पृथ्वीनारायण शाहले उपहार दिएको खड्ग र फूलपाती जाजरकोट दरबारमा

पृथ्वीनारायण शाहले उपहार दिएको खड्ग र फूलपाती जाजरकोट दरबारमा

जाजरकोट : गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय पचास वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको  खड्ग अर्थात् तरबार दसैंको फूलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरबारमा भित्र्याइएको हो।

दसैंका अवसरमा  फूलपाती भित्र्याउने कार्यक्रम  अनुसार  जाजरकोट राज्यको शक्तिको प्रतिकको रुपमा रहेको उक्त खड्ग सोमबार रानागाँउस्थित कालिका मन्दिरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो। 

स्थानीय सर्वसाधारण, सरकारी कर्मचारी र  सुरक्षाकर्मीको व्यापक सहभागीतामा शंख ध्वनीसहित  भेरी नगरपालिका ३ गैरीखालीमा  पूजाआजा र सलामी दिएर सोमबार बिहान  उक्त खड्गलाई  जाजरकोट दरबार लगिएको हो।

१८२५ साल माघ ५ गते  काँसीको मणिकर्णिका घाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उद्देश्यले धर्मसन्धी गर्दै  उक्त खड्ग ९तरबार० जाजरकोट राज्यलाई उपहार स्वरुप दिएका थिए। 

दुई राज्यका बीचमा  एक अर्कालाई सहयोग गर्ने  सम्झौता गर्दै दुवै राजाले  मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा  उक्त खड्ग जाजरकोटी राजालाई दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार केदारबहादुर शाहले बताए । 

उनले झन्डै ७ सय वर्षअघि स्थापना भएको  जाजरकोट राज्यको  सुरुको राजधानी जगतिपुरमा राखिएको  उक्त  खड्ग अर्थात् तरबार  १८५२ सालमा  अहिलेको सदरमुकाम खलंगामा राजधानी  सारिएपछि दसैंको फूलपातीका दिन विशेष पुजाआजासहित जगतिपुरवाट खलंगा दरबारमा  ल्याउने परम्परा सुरु भएको  बताए।

फूलपातीका दिन विशेष पूजासहित वली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ। बली दिन र खड्ग भित्र्याउन लाग्ने रकम सुरुमा दरबारबाट र पछि गृहमन्त्रालयबाट आउने गरेपनि मुलुकमा गणतन्त्र आइसकेपछि रकम पठाउन छोडिएको छ। 

रकम अभावमा परम्परालाई निरन्तरता दिनै मुस्किल भएको स्थानीय प्रशासनले जनाएको छ। जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ। पहिला राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि प्रमुख जिल्ला अधिकारीले गदै आएका छन्। 

जगतिपुरमा रहेको  राजा र देवताको शक्तिलाई विस्तारै  खलंगास्थित दरबारमा सार्ने उद्देश्यले  प्रत्येक वर्ष फूलपातीका दिन पुजाआजासहित  उक्त खड्गलाई खर्के देउताको रुपमा पुज्दै  ल्याउन थालिएको  शाहले  बताए। 

फूलपातीका दिन  जाजरकोट दरबारमा भित्रयाइएको  उक्त खड्गलाई  दसैंको फूलपाती अर्थात् सप्तमी, महाअष्टमी, महानवमी र विजयादशीमीको दिनसम्म पन्चे वाचाको ध्वनीका साथ बोका, रांगाको बली दिएर भव्य रुपमा पुजा आजा गरी दशमीकै दिन टीका लगाइसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको  १० वर्षे  द्वन्द्वका क्रममा  असुरक्षाका कारण  उक्त खड्ग १७ वर्ष अघिदेखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको  छ। 

अब शान्ति आइसकेकोले  खड्गलाई  जगतिपुरको मन्दिरमै राख्नु पर्ने ४९ वर्षदेखि खड्ग पुजा गर्दै आएका पुजारी  सत्यप्रसाद शर्माले बताए। जाजरकोट राज्यको उत्पति र  खड्ग सुरुमा राखिएको  मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाई  जगतिपुरमै राख्नुपर्ने  पुजारी शर्माको भनाइ छ । उनले तत्कालीन राजाका पुरोहित अर्थात् खर्क देवताका पुजारी आफ्ना हजुरबुवाका बुवा रत्नदास शर्माले  उक्त खडग जाजरकोट दरबारमा ल्याउन सुरु गरेको बताए। 

जाजरकोटी शाह ठकुरीले  मुख्य जिम्मा लिएर  मनाइने  खर्के देउता पूजा अहिले  ओझेल पर्दै गएको छ। विगतमा  खर्के देउताको पूजाका बेला स्थानीयको जाजरकोट दरबारमा ठूलो मेला लाग्ने  गरेको स्थानीय लक्ष्मणबहादुर शाहले बताए।  

जाजरकोटको इतिहास, संस्कृति र परम्पराको  पहिचान झल्काउने खर्के देउता पुजा विगतमा  स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा  गर्ने गरिएपनि अहिले  सवैले  बिर्सदै गएको  उनले बताए। 

जाजरकोटको इतिहास पनि  धेरै महत्वपूर्ण  रहेपनि  खोज अनुसन्धानको अभावले  जानकारीमा आउन नसकेको भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले बताए। 

पछिल्लो पुस्ताले  वेवास्ता गरेका कारण जाजरकोटलाई मुलुकमा चिनाउन गाह्रो भएको  शाहले बताए। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  खड्ग देवताको पूरा गर्ने  र जाजरकोट दरबारमा  खड्ग ल्याउने मौलिक परम्पराको जगेर्ना गर्न  आफूले  सक्दो पहल गर्ने बताए। उनले  जगतिपुरमा  उचित सुरक्षाको व्यवस्था गरेर  फेरि जगतिपुरबाटै खलंगासम्म  खड्ग ल्याउने चलनको सुरुवात गरिने बताए।
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.