आठौं राष्ट्रिय खेलकुद माघमा

आठौं राष्ट्रिय खेलकुद माघमा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मंगलबार सम्पन्न बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्ने निर्णय गरेको छ । नुवाकोटको ककनीमा दुई दिनसम्म चलेको बोर्ड बैठकले भौतिक पूर्वाधार र अन्य केही प्राविधिक कारणले आठौं राष्ट्रिय खेलकुदको मिति दुई महिना सार्ने निर्णय गरेको हो । बैठकमा उपस्थित एक सदस्यका अनुसार माघ २५ देखि फागुन ३ सम्म आयोजना गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ ।

यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ सम्म मध्यपश्चिमाञ्चलको नेपालगन्जमा आयोजना गर्ने गरी मिति निर्धारण गरिएको थियो । ‘पहिले तोकिएकै समयमा पनि प्रतियोगिता आयोजना गर्न सकिन्थ्यो । तर, प्रतियोगितालाई अझ स्तरीय रूपमा आयोजना गर्न सकियोस् भनेर बोर्ड बैठकले माघ २५ देखि फागुन ३ सम्म आयोजना गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तोक्ने निर्णय गरेको छ’, ती बोर्ड सदस्यले अन्नपूर्णसँग भने । उनले भौतिक पूर्वाधार र अन्य केही प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको जानकारी दिए ।

यसैगरी युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले नेपालमै आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को मिति सार्न सम्बन्धित निकायसमक्ष प्रस्ताव राख्ने निर्णय पनि गरेको छ । युवा तथा खेलकुदमन्त्री राखेप बोर्डका अध्यक्ष पनि हुन् । बैठकले १३औं साग २०७६ सालको असोजमा आयोजना गर्न सकिने निष्कर्ष निकालेको जानकारी ती सदस्यले दिए ।

यसअघि सन् २०१६ को डिसेम्बर ३ मा काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ सम्म १३औं साग आयोजना गर्ने निर्णय गरेको थियो । २०७२ साल माघ २२ देखि फागुन ४ सम्म भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागको समापन समारोहमा १३औं साग आयोजनाको जिम्मेवारीसहित नेपाललाई झन्डा हस्तान्तरण गरिएको थियो ।

साग आयोजनाको मिति तोक्ने अधिकार भने दक्षिण एसियाली ओलम्पिक काउन्सिलसँग छ । नेपालले १३औं साग आयोजनामा ढिलाइ गरेपछि हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिताका क्रममा जकार्तामा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले पनि नेपाली खेल अधिकारीसँग आधिकारिक धारणा माग गरेको थियो । नेपालले आयोजना गर्न असमर्थता जनाए १३औं साग आयोजनाका लागि आफू तयार रहेको       श्रीलंकाले जनाउँदै आएको छ । १३औं सागमा २५ वटा खेल समावेश गर्ने निर्णयसमेत भइसकेको छ ।

यसैगरी राखेप बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुदका लागि विभिन्न उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को आधिकारिकताका विषयमा समेत कुरा उठेको ती बोर्ड सदस्यले जानकारी दिए । ‘बैठकमा नेपाल ओलम्पिक कमिटीको आधिकारिकतासम्बन्धी विवादलाई समाधान गर्ने विषयमा पनि छलफल भयो’, उनले भने ।

नेपालमा लामो समयदेखि दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा छन् । रुक्मशमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएको छ भने जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को मान्यता प्राप्त छ । सर्वोच्च अदालतले फैसला गरेको आठ वर्ष बितिसक्दा पनि अदालतको फैसला भने कार्यान्वयनमा आउन सकेको छैन ।

‘ओलम्पिक कमिटीको आधिकारिकतासम्बन्धी विवाद १३औं दक्षिण एसियाली खेलकुदको आयोजनासँग पनि जोडिने भएकाले यो विषय समाधान गरेर अगाडि बढ्नु आवश्यक रहेको भनेर बैठकमा छलफल भयो’, ती अधिकारीले भने । यसका अतिरिक्त विभिन्न खेलकुद संघमा देखिएको विवाद समाधान गर्ने विषयमा पनि बैठकमा गहन छलफल भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.