मित्रभाव जोड्ने पर्व

मित्रभाव जोड्ने पर्व

सासाना नानीबाबुदेखि, वृद्धवृद्धा, आफन्त, स्वदेशकै नौडाँडा पारीदेखि सात समुद्रपारसम्म पुगेकाहरूको मिलन गराउने पर्व हो दसैं। घरछिमेक, खेतबारी साँधसिमाना, पानीको कुलो, गाईबस्तुले बाली खाँदा आइपर्ने मनमुटाव र रिसरागलाई टीका लगाएर बिर्सने पर्व पनि। त्यसैले दसैंलाई सभ्यताको प्रतीक मानिएको हो।

दसैंमा बालबच्चालाई ऋण खोजेर भए पनि मासुभात खुवाएर एकजोर नयाँ कपडा लगाइदिने गरिन्छ। गरिब वा अचेतलाई पनि चेत खुलाउने, परि श्रमी र मिहेनति बनाउने आफ्ना परिवारप्रति सद्भाव सप्रेम जगाउने काम दसैं पर्वले गर्छ। नाबालक छोराछोरीको पनि आफ्नै जमात हुन्छ। त्यो जमातमा नयाँ नाना लगाउँदा र मिठो परिकार खाँदा अर्कै जोस, जाँगर, हौसला, इज्जत र प्रतिष्ठा कायम भएको महसुस हुन्छ।

बालबालिकालाई पनि जीवनको रमाइला क्षणहरूले पाठ सिकाउने र प्रतिस्पर्धात्मक रूपमा कोभन्दा को कम भन्ने हौसलापूर्वक जीवनलाई अगाडि बढाउन पनि यसले मद्दत पुर्‍याउँछ। दसैंले दशा होइन उमंग ल्याउँछ भन्ने सन्देश प्रवाह हुनुपर्छ। टाढाटाढा रहेका लागि नजिक बनाउने र बेमेलमा रहेकालाई मेल गराउँछ दसैंले।गाउँघरमा जन्मेका हुन् वा सहरबजारमा जन्मेका बालबच्चा सबैले बाबा खसी कहिले ल्याउने भन्ने गर्छन्। छिमेकीको घरमा खसी कराउन थालेपछि नजिकका लागि निद्रा लाग्दैन, किनकि बालबच्चाले दबाब दिन थाल्छन्। वर्षभरी पेटभर ढिडो, खोले र फाँडो पनि खान नपाएकाहरूलाई पनि दसैंमा मासु चिउरा र मिठो मसिनो खान पाउने अवसर दसैंले नै जुराएको होइन र ? ऋण लाग्यो, दसैं होइन दशा भन्नु उचित होइन। दसैं आएपछि ऋण लाग्यो भनेर दोष दसैंलाई दिएर पैसाजति जाँडरक्सीमा सिध्याउने प्रचलनले दसैंलाई दशा बनाएको हो। त्यसैले त ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उखान चरितार्थ भएको हो।

गाउँघरमा कटुवाल लगाएर मान्छे जम्मा गर्ने र बाटो सफाइ गर्ने परम्पराकालीन प्रचलन पनि कायम छ। लिंगे पिङ, रोगंटे पिङ र जाँते पिङ हाल्ने प्रचलनले पनि थप रौनक मिल्छ। घरघरमा वर्षभरी काम गरी भित्र्याएको अन्न खाद्यान्न, तेलहन, दलहनको प्रशोधन गर्ने, चिउरा कुट्ने, मरमसला तयार गर्ने, घरका भित्री बाहिरी भित्ता रातो र सेतो माटोले लिप्ने तथा झ्याल ढोकामा कालो खोटो लगाउने प्रतिस्पर्धा नै चल्छ गाउँघरमा।

दसैं हिन्दुहरूको पर्व भनिन्छ। तर नेपालमा रहेको मुस्लिम समाजमा पनि दसैंको उमंग हुन्छ। त्यसैले देशअनुसारको भाषा र भेष हुन्छ भनिएको हो। सबै धर्मबीच सहिष्णुता छ भन्ने सन्देश पर्वहरूबाटै प्रवाह हुन्छ। हिजो मधेसी समाजले मात्र मनाउने छठ पर्व आज पहाडियाले समेत मनाउन थालेका छन्। मुसलमानले रमदान त्यसरी नै मनाउँछन्। क्रिष्चियन मुलुकमा पनि हिन्दु धर्मावलम्बी छन्। क्रिष्चियनहरूको पर्वमा पनि हिन्दुहरू पनि आफ्नै पर्वजसरी रमाइलो गर्छन्। यसले विभिन्न जातजाति र भाषाभाषीबीच सहिष्णुता भएको प्रमाणित हुन्छ। विडम्बना हाम्रो देशमा भने हाम्रै धर्मसंस्कृतिलाई चोट पर्ने गरी हिन्दुहरूले पर्व मनाउन पाएको बिदा पनि कटौटी गरिएको छ। यसले विदेशीसामु हाम्रै शिर झुकाएको छ।

अहिले काटमारको विरोध हुन थालेको छ। यो प्रचलन सबैजसो धर्ममा पाइन्छ। मुस्लिमले हलाल, एहुदीले कोसियार भने झैं हिन्दुहरूले मार हान्ने कामबाट मासुको व्यवस्थापन गर्ने गर्छन्। मन्दिरमा काटे पनि घर आँगन मझेरी चुलाचौका, मेसिनमा वा हलाल कोशियार जे गरे पनि आखिर पशुको प्राण रक्षा त हुँदैन। बाइबलमा पशुपंक्षी मानवजातिको आहारकै लागि बनाइएको भनिएको पाइन्छ। हामी कसैको लहलहैमा लागेर होइन आफ्नो संस्कृतिअनुसार उमंगका साथ दसैं मनाऔं। के गर्न हुन्छ, के हुँदैन भन्नुभन्दा आपसमा मित्रभाव राखेर धार्मिक सहिष्णुताको सम्मान गरी आआफ्नो गच्छेअनुसार दसैं मनाऔं। दुर्गा भवानीले सबैको रक्षा गरुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.