जुवाको खालबाट नेता र शिक्षक नै पक्राउ

अछाम : बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा जुवातास खेलिरहेका १४ जनालाई ६० हजार नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अधिकांश राजनीतिक दलका स्थानीय नेता, शिक्षक तथा सार्वजनिक पद ग्रहण गरेका व्यक्ति छन् । प्रहरीले भने पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मंगलसेनमै राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले सोमबार जयगढ बजारको बिपना कोल्ड स्टोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जयगढ बजारमा सोमबार साँझ प्रहरी निरीक्षक टेकबहादुर रावतको नेतृत्वमा खटेको टोलीले जुवाको खालबाट ६० हजार ४ सय ४० रुपैयाँ समेत बरामद गरेको थियो ।
दसैं तथा तिहारको बहानामा जुवा तास खेल्नेहरुको संख्या बढेपछि प्रहरीले कारवाही पनि कडा बनाएको बताएको छ । जुवा तासको बिगबिगी बढेपछि जिल्लाका व्यापारिक केन्द्रमा प्रहरीले छापा मार्दै आएको हो । अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुसार जुवा तास नियन्त्रण अभियान स्वरुप जिल्लाका मुख्य बजारमा प्रहरी युनिट खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
