बंगबन्धु गोल्डकप : साविक विजेता नेपाल ताजिकिस्तानसँग पराजित
काठमाडौँः बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तरगत आफ्नो पहिलो खेलमा साविक विजेता नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । बंगलादेशको सिलेटस्थित रंगशालामा भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल खाँदै नेपाल ताजिकिस्तानसँग पराजित भएको हो ।
समूह ए तर्फको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग २-० ले पराजित भएको हो । यो पराजयपछि नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । ताजिकिस्तानका लागि २-० को नतिजा निकाल्ने क्रममा २७ औं मिनटमा फाथुल्लो फाथुलोभले पेनाल्टीबाट गोल गरे ।
त्यस्तै ताजिकिस्तानले अर्को गोल दोस्रो हाफमा गर्यो । उसका लागि खेलको ७० औं मिनेटमा तुरुनोवले हेडबाट गोल गर्दै अग्रता २-० मा पुर्याए ।
ताजिकिस्तानसँग पराजित भएपछि समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा नेपालले जित निकाल्नै पर्छ । नेपालको अघिल्लो चरणको यात्रा बिहीबार ताजिकिस्तान र प्यालेस्टाइनबीच हुने खेलको नतिजामा पनि भर पर्नेछ ।