ला लिगामा बार्सिलोना र रियल मड्रिड : हार र बराबरीमा प्रतिस्पर्धा
एजेन्सी : स्पेनिस ला लिगाको यस सिजनमा दुई मुख्य उपाधि दाबेदार बार्सिलोना र रियल मड्रिडको नतिजा निकै रोमाञ्चक बनिरहेको छ। बुधबार नमीठो हार व्यहोरेका दुवै टोली शनिबारको खेलमा बराबरीमा रोकिए । शनिबारको खेलमा आफ्नै मैदानमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकियो भने रियल मड्रिड पनि आफ्नै मैदानमा एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी मै रोकियो।
शनिबारको खेलमा बार्सिलोनाले त हारबाट बच्न पनि निकै संघर्ष गर्नुपर्यो । ४१ औं मिनेटमा एथ्लेटिक बिल्बाओका लागि मार्कोसले गोल गरेपछि १–० ले पछि परेको बार्सिलोनाको हार टार्नका लागि ८० हौं मिनेटमा मैदान छिरेका मुनिरले ८४ मिनेटमा गोल गरे । पहिलो हाफमा बेन्चमै बसेका मेसी ५५ औं मिनेटमा भिडाललाई बाहिर पठाउँदै मैदान छिरे पनि गोल गर्न सकेनन् ।
हालसम्म ७ खेल खेल्दा दुवै टोलीको समान नतिजा रहेको छ, ४ जित २ बराबरी, एक हार।
कडा प्रतिस्पर्धी मानिएका टोली बार्सिलोना र रियल मड्रिडको यस सिजनको ला लिगामा जितका लागि मात्रै नभएर हार र बराबरीमा पनि कडा प्रतिस्पर्धा गरे झैं देखिएको छ। रोनाल्डो बाहिरिएसँगै यसपाली कमजोर प्रदर्शन गर्ने आँकलन गरिएको रियल मड्रिडले सुरुका तीन खेलमा सानदार जित निकाल्दै फुटबल विश्लेषकहरू अनुमान गलत सावित गर्यो। चौथो खेलमा यथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो।
उतापट्टि रियल मड्रिडबाट रोनाल्डोको बहिरगमनसँगै उपाधिको एक्लो दाबेदार भनी चर्चा गरिएको डिफेन्डिङ बार्सिलनोनाले पनि लगातार सुरुका ४ खेलमा जित निकाल्दै शीर्ष स्थानमा पकड जमाएको बार्सिलोनालाई तेस्रो खेलमा रियल मड्रिड बराबरीमा रोकिएपछि राहत भएको थियो । पाँचौ खेलमा रियल मड्रिडले जित निकाल्दा बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकियो । दुवैको अंक बराबरी भयो।
त्यसपछिका दुई खेलमा दुवैले एकै दिन पराजित हुँदा र एक्कै दिन बराबरीमा रोकिँदा लिग रोमाञ्चक बनिरहेको छ । दुई खेलअघिसम्म पछाडि परेका सेभिल्ला र एथ्लेटिको मड्रिड, बार्सिलोना र रियल मड्रिडलाई चुनौती दिने स्थानमा देखिएका छन् । ७ खेल खेल्दा १४ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा छ । समान अंक रहेको रियल मड्रिड गोलअन्तरमा पछि परी दोस्रोमा छ । समान खेल खेलेको सेभिल्ला १३ अंकसहित तेस्रो र १२ अंक रहेको यथ्लेटिको मड्रिड चथौ स्थानमा रहेको छ । ६ मात्रै खेल खेलेको आलाभेजको ११ अंक छ, । आइतबार लेभान्टेको सामना गर्न लागेको आलाभेजले जित निकालेमा बार्सिलोना र रियल मड्रिडसँग अंक बराबरी गर्नेछ।
त्यसै गरी ९ अंक रहेका सेल्टाभिगो र रियल बेटिसले पनि ६ मात्रै खेल खेलेका छन् । रियल बेटिसले आइतबार लेगानेजसँग र सेल्टाभिगोले सोमबार गेटाफेसँग प्रतिस्पर्धा गर्दैछन् । आ–आफ्ना खेलमा जित निकालेमा यी टोली पनि शीर्ष स्थानको दौडमा खडा हुने देखिन्छ। ला लिगाको सर्वाधिक सफल(३३उपाधि) टोली रियल मड्रिड र दोस्रो सफल(२५उपाधि) टोली बार्सिलोनालाई अहिलेको अवस्थामा कम्तिमा अरु पाँच टोलीले चुनौती दिने देखिन्छ । यद्यपी अहिले लिगको सुरुवातकै अवस्था रहेकाले अहिले नै उपाधि होडबारे आँकलन गर्न भने सकिंदैन्।