कृष्णनगरको राजस्व लक्ष्यभन्दा कम
तौलिहवा : कृष्णनगर भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको प्रथम दुई महिनामा लक्ष्यअनुसार राजस्व असुल गर्न असफल भएको छ। साउन र भदौमा लक्ष्यअनुसारको राजस्व उठ्न नसकेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले जानकारी दिए।
गत वर्षको अघिल्लो महिनाको राजस्व असुली अनुपातमा हेर्दा यस वर्षको सुरुवाती दुई महिनाको राजस्व असुली बढी नै देखिए पनि वार्षिक लक्ष्यअनुसार राजस्व असुली कम भएको खड्काले बताए। भन्सार नाकाबाट धेरै राजस्व असुल हुने कच्चा पदार्थ क्लिंकरबाट हो। सिमेन्ट उद्योगको कच्चा पदार्थ यो नाका हुँदै घोराही सिमेन्टसम्म विगतमा जाने गरेको थियो। अहिले घोराही सिमेन्टले आफ्नै प्लान्टबाट क्लिंकर उत्पादन गर्न लागेकाले त्यो घटेको कार्यलयको दाबी छ।
क्लिंकर प्लान्टलाई अपग्रेड गरेर घोराही सिमेन्टले अन्य सिमेन्ट उद्योगलाई क्लिंकर पठाउन थालेपछि भारतबाट आयात हुने क्लिंकरमा कमि भएको भन्सार प्रमुख खड्काले बताए। वार्षिक लक्ष्य पूरा गर्न अन्य आधार पनि भएको प्रमुख खड्काले बताए। भन्सारमा राजस्व असुली भएन भन्ने चिन्ताभन्दा पनि देशमै कच्चा पदार्थ उत्पादन सुरु भयो भन्नेमा हामी खुसी भएको प्रमुख खड्काको भनाइ छ।
कृष्णनगर भन्सार कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्यसंग भर्खरै ठूलो भन्सारका रूपमा सञ्चालनमा आएको सुठौली भन्सार कार्यालय पनि जोडिएको छ। यस वर्ष सुठौली भन्सार कार्यालयलाई पहिलो वर्ष भएर १५ करोडको मात्रै लक्ष्य दिइएको छ। चालू आवमा यो भन्सारले आठ अर्ब सात करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया दिनुहोस !