बंगबन्धु गोल्ड कप : उपाधि रक्षाको अभियानमा नेपाल

बंगबन्धु गोल्ड कप : उपाधि रक्षाको अभियानमा नेपाल

काठमाडौं : साबिक विजेता नेपालले बंगबन्धु गोल्डकपमा मंगलबार ताजकिस्तानविरुद्ध खेल्दै आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्दै छ । अन्योलका बीच प्रतियोगिता खेल्न बंगलादेश पुगेको नेपालले मंगलबार समूहगत चरणको आफ्नो पहिलो खेलमा ताजकिस्तानको सामना गर्न लागेको हो ।

बंगलादेश फुटबल संघले गत वर्ष जितेको उपाधिको पूरा पुरस्कार रकम नदिएपछि प्रतियोगिता खेल्न नजाने अडानमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समयमा सहभागी हुने निर्णय गरेको थियो । बंगलादेशबाट बाँकी रहेको रकम २५ हजार डलर प्राप्त भएपछि एन्फाले प्रतियोगितामा आफ्नो राष्ट्रिय टोली पठाउने निर्णय गरेको थियो ।

सोही कारण नेपाली टोलीले प्रतियोगिताका लागि लामो समयको तयारीसमेत गर्न पाएको छैन । नेपाली टोली बंगलादेश जानुअघि मुस्किलले एक साताको बन्द प्रशिक्षणमा बसेको थियो । यद्यपि, नेपाली टोलीले प्रतियोगितामा उपाधि रक्षा गर्ने रणनीति सार्वजनिक गरेको छ । ‘सहभागी हुने÷नहुने अन्योलका बीच हामी चार÷पाँच दिनको तयारीमा यहाँ आएका छौं’, नेपाली राष्ट्रिय टोलीका अन्तरिम प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘यद्यपि हामी प्रतियोगिताको साबिक विजेता टोली हौं । प्रतियोगिताका लागि हामीले योजना बनाइसकेका छौं । त्यहीअनुसार खेल्ने छौं ।’

नेपाली टोलीले पछिल्लो केही समययता निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकाले छोटो अवधिको तयारीमा पनि प्रशिक्षक महर्जन राम्रो प्रदर्शन हुनेमा आशावादी देखिएका छन् । नेपाली टोलीले गत अगस्ट र सेप्टेम्बरमा इन्डोनेसियामा भएको एसियाली खेलकुद र त्यसपछि बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेलेको थियो । सो दुई प्रतियोगितामा सहभागी भएका खेलाडीहरू नै टोलीमा समावेश छन् ।

एक वर्षअघि बहराइनको यू–२३ टोलीलाई फाइनलमा ३–० गोलले पराजित गर्दै उपाधि जितेको नेपाल त्यही इतिहास दोहोर्‍याउने उद्देश्यसहित प्रतियोगिताको पहिलो खेलमा ताजकिस्तानको चुनौतीका लागि तयार भएको छ । यद्यपि ताजकिस्तान नेपालका लागि मुस्किल प्रतिद्वन्द्वी रहँदै आएको छ । नेपाल ताजकिस्तानविरुद्ध भएको आफ्नो पछिल्लो दुईमध्ये दुवै खेलमा पराजित छ । त्यसैले नेपाललाई आफ्नो उपाधि रक्षाको अभियानको पहिलो खेल नै मुस्किल देखिएको छ ।

सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोटअन्तर्गत गत वर्ष भएको तेस्रो चरणको छनोटको समूह एफको दुईमध्ये दुवै खेलमा नेपालले ताजकिस्तानसँग पराजय बेहोरेको छ । पहिलो खेलमा २–१ गोलले पराजित भएको नेपाल दोस्रो खेलमा ३–० गोलले पराजित हुन पुगेको थियो । त्यसैले नेपाललाई ताजकिस्तानविरुद्धको चुनौती पन्छाउँदै अघि बढ्न निक्कै मेहनत गर्नुपर्ने देखिएको छ ।

प्रशिक्षक महर्जनले ताजकिस्तान बलियो प्रतिद्वन्द्वी रहेको प्रति आफू सजग रहेको बताए । उनले ताजकिस्तानविरुद्ध कम्तीमा एक अंक भए पनि लिएरै छाड्ने बताए । ‘हामीले विगतमा ताजकिस्तानसँग खेलेका छौं । ती खेलको प्रदर्शनलाई विश्लेषण गर्दा पनि हामी ताजकिस्तानसँग सजग हुनुपर्ने अवस्था छ । ताजकिस्तान हामीभन्दा रणनीतिक र प्राविधिक रूपमा पनि बलियो देखिएको छ’, प्रशिक्षक महर्जनले भनेका छन्, ‘यद्यपि ताजकिस्तानसँग एक अंक भए पनि खोस्ने छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.