अफगानिस्तान प्रिमियर लिगको डेब्यु खेलमै सन्दीपको कमाल
काठमाडौं : इन्डियन प्रिमियर लिग(आइपीएल)खेलेपछि विदेशी क्रिकेट लिगमा व्यस्त बनेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले युएईमा जारी अफगानिस्तान प्रिंमियर लिग(एपीएल) को पहिलो खेल आइतबार खेलेका छन् ।
अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर बेन कटिङको कप्तानीमा रहेको नान्गहर लेपार्डसमा आवद्ध भएका सन्दीपले आइतबारको डेब्यु खेलमा २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २३ रन मात्रै दिएर २ विकेट लिन सफल भएका हुन् ।
मलेसियामा भएको सन २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता सहभागी भएका कारण सन्दीपले यस अघिका खेलमा सहभागी हुने पाएनन् । सन्दीप मलेसियाबाटै एपीएल खेल्न युएई गएका हुन् ।
आईपीएलसँगै क्यानाडा लिग, क्याराबिन प्रिमियर लिग खेलिसकेका सन्दीपलाई अफगानिस्तानको नान्गहर लेपाडसले १५ हजार डलरमा टोलीमा आबद्ध गराएको हो । संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने नयाँ ढाँचाको टी(१० लिग )क्रिकेटका लागि भारतीय क्लब केलरा किङ्समा ३० हजार डलरमा आबद्ध भइसकेका छन् ।