कालोपत्रे गर्नुपर्ने सडकमा टालटुल

कालोपत्रे गर्नुपर्ने सडकमा टालटुल

फिदिम : भत्किएर जीर्ण बनेको पाँचथर सदरमुकाम फिदिम बजारस्थित ठाडो लाइनको मुख्य सडक नयाँ सहर आयोजनाले टालटुल गर्न थालेको छ। कालोपत्रे गर्नुपर्ने सडकमा टालटुल गर्न थालिएको हो।

यसअघि नै कालोपत्रे गरिएको सडक भत्किएर खाल्डा परेका थिए। ‘यो सडकमा कालोपत्रे गरिनुपर्ने हो’, नयाँ सहर आयोजना फिदिमका सूचना अधिकृत रामप्रसाद सापकोटाले भने, ‘तत्काल कालोपत्रेको प्रक्रिया अघि बढाउन नसकिने भएकाले खाल्डा पुर्ने काम सुरु गरिएको हो।’

फिदिम बजारलाई आधुनिक सहर बनाउने उद्धेस्यका साथ नयाँ सहर आयोजनाले काम गरिरहेको फिदिमको मुख्य बजारमै सडकको बेहाल भएपछि स्थानीयहरु आक्रोशित बनेका थिए। उक्त सडक तत्काल कालेपत्रे गर्ने भनिएपनि नयाँ सहरले टालटुल गर्ने काम सुरु गरेको हो।

फिदिम बजारको गणतन्त्र चोकबाट माथिको चौबाटोमा भत्किएर खाल्डो परेको थियो। ठाडो लानका दुईतर्फ छुट्टिने सडकसहित लखन मार्ग र भानु मार्ग छुट्टिने चौबाटोमा भत्किएको सडक पनि टालटुल गर्न थालिएको छ। चाडबाडका बेला सवारी साधनको चाप अत्यधिक हुने र सम्भावित दुर्घटना रोक्न सडकका खाल्डा पुर्न लागिएको सापकोटाको भनाइ छ। ‘यो सडकलाई कालोपत्रे नै गर्ने हो’, उनले भने, ‘सम्भावित दुर्घटना रोक्न मात्र खाल्डा पुर्ने काम सुरु गरिएको हो।’

खाल्डा पुरेर कालोपत्रे गर्नुपर्ने कामबाट आयोजना भाग्न खोजेको स्थानीयको आरोप छ। दुई दिनमै भत्किने किसिमले खाल्डा पुरेर आयोजना पन्छिन खोजेको स्थानीय मुक्ति निरौलाले बताए। ‘यसरी खाल्डा पुरेको सडक दुई दिनमै भत्किन्छ’, उनले भने, ‘आयोजनाले काम देखाउनका लागि मात्र यसो गरेको हो।’

कालोपत्रे गर्नुपर्ने तत्कालको योजना रद्द भएको र बजेट पनि नभएकाले सडक टालटुल गर्नुपरेको सापकोटाले सुनाए। ‘तत्कालको योजना रद्द भयो’, उनले भने, ‘हामीसँग बजेट पनि नभएकाले भत्किएको सडक टाल्नुको विकल्प रहेन।’ उनका अनुसार आउँदो मंसिरमा यो सडक कालोपत्रेका लागि ठेक्का आह्वान गर्ने तयारी छ।

गणतन्त्र चोकबाट ठाडो लाइन हुँदै अस्थायी बसपार्कसम्म १ हजार ५ सय मिटर सडकमा भत्किएर खाल्डा परेका थिए। आयोजनाले वाईपीआर एसएएस जेभी निर्माण कम्पनीलाई खाल्डा पुर्न लगाएको छ। बजेट नभएका कारण उक्त कम्पनीलाई खाल्डा पुर्न सहयोग मागिएको आयोजनाले जनाएको छ। ‘खाल्डा पुर्न करिब ३ लाख रुपैयाँ खर्च होला’, उनले भने, ‘यो काम गर्न निर्माण कम्पनीलाई सहयोग मागिएको हो।’ यो सडक कालोपत्रे गर्न सर्भे भइसकेको छ। सडकको चौडाइ आठ मिटर हुने गरी कालोपत्रे गर्ने योजना रहेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.