टोलाएका ती आँखा...
७३ वर्षको यो मानवीय भूमिका निर्वाह गरिरहेकी वानीरालाई अहिलेको असामान्य परिस्थितिमा हेरिरहँदा पनि यही लाग्छ, यतिखेरै पनि उनका एकोहोरा आँखाहरू कविता नै लेखिरहेका छन्।
एउटा कविता थियो त्यो, जसको कारण उनको यो जीवनको आधारशिला तयार भयो।
– ‘कुन कविता हो त्यो ? ’
‘नैतिकता’, त्यो मेरो कविताको शीर्षक थियो,’ डा. वानीरा गिरी नेपाल–भूमिको प्रवेश–बिन्दु बनेको आफ्नो त्यो कविताको कथा बताउँछिन्– ‘सन् १९६४ को एक दिन थियो त्यो, जसले मेरो नेपाल–प्रवेशको द्वार खोल्यो।’
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘कविता महोत्सव’मा आकस्मिक रूपले उनको कविता पुरस्कृत बन्यो। र, त्यही पुरस्कृत कविताबापत पाइने पुरस्कार लिन उनी नेपाल आइन्।
सम्भवतः बालकृष्ण समले यत्तिकै भनेका थिएनन्– ‘नियमित आकस्मिकता’।
०००
त्यसो त हामीलाई लाग्छ– कुनै पनि घटना /परिघटना आकस्मिक हुन्छन्। ती सूचना दिएर आउँदैनन्। तर सम भन्छन्– नियमित आकस्मिकता। अर्थात् घटना घट्नुका पछाडि कुनै न कुनै कारण हुन्छ र त्यही कारणको अन्तिम परिणाम नै घटना /दुर्घटना हुनु हो।
सम्भवतः यही भनाइ लागू भयो– वानीरा गिरीको जीवनमा। जसरी आकस्मिक रूपले उनलाई भारतको खर्साङ छाड्नुपर्ने परिवेश उनको एउटा कविताले बनायो, आजको मितिमा फेरि आकस्मिक तवरले उनको जीवनमा अर्कै मोड ल्याइदियो।
फरक के छ भने कविताको आकस्मिकताले जीवनमा खुसी दिएको थियो भने आजको आकस्मिकता नमीठो रूपमा प्रस्तुत भएको छ। कुनै संकेतसम्म थिएन, तर यस्तो प्रकारको समयको तानाबाना निकै अघिदेखि नै बुनिसकेको रहेछ नियतिले। आज उनी औषधि–विज्ञानको क्षेत्रमा पूर्ण रूपले स्पष्ट हुन नसकेको ‘डेमेनिया’बाट ग्रसित छिन्। केही डाक्टरको मत छ– ‘यो अल्जाइमरको प्राथमिक चरण हो।’ तर, कोही डाक्टरले भनेका छन्– ‘अल्जाइमरसँग यसको कुनै सम्बन्ध छैन।’
रोगको नाम जेसुकै दिऊन् डाक्टरहरूले, त्यो नाम गौण छ; तर यो वास्तविकताको नाम अत्यन्तै नमीठो छ– ‘पीडा’।
०००
‘दिदी नमस्ते !’ कोठाभित्र प्रवेश गर्नासाथ ढोकैबाट, दोस्रो व्यक्तिको सहायतामा डोरिँदै आएकी उनलाई मैले अभिवादन गरेँ।
तर, सधैंझैं मुस्काउँदै फर्काउने उनको आकर्षक ‘नमस्ते भाइ’को प्रत्युत्तर आएन।
‘चिन्नुभएन दिदी ? ’ उनको अनुहार नियालेँ मैले। तर अहँ, उनले कुनै प्रतिक्रिया जनाइनन्। एकोहोरो मेरो अनुहारमा हेरिरहिन्।
अहँ, सदासर्वदा देखिने कुनै रौनक थिएन उनको ओजस्वी मुहारमा।
‘कस्तो नचिनेको तिमीले ? तिम्रो ‘पर्वतको अर्को नाम पार्वती’को सम्पादक–भाइ होइन, उहाँ ? ’ सँगै रहेका उनका पति शंकर गिरीले अलिक ठूलो आवाजमा मेरो परिचय दिए।
‘ए... चिनेकै भाइ हुनुहुँदो रहेछ।’ बल्ल उनको बोली फुट्यो। मुहारमा किञ्चित हल्का मुस्कानसमेत देखियो ,
फेरि पछिल्लो पटक–
पूरै ‘बेड रेस्टमा थिइन् उनी। बाथरुम जाँदा लडेपछि नलिखुट्टानिर अलिकति ‘क्य्राक’ देखियो। र, डाक्टरको सल्लाह मुताबिक केही दिनपछि ‘फिजियोथेरापी’ गर्ने तयारीमा थिइन्।
‘दिदी !’
मेरो सम्बोधन शायद सुनिन् उनले। यस्तै लाग्यो। त्यसैले अर्कोपटक फेरि बोलाएँ। तर, अहँ, उनको मुहारमा कुनै ठोस प्रतिक्रिया थिएन। बरु मलाई महसुस भयो–टोलाइएका उनका आँखाहरूमा एकसाथ हजार भूकम्पका धक्का तरंगिरहेका थिए। मैले मेरा सम्पादनका ‘शारदा’ केही प्रतिहरू देखाएर भनेँ– ‘हेर्नुस् त !’
यस्सो हेरेजस्तो त गरिन् उनले। तर, यसपटक पनि प्रतिक्रियाविहीन।
शारदाकै कुरो गर्दा,
२०६३ सालको फागुन ९ गते शारदा पुनर्प्रकाशनको विमोचनको अघिल्लो साँझ मैले टेलिफोन गरेको थिएँ– ‘भोलि शारदाको विमोचन, दिदी आइदिनु होला !’
तर मेरो आग्रहलाई लत्याउँदै उनले बडो कटुतापूर्ण शैलीमा भनिन्– ‘निम्तो–पत्रबिना त म आर्यघाट पनि जान्नँ।’
म उनको त्यस्तो स्वभावबाट भलिभाँती परिचित थिएँ। तथापि त्यस्तो स्वभावलाई मैले कहिल्यै नकारात्मक तवरले बुझिनँ। जानेरै–बुझेरै उनको त्यस खालको चरित्रलाई मैले सदैव सकारात्मक अर्थमा लिने गरेको छु। त्यसो त, उनको चरित्रप्रति आक्षेप लगाउँदै उनलाई अभिमानी भन्छन् प्रायः मान्छेहरू। तर, किन हो मलाई भने कथित उनको त्यही अभिमान नै प्रिय लाग्ने गर्छ। यति हुँदाहुँदै पनि त्यतिखेरको भने उनको वचनलाई मैले आफूभन्दा पनि शारदाप्रतिको अपहेलना ठहर्याएँ। त्यो किन पनि भने, शारदाको त्यो प्रवेशांकको पहिलो पृष्ठमै मैले उनको कविता छापेको थिएँ– ‘सखा ! जून र घाम पनि हौ तिमी’। त्यसैले मैले उनको ‘भाइ’ हुनुको नाताले भन्दा पनि शारदाको सम्पादकको हैसियतले आफ्नो अधिकार प्रस्तुत गरेँ– ‘ठीक छ, तपाईं नआउनुहोला। तपाईंको छापेको कविताको पृष्ठ च्यातेर शारदाको विमोचन गराउँछु।’
भोलिपल्ट, शारदाको विमोचनको तयारीबीचमै तोकिएको समयभन्दा अघि नै विमोचन–स्थल प्रज्ञा–प्रेक्षालयमा उनको उपस्थिति देखियो। मनमनै मैले आफू विजय बनेको ठाने पनि कताकता भित्र मनमा ग्लानि महसुस भयो– यस्ती मायालु दिदीको कस्तो चित्त दुखाएँ मैले !
०००
उनको लामो कतिाको किताब ‘मेरो आविष्कार’ सम्भवतः २०४० सालघि नै पढेको हुँ। उनको कविता लेख्ने शैली मात्रै होइन, कवितावाचन गर्ने शैलीबाट पनि म त्यतिखेरैदेखि आकर्षित थिएँ।
झन्झन् कविता–अनुरागी बनाउँदै लगेको समयले मलाई उनको अझ समीप पुर्यायो। एक दिन समय नलिइकनै मैले कवयित्री गीता पन्थलाई साथ लिएर उनको कवितासंग्रह ‘ढलेको साँझ’का लागि भूमिका लेखाउन उनको निवास पुगेँ।
हामीलाई सहर्ष स्वागत गर्दै उनी बोलिन्– ‘म समयलाई अत्यन्तै महत्व दिन्छु। मेरो समयले मलाई स्वीकृति नलिएको बेला म कसैसँग पनि भेट्दिनँ। तर, तपाईंका लागि मेरो घरको द्वारमात्रै होइन मेरो हृदय सधैं खुला छ भाइ।’
कति पटक मलाई उनले आफूले प्राध्यापन गर्ने पद्मकन्या कलेजमा बोलाएर नजीकैको विमला स्विट्समा एकल ‘कविता विमर्श’ मा सहभागी गराएकी छिन्। यसरी, उनीसँग मेरो कविता–प्रेम यतिसम्म झांगियो कि केही वर्षअघि म मेरा मित्र डा. दुबसु क्षेत्रीको आतिथ्यमा जापान पुगेर आएपछि उपहारस्वरूप मैले त्यहाँबाट ल्याएको एउटा सामान्य ‘किलिप’ दिदीलाई दिएको थिएँ।
बडो हार्दिकतासहित त्यो किलिपलाई छातीमा टाँस्दै उनले मप्रति प्रेम–भाव दर्शाएकी थिइन्– ‘भाइ, तपाईंको यो प्रेमको उपहार म सिउरेर मर्नेछु।’
एक प्रसंग–
वानीरा गिरीको एउटा कविता–संग्रह छ– ‘काठमाडौं काठमाडौं’। पुस्तकभित्र– सुरुमै उनले एउटा ‘विशेष धन्यवाद ज्ञापन’ गरेको पृष्ठ पढ्न पाइन्छ। जसमा यस्तो भनिएको छ ‘... धन्यवाद ! प्राज्ञ, तिलविक्रम नेम्बाङ उर्पm बैरागी काइँलाज्यू ! कमसेकम मुसाको आहार भएन रहेछ। के यो सानु उपलब्धि हो र मेरो निम्ति ? ’
त्यो धन्यवाद ज्ञापनको पूरै बेहोरा पढेपछि थाहा हुन्छ– वि.सं. २०५५ सालमै तत्कालीन प्राज्ञ बैरागी काइँलाले त्यसको पाण्डुलिपि एकेडेमीबाट छापिदिने वचन दिएका रहेछन्। तर १२ वर्षपश्चात् उनै काइँला कुलपति रहेको समयमा ‘काठमाडौं काठमाडौं’को पाण्डुलिपिलाई सोही रूपमा फर्काइएछ। उनले सोचिन्– ‘यो मेरो कविताको अपमान हो। त्यसभन्दा बढी एउटा भावुक कविको विश्वासमाथि अर्को पाखण्डी कविले गरेको खेलबाड हो।’
केही वर्षपछि २०५८ सालमा २०६८ मा यही पुस्तक रत्नपुस्तक भण्डारले छाप्यो। लगत्तै रत्न पुस्तकबाटै २०६९ मा निबन्धसंग्रह ‘जंगल जंगल’ र २०७१ मा यात्रा–यात्रा विधाका रूपमा ‘रोकिनेले आकार दिन सक्दैन’ प्रकाशित भयो। त्यसो त २०६७ सालमै रत्न पुस्तकले मेरो सम्पादनमा उनको निबन्धसंग्रह ‘पर्वतको अर्को नाम पार्वती’ छापेको थियो। यी पुस्तकका अलावा अन्य पुस्तकका नाम यी हुन्–
‘जीवन थायमरू’, ‘शब्दातीत शान्तनु’, ‘कारागार’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’, ‘निर्बन्ध’, ‘मेरो आविष्कार’। अंग्रेजीमा, ‘द प्रिजन’, ‘माइ डिस्कवरी’, ‘फ्रम द लेक, लभ’, ‘फ्रम द अदर इन्ड।’
०००
गोपालप्रसाद रिमालका कविताका अत्यन्तै ठूला ‘फ्यान’ हुन् उनी। रिमालका कविताबाट यति प्रभावित र मोहित थिइन् कि अन्ततः रिमालकै कविता–विषयक उनले विद्यावारिधि गरिन्। आफ्नो विद्यावारिधिप्रति अत्यन्तै गर्व गर्छिन्। र, त्यसमा एउटा सन्दर्भ जोड्छिन्– ‘एउटा पत्रिकाले कुनै प्रसंगमा एउटा समाचार बनाएको थियो, जसमा तीन जना ‘साहित्यिक डाक्टर’को फोटो र नाम छापिएका थिए। तर, पत्रकार–बन्धुले खोइ किन हो दुई पुरुष–डाक्टरको फोटो दुई छेउमा राखेर त्यसमुनि ‘डा.’ लेखेका थिए, तर बीचमा मेरो फोटो राखेर केवल नाम मात्रै लेखेका थिए।’
पुरुष–पत्रकारको त्यो लापरबाहीलाई ‘सबक’ सिकाउन उनी पत्रिकाको कार्यालयमै पुगेर त्यसको स्पष्टीकरण मागिछन्। लज्जित पत्रकारले दुई हात जोडेर उनीसँग माफी मागेछन्। वानीरा भन्छिन्, ‘मैले कसैसँग भीखमा मागेको मेरो पदवी होइन त्यो, न कसैसँग खोसेको हुँ। आफ्नो कविता–योग्यताले, आफ्नो परि श्रमले प्राप्त गरेको त्यो पदवी मेरो ‘शिरको ताज’ हो, मेरो ‘ श्रीपेच’ हो।... कसैसँग पनि त्यसलाई जिस्क्याउने, अपहेलना गर्ने वा त्यसप्रति ईर्ष्या गर्ने अधिकार छैन।’
०००
७३ वर्षको यो मानवीय भूमिका निर्वाह गरिरहेकी वानीरालाई अहिलेको असामान्य परिस्थितिमा हेरिरहँदा पनि यही लाग्छ, यतिखेरै पनि उनका एकोहोरा आँखाहरू कविता नै लेखिरहेका छन्। सन्दर्भवशः कविता शैलीमा ‘पर्वतको अर्को नाम पार्वती’मा उनी आफैंले लेखेका भूमिकाका केही अंश–
‘मेलम्ची आफ्ना फुपूहरूझैं, दिदीहरूझैं
सधैं–सधैंका निम्ति बिदेसिने छे, बेपत्ता हुनेछे
कामतीपुर, भाण्डुप, फकल्यान्ड गल्लीतिरका
आफ्ना साथीसँगीका फोहोरहरू पखाल्दै–पखाल्दै
महासागरमा पुग्दा–नपुग्दा
के हुनेछ पहिचान उसको ? ...’