गाउँघरमा हराउँदै रोटे पिङ
तानसेन : असोज लागेपछि चौपारी, विद्यालय, डाडा, मन्दिर गाउँमा मानिसको भिड लाग्थ्यो। दसैंका लागि चर्खे (काठे) पिङका सामान जुटाइन्थ्यो। गाउँघरका सबै मिलेर चर्खे पिङ बनाउँथे। पाल्पामा पछिल्लो समय यस्ता दृश्य एकादेशका कथाजस्तै बनेको छ। दसैंमा रमाइलो गर्ने माध्यम मानिने चर्खे पिङ हराउन थालेको छ।
रोजगारीका लागि गाउँबाट अधिकांश युवापुस्ता बाहिरिन थालेपछि चर्खे पिङ बनाउने परम्परा पनि मासिन थालेको हो। ‘प्रत्येक टोलमा बनाइने चर्खे पिङ पछिल्लो समय हराउँदै गएको छ। दसैंको वातावरण झल्काउने मौलिकता गाउँघरमा भेटिन छाडेको छ’, तानसेन नगरपालिका–२ का बृद्धिप्रसाद शर्माले भने। विगतमा पाल्पाका सबैजसो स्थानमा चर्खे पिङ बनाउने चलन रहे पनि पछिल्लो समय जिल्लाको एकदुई स्थानमा मात्रै यस्तो पिङ देख्न पाइन्छ।
चर्खे पिङमा एकैचोटी १२ देखी १८ जनासम्म सामुहिक रुपमा खेल्न सकिन्छ। चर्खे पिङ बनाउँदा निकै मिहनेत पर्ने, काठ जुटाउनु पर्ने तर गाउँमा युवकहरु नहुँदा चर्के पिङको परम्परा हराउँदै गएको संस्कृतिविद झपेन्द्र जि.सी.बताउँछन्। ‘काठ किनेर पिङ बनाउँदा ३ लाख रुपैयाँको हाराहारीमा खर्च हुन्छ’, संस्कृतिविद जि.सीले भने, ‘हाम्रो कौलिक काठे पिङ हेरेर मेशिनबाट चल्ने फलामका ठुला–ठुला पिङ बनाए तर हामीले समय सुहाउँदो बनाउन नसक्दा मौलिक परम्परा जर्गेना हुन नसकेको हो।’
विगतमा काठे पिङलाई दसैंमा महत्वका साथ लिने गरिन्थ्यो। चर्खे पिङमा सामुहिक भावना जोडिएको हुन्छ। चर्खे पिङ बनाउँदा, खेल्दा, खेलाउँदा समुहमै काम हुन्छ। एक्लो व्यक्तिले नत चर्के पिङ बनाउन सक्छ, नत, खेलाउन सक्छ। सरकारले पनि सिक्कामा काठे पिङको चित्र राखेर देश विदेशमा यसको चर्चा र महत्व दर्शाएको थियो।
दसैंमा गाउँघरको वातावरण यसै पनि रमाइलो हुन्छ। कामका लागि बाहिर गएका व्यक्ति दसैंको अवसरमा गाउँघर पुग्ने चलन छ। दसैंमा रमाईलो गर्ने, पिङ खेल्ने, मिठो परिकार खाने परम्परा छ। तर समय र परिस्थितीले दसैंका कतिपय यस्ता विशेषता हराउन थालेको छ।