व्यापारीको आरोप : म्याद गुज्रेको भन्दै ह्विस्की जफत गरियो
ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय र सिद्धिचरण नगरपालिकाको संयुक्त अनुगमन टोलीको बजार अनुगमनका क्रममा म्याद नजाने वस्तु समेत अखाद्य भनेर जफत गरेको स्थानीय व्यापारीको गुनासो छ ।
म्याद नगुज्रने वस्तु समेत म्याद गुज्रिएको भन्दै जफत गरेको व्यापारीहरुले आरोप लगाएका छन् । उनीहरुका अनुसार कतिपय वस्तुको म्याद सन् २०२२ सम्म भए पनि अनुगमन टोलीले जफत गरेको छ ।
सिद्धिचरण नगरपालिका–१२ स्थित पिएस स्टोरका मालिक प्रदीप श्रेष्ठका अनुसार अधिकांश म्याद नगुज्रिएका रक्सी अनुगमन टोलीले जफत गरेको हो । यस क्रममा अनुगमन टोलीले लापरवाही गरेको व्यापारीहरुले आरोप लगाएका छन् । अनुगमनकै क्रममा केही बेर व्यापारी र अनुगमन टोलीका सदस्यबीच आरोप प्रत्यारोप नै चल्यो ।
म्याद नै नजाने भिजन र एन्टीक्विटी ह्विस्की समेत जफत गरेपछि व्यापारीहरु आक्रोशित बनेका हुन् । कतिपय बिग्रने तरल पदार्थ भएका वस्तुमा प्वाल नै पारिदिएपछि उनीहरु रुष्ट बने ।
पिएस स्टोरका मालिक श्रेष्ठले भने, ‘रेडबुल १ सय १० ओटा म्याद सकिएको भनेर प्वाल पार्न लगाइयो । म्याद नै नहुने वस्तु समेत जफत गरेर मेरो फर्मबाट लगियो ।’ यस्तै व्यापारीहरुले क्षतिपुर्तिको माग समेत गर्न थालका छन् । अनुगमनको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालले भने अनुगमन टोलीले म्याद सकिएका वस्तु मात्रै जफत गरेको दावी गरे।
प्रतिक्रिया दिनुहोस !