मेची सीमामा सशस्त्र
इलाम : नेपाल–भारत सीमा क्षेत्रको पशुपतिनगर नाकामा सशस्त्र प्रहरी तैनाथ हुने भएको छ। सीमा सुरक्षा, सीमास्तम्भ हेरचाह, तस्करी नियन्त्रणको कार्यभारसहित एक साताभित्र सशस्त्र खटिन लागेको हो। भारतीय पक्षले दशकदेखि सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरे पनि नेपालतर्फको क्षेत्र सुरक्षाविहीन थियो। सीमास्तम्भ हराउँदा खोजीका लागि स्थानीयले नै पहल गर्नुपर्ने अवस्था रहेको इलाममा ५२ किलोमिटर सीमा क्षेत्रमा अतिक्रमणसमेत बढ्दै गएको थियो।
सशस्त्र प्रहरी इलामका एसपी विदुर खड्काका अनुसार पशुपतिनगरको पुरानो भन्सार कार्यालयमा इन्स्पेक्टरको कमान्डमा ३५ जनाको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने तयारी अन्तिम चरणमा पुगेको छ। भन्सारसँग भवनका विषयमा कुराकानी भए पनि टुंगो लाग्न बाँकी रहेको उनले बताए। इलामका लागि पशुपतिनगरसहित मानेभञ्ज्याङ, सन्दकपुर र छब्बिसेमा बीओपी राख्न प्रस्ताव गरिए पनि पहिलो चरणमा एउटा स्वीकृत भएको उनको भनाइ छ।
सशस्त्रले दुई वर्षअघि तयार पाएको प्रतिवेदनमा इलामको नेपाल–भारत सीमा क्षेत्रमा ३९ वटा मुख्य र सहायक सीमास्तम्भ हराएको उल्लेख छ। एउटा जंगे पिलर, १३ वटा मध्यम पिलर र २५ वटा साना पिलर हराएको सशस्त्रले जनाएको छ। अब अलपत्र सीमास्तम्भको हेरचाह सशस्त्र प्रहरी पोस्टले गर्ने भएको छ। यसअघि नेपालतर्फ सीमास्तम्भ हेर्ने सुरक्षा इकाइ तैनाथ थिएन। भारतले भने प्रत्येक एक किलोमिटरमा सीमा सुरक्षा बल राखेको छ।
नौ ठाउँमा अझै सीमा विवाद
इलामका नौ स्थानमा अहिले पनि भारतसँग सीमा विवाद देखिएको छ। भारतीय पक्षले सूर्योदय–२ र राङवाङ ग्राम पञ्चायतको बीचमा रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत गर्नेे भन्दै पक्की संरचना बनाएको छ। पशुपतिनगर आएको नापी विभागको टोलीले सीमास्तम्भबाट भारततर्फको दसगजामा पर्ने क्षेत्रमा निर्माण गर्न लागिएको गुम्बा ‘नोमेन्स लेन्ड’मै परेको प्रतिवेदन दिएको थियो।
सहायक सीमास्तम्भ ७१/७ र ७१/८ को बीचमा रहेको गुम्बा भारततर्फको दसगजा क्षेत्रमै परेको छ। अन्तर्राष्ट्रिय सीमा नियमअनुसार दुवै देशले रेखदेख गर्नुपर्ने तर मानवीय क्रियाकलाप गर्न पाइँदैन। सीमास्तम्भबाट नेपालतर्फ ३० फिट र भारततर्फ ३० फिट क्षेत्र खाली राख्नुपर्ने नियम छ। फाटकमा नेपाली भूमिमा चार वर्षदेखि भारतीय प्रहरीको पोस्ट् राखिएको छ भने दसगजामै भन्सार कार्यालय बनाएको वर्षौं भइसकेको छ। त्यहाँ भारतीय प्रहरीको चमेनागृहसमेत बनाइएको छ। सूर्योदय–२ टासीगाउँमा एसएसबीले दसगजा मिचेर तारको बार लगाउन थालेपछि स्थानीय प्रशासनले पत्र दिएरै काम रोक्न लगाएको थियो।
इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा दसगजा क्षेत्रमा भारतीयले घर बनाएका छन् भने सन्दकपुर पुग्ने अधिकांश सडक नेपालभित्र बनाइएका छन्। मानेभञ्ज्याङ सिमाना बजारमा दसगजा अतिक्रमण गरी घर बनाइएको सशस्त्रको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार सूर्योदय नगरपालिकामा पर्ने पुरानो पशुपतिनगर–५ पुलखोलामा दसगजाभित्रै एसएसबी क्याम्प खडा गरेर बसेको छ। पशुपतिनगर–४ को सीमास्तम्भ ७१÷९ सँगै पश्चिम बंगाल प्रहरीले दसगजाभित्रै पक्की भवन बनाएको छ भने पेनलमा दसगजासमेत नछोडी एसएसबीले पोस्ट् खडा गरेको जनाइएको छ।
त्यस्तै, पशुपतिनगर–४ को हिलेमा नेपालीको घर नै भारततर्फ पर्ने गरी सीमास्तम्भ गाडिएको थियो। उक्त स्तम्भ गायब भएको छ। गुफा पातलमा दसगजामै एसएसबी पोस्ट् राखिएको छ। छब्बिसेमा भारतीय पक्षले नेपाली भूमिमा जवाहरलाल नवोदय विद्यालय र खेल मैदानसमेत नेपालतर्फ बनाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रको उपस्थितिले मानव तस्करी नियन्त्रणमा पनि सहयोग पुग्ने माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालको विश्वास छ।
स्तरोन्नतिसँगै बासस्थान अभाव
सशस्त्र प्रहरी बल इलामको स्तरोन्नति भएसँगै बासस्थान अभाव भएको छ। यसअघि गुल्म रहेको इलाममा गण भएपछि सशस्त्र प्रहरीको संख्या ५ सयभन्दा बढी पुगेको छ। गुल्म रहँदा २ सय ४७ जनाको मात्र दरबन्दी थियो। अहिले महिला विकास कार्यालयको भवन, मालपोतको पुरानो भवन पनि उपयोग गर्न थालिएको सशस्त्रले जनाएको छ। एसपी खड्काले गणको स्थायी बासका लागि पनि जग्गाको पहल सुरु भएको बताए।
प्रतिक्रिया दिनुहोस !