प्रहरीको आग्रह : अपराधको सुइँको पाए हामीलाई भन्नू
कालिकोट : कालिकोटमा ६३ औँ प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा सदरमुकाम मान्म बजारमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख विनोद शर्मा लगायत सहभागी भइ जनचेतनामुलक नारासहित ¥याली निकालेका छन् ।
प्रहरीले र्यालीमा नागरिक पनि बिनाबर्दीको प्रहरी बन्नु, अपराधको सुइँको पाए हामीलाई भन्नू भन्ने नारा लगाउँदा सम्पूर्ण बजारबासी र अन्य स्थानीय नागरिक मख्ख भएका थिए । यहाँ केही समय अगाडि विभिन्न घटना क्रममा भएका आन्दोलन र प्रहरीको भूमिकाप्रति असन्तुष्ट नागरिकहरु पछिल्लो समय प्रहरीका गतिबिधिबाट सन्तुष्ट भएका छन् ।
जिल्ला अस्पतालमा प्रसुति सेवा लिन गएकि महिलाको अत्याधिक रक्त श्रावका कारण मृत्य, गत वर्षको मंसिर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचनमा खटिएका म्यादी प्रहरीले सेवा सुविधाको बिषयमा गरेको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना म्यादीको मृत्यु लगायतका घटनाबाट कालिकोटका स्थानीय नागरिक र प्रहरीको दुरी बढेको थियो ।
हाल जिल्ला प्रहरी कार्यालयले हरेक सेवाग्रहीको काम १० मिनेटमा गर्ने, जिल्ला सदरमुकाम मान्म बजारको सरसफाइमा सक्रियता, सम्मानपुर्वक नागरिकका गुनासा सुन्ने, कुनै पनि अपराधका घटनामा मेलमिलाप नगरी कानुनी प्रक्रियामा लिने, मान्म बजारमा हुने विभिन्न सामाजिक अपराधहरु न्यूनीकरण गर्न सिसी क्यामेरा जडान गरी जिल्लालाई शान्ति, सुव्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नागरिकहरुले प्रहरीको प्रशंसा गर्न थालेका छन् ।
कालिकोटका प्रतिनिधि सभा सदस्य सांसद दुर्गबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको प्रहरी दिवसमा स्थानीय नागरिक पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस !