हेडसरदेखि अख्तियारसम्म
सूर्यनाथ देशको अवस्थाप्रति चिन्तित छन्। नेपालको सबैभन्दा ठूलो समस्या प्रतिबद्धताको कमी देख्छन् उनी। भन्छन्, ‘देश भनेको एउटा संस्था हो। यो संस्था चलाउन प्रतिबद्धता चाहिन्छ।’
...त्यसपछि राजा वीरेन्द्रले भन्नुभयो, ‘तिमी त जलस्रोत कानुन पढेको मान्छे। कसरी आयौ अख्तियारमा ? ’ मैले भनेँ, ‘सरकार ! सबैजनाले आउनैपर्छ भने। मलाई पनि केही गरौं भन्ने लाग्यो।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले १८ वर्षअघिको भेटघाट सम्झिए। राजाले उनलाई भनेका थिए, ‘राम्रोसँग काम गर। केही अप्ठ्यारो परे भन्नू।’
विसं २०५७ देखि २०६३ सम्म अख्तियार प्रमुख बनेका उनीसँग सम्पत्ति जाँचबुझ तथा छानबिन आयोगले बुझाएको प्रतिवेदन थियो। प्रतिवेदनमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएका नेतादेखि कर्मचारीसम्मको लामो सूची थियो।
अख्तियारमा पुगेपछि सबैभन्दा पहिला उनले नयाँ ऐन बनाए। अफिस भद्रगोल थियो। उनकै अगुवाइमा नक्सालमा नयाँ अफिस बन्यो। सम्झन्छन्, ‘अफिसमा फोटोकपी मेसिनसम्म थिएन। कर्मचारी नियुक्त गरेँ। देशका लागि केही गरौं भन्ने प्रतिबद्ध कर्मचारी पाएँ। मन्त्रीले पनि मद्दत गरे।’ आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीसहित सिंगो टिमकै ठूलो देन रहेको उनी सम्झन्छन्।
अफिसको आन्तरिक काम सकिएपछि मुख्य मिसनतर्फ उनी अघि बढे। सम्पत्ति जाँचबुझ आयोगले कार्यान्वयनका लागि बुझाइएको सूची अगाडि राखे। सूचीमा जयप्रकाश गुप्ता, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेदेखि राजस्वका सयौं कर्मचारीको नाम थियो। काम निकै चुनौतीपूर्ण भए पनि असम्भव देखेनन्। त्यसपछि प्रतिवेदनको आधारमा एक–एकजनालाई बोलाउँदै केरकार गर्न थाले। भन्छन्, ‘जसको ठीक छ, उसलाई छाड्ने र जसको सम्पत्ति बढी देखियो, उसलाई मुद्दा लगाउँदै गयौं।’
पूर्वमन्त्रीदेखि नेतासम्म भटाभट पक्राउ पर्न थालेपछि हल्लीखल्ली मच्चियो। राजनीतिक पार्टीभित्र त्यो सूचीले हंगामा नै मच्चायो। सूचीमा कांग्रेसका नेता धेरै परेको र एमालेका नेता नपरेको भन्दै असन्तुष्टिका आवाज पनि सुनिए। तर, उनले बाहिरी हल्लाको मतलब गरेनन्। त्यो क्षण सम्झिँदै भन्छन्, ‘हामीले लिस्टबमोजिम काम गरेका थियौं। कसैसँग लिनुदिनु थिएन।’
कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काले पदमा रहँदा करोडौं भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले २०५९ मा विशेष अदालतमा मुद्दा दायर गर्यो। खड्कालाई सर्वाेच्चले भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद तथा ९४ लाख ७४ हजार बिगो जरिवानाको फैसला सुनायो। उनकै नेतृत्वमा अर्का कांग्रेस नेता चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै ०५९ मा विशेष अदालतमा मुद्दा दायर गर्यो। चार वर्षपछि अदालतले वाग्लेलाई दुई करोड ७२ लाख बिगो, सोही बराबर जरिवाना र दुई वर्ष ६ महिना कैद सजाय सुनायो। भ्रष्टाचारीको सूचीमा थिए, अर्का नेता जयप्रकाश गुप्ता। उनलाई ८४ लाख नौ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै ०६० मा आयोगले विशेष अदालतमा मुद्दा दायर गर्यो। मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। अन्ततः सर्वोच्चकै आदेशमा गुप्ता जेल चलान भए।
पूर्वमन्त्री तथा ठूला नेताहरूलाई भ्रष्टाचार ठहर गरी जेल जलान गरेपछि आयोगले अनुसन्धान थाल्यो, राजस्वका कर्मचारीमाथि। राजस्वमा काम गर्ने खरदार तहका कर्मचारीले पनि पाँच तलाको बिल्डिङ बनाउँछन् भन्ने कहावत समाजमा व्याप्त थियो। त्यसको सत्यतत्थ्य पर्दाफास गर्नु थियो। उनी भन्छन्, ‘हामीले राजस्वमा काम गर्ने कर्मचारीमाथि गोप्य ढंगले अनुसन्धान थाल्यौं।’ अन्ततः उनकै नेतृत्वमा राजस्वका २२ जना कर्मचारी कारबाहीमा परे।
उनले अख्तियारमा काम थालेको वर्ष दिन नबित्दै दरबार हत्याकाण्ड भयो। सिंहासनमा ज्ञानेन्द्र आसीन भए। ज्ञानेन्द्रको ‘कु’पछि काम गर्न असहज भएको सूर्यनाथ बताउँछन्। भन्छन्, ‘ज्ञानेन्द्रले शासन लिएपछि मलाई टेन्सन दिए।’ शाहीकाल सम्झन्छन्, ‘राजा सबै राजनीतिक पार्टीका नेताहरू थुन भन्थे। त्यत्तिकै थुन्न हुँदैन भन्थेँ म।’ त्यसपछि ज्ञानेन्द्रले सूर्यनाथको काम चित्त नबुझेर ‘शाही आयोग’ नै गठन गरे। आयोगलाई गैरकानुनी ठहर गर्दै अदालतले खारेज गरिदियो। ‘उहाँसँग भेट भएन’, उनी भन्छन्, ‘सहयोगीमार्फत खबर आउँथ्यो, उनी मेरो कामबाट सन्तुष्ट छैनन् भन्ने। तर, म सबैलाई थुन्दा राजतन्त्रलाई अप्ठ्यारो पर्छ भनेर खबर पठाउँथे।’
यसरी पुगे अख्तियार
विसं २०५५ मा सरकारी सेवाबाट अवकाश लिएर ‘रिटायर्ड लाइफ’ बिताइरहेका थिए। निवृत्त जीवन सुरु हुनुअघि उनी कृषि मन्त्रालयका सचिव थिए। निवृत्तिपछि केही साथीसहित ‘जलस्रोत विकास संस्था’ नामक एनजीओ खोलेर काम गरिरहेका थिए। मासिक लाखौं कमाउँथे। तर, देशमा अनियमितता, भ्रष्टाचार मौलाएको देख्दा उनलाई दुःख लाग्थ्यो। भन्छन्, ‘देशमा भ्रष्टाचार मौलाएको थियो। देशको अवस्थाले मनै खिन्न बनाउँथ्यो। केही गर्न सकिएन भन्ने लागिरहन्थ्यो।’
एक बिहान अखबार पढिरहेका थिए। अख्तियार प्रमुखको रिक्त पदका लागि सम्भावित पाँचसात जनाको नाम लेखिएको समाचार पढे। सम्भावित नाममा उनको पनि नाम थियो। उनले समाचारलाई खासै महत्वपूर्ण ठानेनन्। तर, समाचारपछि उनको नामसहित गाँइगुइँ हल्ला चल्न थाल्यो। भन्छन्, ‘हल्ला चल्न थाल्यो, रोकिएन। तर ‘मलाई बनाइदेऊ’ भन्दै कतै धाइनँ।’ एक दिन माधव नेपालले उनलाई बोलाए। भन्छन्, ‘के छ विचार भनेर उहाँले सोध्नुभयो। मभन्दा योग्य अरू नै हुनुहुन्छ, म उपयुक्त उम्मेदवार होइन भनेँ।’
माधव नेपालसँग भेटेपछि हल्ला रोकिएन। झन् बढ्यो। उनका साथीहरूले पनि सल्लाह दिन थाले, बनाउँछन् भने हिम्मत गर। आफ्नो पक्षमा चलेको हल्ला नरोकिएपछि पाए जिम्मेवारी सम्हाल्ने मनस्थितिमा पुगे। यस्तैमा एक दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई बोलाए। भन्छन्, ‘उहाँले प्रस्ताव राख्नुभयो। देशका लागि केही गर्ने अवसर ठानेँ। पठाउनुहुन्छ भने जान्छु भनेँ।’
०००
अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्दा सूर्यनाथ ५८ वर्षका थिए। राणा शासनको उत्तराद्र्ध २००१ सालमा जन्मिए उनी। परिवारमा माइला छोराको रूपमा जन्मिएका उनले अख्तियारको ढोकासम्म पुग्न जीवनका कयौं घुम्ती, मोड र गल्छेडाहरू पार गरेका छन्। बाल्यकाल वीरगन्जका फाँटहरूमा बिताएका उनले ती घुम्तीहरू सुनाए।
पहिलो घुम्ती
विसं २०२१ मा ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्जबाट बीए पास गरे। त्यसपछि काम र पढाइको खोजीमा काठमाडौं पसे। दिउँसो काम गर्ने र राति स्नातक तहमा कानुन पढ्न थाले। एसएलसीको केही टेक्स्ट बुक पनि लेखे। कानुन पढ्दापढ्दै उनलाई काठमाडौं बसिरहन मन लागेन। उनी पुर्खाको इतिहास खोज्दै लमजुङ पुगे। काकाहरूसँग भेटे। उनको टेक्स्ट बुकका पाठक पनि गाउँमै भेटे। केही मान्छे आएर गाउँकै स्कुलमा शिक्षक बनिदिन आग्रह गरे। भन्छन्, ‘काठमाडौंमा पनि गतिलो काम थिएन। त्यहाँ माविको हेडमास्टर बन्नुपर्ने प्रस्ताव ठिकै लाग्यो।’
प्रस्ताव स्वीकारेर लमजुङको भोटेओडार पुगे। तर, स्कुल पुग्दा उनी झस्किए। स्कुलको कुनै पनि पूर्वाधार थिएन। भन्छन्, ‘त्यसपछि स्थानीयवासी, विद्यार्थी र शिक्षक सबै मिलेर ढुंगा, बाँस, खर बोक्यौं; स्कुल बनायौं।’ जिल्लाबाट स्वीकृति लिएर भक्ति माध्यमिक विद्यालय त तयार भयो तर शिक्षक भएन। सूर्यनाथ शिक्षक खोज्दै काठमाडौं आए। रामशरण महतलाई भेटे। भन्छन्, ‘उहाँले भर्खर बीएको जाँच दिनुभएको रहेछ। १९ वर्षको ठिटो हुनुहुन्थ्यो। मैले ‘टिचर बन्न जाने हो’ भनेँ। उहाँले जान्छु भन्नुभयो। महत महिनाको तीन सय ५० रुपैयाँमा पढाउन राजी भए। उनको तलब चार सय थियो। त्यहाँ दुई वर्ष पढाए सूर्यनाथले। त्यहीँ पढाउँदा पढाउँदै बीएल पास गरे। त्यसपछि सपना अलग देख्न थाले। भन्छन्, ‘म निकै महत्वाकांक्षी मान्छे। पढाएर मात्रै केही हुन्न, अब वकिल बन्छु भन्ने लाग्यो। त्यसपछि काठमाडौं फर्किएँ।’ उनको जीवनको अर्को घुम्ती सुरु भयो।
दोस्रो घुम्ती
काठमाडौं आएपछि अधिवक्ता ठाकुर खरेलको सहयोगीका रूपमा काम गर्न थाले। बिहानदेखि बेलुकीसम्म अधिवक्ता खरेलसँगै हिँड्न थाले। खरेलले वकालत पनि सिकाए। दिनभरि कमाएको पैसाको १० प्रतिशत उनले पाउँथे। महिनाभरिको जोड्दा पाँचदेखि ६ सय रुपैयाँसम्म कमाउँथे उनी। काठमाडौंमा डेरा लिएर एक्लै बस्थे। होटलमा खान्थे। सम्झन्छन्, ‘त्यस बेला ६० रुपैयाँमा एक महिना खान पुग्थ्यो।’
खरेलको पछिपछि झोला बोकेर डेढ वर्ष हिँडेपछि उनलाई लाग्यो, झोला बोकेर मात्रै केही हुन्न। हाँस्दै सुनाउँछन्, ‘उहाँको पछिपछि झोला बोक्दाबोक्दै बूढो भइहाल्छु भन्ने लाग्यो। त्यसपछि फेरि बाटो मोडेँ।’
उनले सेक्सन अफिसरमा नाम निकाले। कानुन मन्त्रालयमा काम गर्न थाले। जागिर खाँदाखाँदै नेपालीमा एमए पास गरे। ६ महिनाका लागि कानुन पढ्न छात्रवृत्तिमा क्यानडा गए। सहसचिवमा बढुवा भए। त्यसपछि फेरि छात्रवृत्तिमै कानुनमा स्नातकोत्तर पढ्न लन्डन पुगे। युनिभर्सिटी कलेज लन्डनबाट एलएलएम गरे। जलस्रोत तथा शक्ति आयोगमा सहसचिवका रूपमा नौ वर्ष काम गरे।
उनी जलस्रोत तथा शक्ति आयोगमा कार्यरत हुँदा २०४६ सालको आन्दोलन चलिरहेको थियो। त्यही सेरोफेरोमा दरबारले गठन गरेको संविधान बनाउने आयोगमा उनी सदस्यसचिव नियुक्त भए। भन्छन्, ‘मेरो लागि त्यो सरप्राइज थियो। त्यो आयोगमा मलाई पठाउलान् भनेर सोचेकै थिइनँ।’ आयोगको विरोध भयो। दुई हप्तापछि विश्वनाथ उपाध्यायले राजीनामा दिए। उनी फेरि पुरानै काममा फर्किए। आन्दोलनपछि फेरि संविधान आयोग गठन भयो। उनी पुनः आयोगको सचिव बने। माधव नेपाल, भरतमोहन अधिकारी, दमननाथ ढुंगाना, लक्ष्मण अर्यालसहित नौजनाको टिम बन्यो। भन्छन्, ‘संविधान बनाउने काममा निकै खट्यौं।’ संविधान बनाएर आयोगले राजा वीरेन्द्रलाई बुझायो। त्यसपछि उनी फेरि पुरानै काममा फर्किए।
विसं २०४९ मा उनी सचिवमा बढुवा भई जलस्रोत मन्त्रालयमा सरुवा भए। न्याय सेवाबाट प्रशासनतिर मोडिए। महाकाली सन्धि त्यही बेला भयो। उनी फेरि सरुवा भए जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यहाँ १६ महिना काम गरे। त्यसपछि उद्योग वाणिज्य, कृषि मन्त्रालयमा काम गरे। त्यहाँ काम गर्दागर्दै ५८ वर्षको उमेरमा उनी रिटायर भए। र, उनको जीवनको पछिल्लो घुम्ती बन्यो अख्तियारको जिम्मेवारी।
सूर्यनाथ अचेल बूढानीलकण्ठस्थित आफ्नै निवासमा रिटायर लाइफ बिताइरहेका छन्। जीवनको ७४औं वसन्तमा हिँड्दै गरेका उनी देशको अवस्थाप्रति चिन्तित छन्। नेपालको सबैभन्दा ठूलो समस्या प्रतिबद्धताको कमी देख्छन् उनी। भन्छन्, ‘देश भनेको एउटा संस्था हो। यो संस्था चलाउन प्रतिबद्धता चाहिन्छ।’
प्रतिक्रिया दिनुहोस !