रुम्जाटार विमानस्थलको उडान अझै अनिश्चित
ओखलढुंगा : ओखलढुंगाको एक मात्र विमानस्थल रुम्जाटारमा दुई वर्षपहिले अवरुद्ध भएको उडान अझै अनिश्चित छ। निर्वाचनताका दलका नेताले उडान सूचारु गराउने प्रतिबद्धता समेत जनाएका थिए। विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्ष बितिसकेको छ।
सरोकारवाला निकायले चाँसो नदिएपछि रुम्जाटार विमानस्थलको उडान अनिश्चित भएको हो। सिद्धिचरण नगरपालिका- ४ मा पर्ने उक्त विमानस्थलको उडान नियमित गर्ने वर्तमान मेयर मोहन श्रेष्ठको मुख्य कार्यसूची थियो। रुम्जाटारकै प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङले पनि मुख्य चुनावी एजेण्डा बनाएका थिए। तर, चुनावपछि कसैले चाँसो नदिँदा उडान सूचारु हुन सकेको छैन।
यात्रु अभाव भएको बहाना नेवाल वायु सेवा निगमले रोकेको उडान सूचारु गर्न निमगसमक्ष नगरपालिकाले आग्रह गरे पनि सुनुवाइ भएको छैन। सांसदसहित निगमका प्रमुखसँग छलफल भए पनि उडान सूचारु नभएको सिद्धिचरणका मेयर मोहन श्रेष्ठले बताए। उनले उडान सूचारु गर्न पहल भइरहेको बताए।
अहिले रुम्जाटार विमानस्थल घुमघाम गर्ने र खोटाङ र सोलुतिर उडान भर्दा समस्या आए ल्याण्ड गर्ने स्थल मात्रै बनेको छ । विमानस्थल कालोपत्रे गरिएको भएपनि दुई वर्षपहिदेखि उडान अवरुद्ध छ।
यो विमानस्थलमा पूर्वी पहाडमा हवाई इन्धन केन्द्र बनाउन समेत उपयुक्त भएको विज्ञले बताए पनि वायु सेवा निगमको वेवास्ताका कारण चल्न नसकेको हो।चाडबाडका समयमा सवारी साधन रिर्जभ गरेर ओखलढुंगा आउनुपर्ने सर्वसाधारणलाई रुम्जाटारमा उडान भए जिल्ला आवजाउ गर्न सजिलो हुन्थ्यो।
रुम्जाटारमा उडान नहुँदा यात्रुले सेवा पाउनु त परको कुरा अस्पतालबाट रिफर गरिएका बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य छन्। जिल्लाको समस्या समाधान गर्न वायु सेवा निगम र मन्त्रालयसँग कुरा भइरहेको सांसद यज्ञराज सुनुवारले बताए।
स्थानीयले विमानस्थल संचालन गराउन माग गरे पनि विभिन्न बाहनामा निगमले उडान सुरु गरेको छैन।जिल्लाको पूर्वी क्षेत्रमा सेवा दिने विमानस्थल बन्द छ भने पश्चिमी क्षेत्रका लागि खिजीदेम्वा गाउँपालिकामा निर्माणाधीन विमानस्थल आधा काम नहुँदै अलपत्र अवस्थामा छ।
प्रतिक्रिया दिनुहोस !