घुस लिएर भाग्दा भाग्दै पक्राउ परे इन्सपेक्टर र सिपाही
सुर्खेतः घुस लिएर भाग्दै गरेका एक इन्सपेक्टर (प्रहरी निरीक्षक) आइतवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्जार्जसमेत रहेका इन्सपेक्टर सुशोभन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस रकम लिएर भाग्दै गरेका इन्सपेक्टर श्रेष्ठसँगै प्रहरी जवान तिलक लामिछाने पनि पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले इलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठ र प्रहरी जवान लामिछानेलाई घुससहित पक्राउ गरिएको जनाएको छ ।
पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट सेवाग्राहीसँग १५ हजार घुस मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आइतवार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले घुससहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
‘स्थानीय एउटा सुनचाँदी पसलमा चोरी भएको रहेछ, त्यही घटनामा चोरलाई पक्राउ गर्नमा सहजिकरण गरिदिए वापत प्रहरीले घुस मागेको उजुरी हामीकहाँ आएको थियो’, डाँगीले भने, ‘उजुरीका आधारमा हामीले छापा मारेका थियौं, घुस लिएर भाग्दै गर्दा उनीहरुलाई हाम्रो टोलीले समातेको हो ।’ पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !