौथो स्थानमा छ । लेगानेसविरुद्घको खेलमा पहिले गोल गरेर पनि त्यसलाई जोगाउन नसक्दा साविक विजेता बार्सिलोनाले हार बेहोर्नु प¥यो । खेल सुरु भएको १२औं मिनेटमै बार्सिलोनाका लागि फिलिप कोउटिन्होले गोल गरेका थिए ।
सेभिल्लासँग प्रतिस्पर्धाका रियल मड्रिडका खेलाडी । तस्बिर : एजेन्सी
खेलको दोस्रो हाफमा दुई मिनेटको बीचमा लगातार दुई गोल फर्काउँदै लेगानेसले नतिजालाई आफ्नो पक्षमा पारेको थियो । लेगानेसका लागि ५२औं मिनेटमा नबिल एल जहार र ५३औं मिनेटमा ओस्करले एक÷एक गोल गरेका थिए । जारी सिजनको लिगमा लेगानेसको यो पहिलो जित हो । ६ खेलबाट चार अंक बटुल्दै लेगानेस तालिकाको १७औं स्थानमा उक्लिएको छ । बार्सिलोनामा स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीका लागि यो सात सयौं खेल थियो ।
अर्को खेलमा भिल्लारियलले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा ३-० गोलले हरायो । भ्यालेन्सिया भने घरेलु मैदानमै सेल्टा भिगोसँग १-१ गोलको बराबरीमा रोकिन पुग्यो । भिल्लारियलले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । भिल्लारियलका लागि पाब्लो फोर्नाल्सले ६५औं, रामिरो फुनेस मोरीले ८०औं र कार्ल टोको एकाम्बीले ८९औं मिनेटमा गोल गरेका थिए ।
हालसम्म ६ खेल खेल्दै आठ अंक हात पारेको भिल्लारियल आठौं र पाँच खेलबाट ६ अंक जोडेको बिल्बाओ १३औं स्थानमा छन् । सेल्टाविरुद्घको खेलमा भ्यालेन्सियाले २५औं मिनेटमै अग्रता लिएको थियो । भ्यालेन्सियाका लागि मिची बात्सुईले गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि सेल्टाका लागि इआगो असपासले जवाफी गोल फर्काएका थिए । ६ खेलबाट पाँच अंक जोडेको भ्यालेन्सिया १५औं र समान खेलबाट नौ अंक हात पारेको सेल्टा सातौं स्थानमा छन् ।