अन्नपूर्ण सम्पूर्ण वुमन फुट्सलको उपाधि एनएमबी बैंकलाई
काठमाडौं : युथ लिजेन्डको आयोजनामा भएको अन्नपूर्ण सम्पूर्ण कर्पोरेट नन् प्रोफिट वुमन फुट्सल प्रतियोगिताको उपाधि एनएमबी बैंकले जितेको छ। शनिबार भएको एक दिने प्रतियोगिताको फाइनल खेलमा एनआईबीएल बैंकलाई २–० गोलले पराजित गर्दै एनएमबी बैंकले उपाधि जितेको हो।
सामाखुसीस्थित सामाखुसी फुट्सलमा भएको फाइनल खेलको सुरुवातमै गोल गर्दै एनएमबीले जित पक्का गरेको हो। टोलीलाई विजयी बनाउन सुजिना श्रेष्ठ र अस्मिता बुढाथोकीले एक/एक गोल गरेका थिए। सुजिनाले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै एनएमबीलाई १–० ले अघि बढाएका थिए।
त्यसको एक मिनेटपछि नै अस्मिताले अर्को गोल थपेपछि एनएमबीको जित २–० ले पक्का बनेको थियो।
अन्नपूर्ण मिडिया नेटवर्क र एनआइबीएलका खेलाडी।
प्रतियोगितामा एनएमबी बैंककी सविना पोखरेल सर्वोतकृष्ट खेलाडी घोषित भइन् भने एनआइबीएलकी प्रिती न्यौपाने सर्वाधिक गोलकर्ता बनिन्। प्रितीले प्रतियोगितामा सबै भन्दा बढी चार गोल गरेकी थिइन्।
एनएमबीले सेमिफाइनल खेलमा युवा नेपाल तथा एनआईबीएलले ईके सोलुसन प्राईभेट लिमिटेडलाई टाईब्रेकरमा समान १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। सेमिफाइनलमा एनएमबी बैंकलाई विजयी बनाउन सविना पोखरेल तथा एनआइबीएल बैंकलाई विजयी बनाउन प्रिती न्यौपानेले टाइब्रेकरमा गोल गरेका थिए।
प्रतियोगितामा विभिन्न सात वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा एनएमबी, एनआइबीएल, युवा नेपाल र ईके सोलुसन बाहेक अन्नपूर्ण मिडिया नेटवर्क, बैंक अफ काठमान्डू र आयोजक युथ लिजेन्डको टोलीले सहभागीता जनाएका थिए।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट सिस्टमका आधारमा सञ्चालन गरिएको प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए।