बार्सिलोना ला लिगाको शीर्ष स्थानमा : मेसी चोटग्रस्त
काठमाडौं : शनिबार रातिको खेलमा जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
साविकको विजेता बार्सिलोनाले शनिबार रातिको खेलमा सेभिल्लालाई ४-२ ले पराजित गरेको हो। राम्रो प्रदर्शन गर्दै आएको सेभिल्लामाथि ४ गोल गरेर बार्सिलोनाले आफूलाई शीर्ष स्थानमा पुर्याएको हो।
बार्सिलोनाका लागि लियोनल मेसी, लुइस स्वारेज, फिलिप कोन्टिन्हो र इभान रेकिटिकले एकएक गोल गरे। सेभिल्लाका लागि एक गोल बार्सिलोनाकै लेङ्गलेटले उपहार दिए भने अर्को गोल मुरिएलले गरे।
बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। दोस्रो मिनेटमा कोन्टिन्होको गोलबाट लिएको अग्रतालाई १२ मिनेटमा मेसीले दोब्बर बनाए। पहिलो हाफमा २-० ले अगाडि रहेको बार्सिलोनाले थप दुई गोल दोस्रो हाफमा गरेको हो।
बार्सिलोनाका लागि ६३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वारेजले तेस्रो गोल गरे। ३-० ले अगाडि रहेको बार्सिलोनाका लागि ७९ मिनेट भने घातक बन्यो। लेङ्गलेटले आत्मघाती गोल गर्दै नतिजा ३-१ बनाए।
फेरि ८८ औँ मिनेटमा बार्सिलोनाका लागि रेकिटिकले चाैँथाे गोल गरे। त्यसपछि खेल अवधिभर गोल हुन सकेन। तर इन्जुरी समयको पहिलो मिनेटमै सेभिल्लाका लागि लुइस मुरिएलले गोल गर्दै खेल ४-२ मा फर्काए।
उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको खेलमा कप्तान मेसी भने चोटग्रस्त भएका छन्। १२ मिनेटमा गोल गरेका मेसी मैदानमै लड्दा दायाँ हातमा चोट लागेको हो । चोट लागेपछि धेरै पीडामा देखिएका मेसी खेलको २६ औं मिनेटमा मैदानबाट बाहिरिए ।
समाचारमा जनाइए अनुसार मेसीको दाया हातको हट्टीमा गम्भीर चोट लागेको छ । यही चोतका कारण अब उनी मैदान बाहिर हुनेछन् । मेसीले यो अवधिमा ६ खेल गुमाउने छन् ।
यो जितसँगै बार्सिलोना ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ।