नेपाल छैटौं स्थानमा
आगरा : भारतको आगरामा सम्पन्न एसियन स्कुल यू- १८ फुटबल च्याम्पियनसिपमा नेपालले छैटौं स्थान हात पारेको छ। च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाएको नेपाल तीन खेलमा जित र तीन खेलमै हार बेहोर्दै छैटौं स्थानमा चित्त बुझायो। नेपालले चीन, अफगानिस्तान र श्रीलंकामाथि जित निकालेको थियो भने थाइल्यान्ड, इन्डोनेसिया र आयोजक राष्ट्र भारतसँग पराजय बेहोरेको थियो।
शुक्रबार भएको अन्तिम खेलमा भारतसँग ४-३ गोलले निराश भएपछि नेपालले पाँचौं स्थान गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा फिनिसिङ फितलो हुँदा नेपाल जितबाट विमुख बन्न पुग्यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थपिएको समयमा समेत नतिजा निस्कन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो। सडन डेथमा नेपाल अभागी ठहरिँदा घरेलु मैदानमा भारतको भाग्य चम्कियो।
टाइब्रेकरमा नेपालका रन्दीप पौडेल, अनिज महर्जन र नवीन गुरुङको प्रहारले मात्रै जाली चुमेको थियो। कप्तान दिनेश हेन्जन र शेषेहाङ आङ्दम्बेको प्रहारलाई भारतीय गोलरक्षक मोल्लह रहमानले बचाएका थिए। भारतका छकछुक पाउगिनमुन, टाइसन सिंह र कफोइ सिंहको प्रहार गोलमा परिणत भयो। वाजिड अली र अजयकुमार चौधरीको प्रहारलाई नेपालका गोलरक्षक विशाल सुनारले विफल पारिदिएपछि टाइब्रेकरमा नतिजा निस्कन सकेन। सडन डेथमा भारतका सञ्जित राईको प्रहार गोलमा परिणत भएपछि भारत विजयी भयो। सुरज ठकुरीको प्रहारलाई भारतीय गोलरक्षकले बचाएपछि नेपाल हार स्वीकार्न बाध्य भयो।
खेललाई नियन्त्रणमा राखेको नेपालले निर्धारित समयमा गोल गर्ने केही सुन्दर अवसरलाई सदुपयोग गर्न सकेन। ३७औं मिनेटमा बुद्ध तामाङको प्रहारमा भारतीय गोलरक्षक बाधक बने। ५१औं मिनेटमा २५ यार्ड टाढाबाट दिनेश हेन्जनले गरेको फ्रिकिक प्रहार पनि बाहिरिएको थियो। खेलभर मिडफिल्डर अनिल महर्जन, रक्षापंक्तिमा राजन गुरुङ, विकास खवास र रन्दीप पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो। दिनेश हेन्जन, नीतिन थापा मगर, मनीष थापा र गोलरक्षक विशाल सुनारको प्रदर्शन पनि सम्झनलायक रह्यो।
नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल र भारतबीचको प्रतिस्पर्धालाई महŒवका साथ हेरिएको भए पनि दुःखद् नजिता निस्किएको बताए। ‘मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो,’ उनले भने, ‘फिनिसिङ फितलो हुँदा निराश हुनु पर्यो।’
च्याम्पियनसिपको उपाधि भने थाइल्यान्डले जित्यो। इन्डोनेसियालाई ३-० गोलले पराजित गर्दै थाइल्यान्डले उपाधि जितेको हो। च्याम्पियनसिपमा दक्षिण कोरिया तेस्रो र मलेसिया चौथो भयो। यस्तै चीन सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं र भुटान दशौं भए।