अलबिदा चक्रजी !
गिरिजाप्रसाद र कृष्णप्रसाद दुवैलाई मिलाएर एक ठाउँमा उभ्याउन उहाँले खेल्नुभएको भूमिकाको म आफू साक्षी छु
चक्र बाँस्तोला अब हामीबीच रहनुभएन। त्यसो त झन्डै ६ वर्षअघिको मस्तिष्कघातका कारण उहाँ अचेत हुनुभएको थियो। होसमै नफर्की उहाँको देहान्त भयो। जब म चक्रजीलाई सम्झन्छु– मेरो मनमा विभिन्न दृश्य आइरहन्छन्। व्यक्तिगत रूपमा मेरा धेरै मित्र छन्– थिए। ती व्यक्तिसँगको सम्बन्ध विशेषले मेरा जीवनमा अनुकूल वा प्रतिकूल प्रभाव परेको छ। तर ती वैयक्तिक कुरा भए। चक्रजीसँगको सम्बन्धका ती विशेषता आज सम्झन मन किन पनि लागेको छ भने तिनको असर व्यक्तिगत मात्र रहेन।
परिचयको सिलसिला
त्यसो त चक्रजीसँग, जनमत संग्रहको घोषणा भएपछि, नेपाल आउनासाथ परिचय भएको हो। २०३१ सालको हवाई अपहरणका कारण उहाँ राजनीतिक क्षितिजमा सुर्खी बनेर छाइसक्नुभएको थियो। तर उहाँ निर्वासनमा रहँदासम्म प्रत्यक्ष सम्पर्क भएको थिएन। जनमत संग्रहमा बहुदलको पराजयपछि चक्रजी काठमाडौं आउनुभयो। त्यतिबेला प्रतिपक्षी राजनीतिको मियो बीपी कोइराला हुनुहुन्थ्यो। चाबहिलको रोशा कोइरालाको घरमा बीपी बस्नुहुन्थ्यो। त्यहाँ म झन्डै दिनहुँजस्तो जाने गर्थें। अर्को दिनहुँ भेला हुने घर भनेको वरिष्ठ अधिवक्ता गणेशराज शर्माको डिल्लीबजार धोबीधाराको घर हो। त्यहाँ पनि जाने गर्थें। पहिलो भेट चक्रजीसँग यिनै दुई घरमध्ये एकमा भएको हुनुपर्छ।
२०४६ सालको परिवर्तनपछि भएको २०४७ सालको निर्वाचनमा झापाको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट लड्दा पराजय भए पनि गिरिजाप्रसाद कोइरालाले चक्रजीलाई भारतका लागि राजदूत पदको जिम्मेवारी दिनुभएको थियो।
२०५१ सालमा राजदूतबाट फर्केपछि चक्रजी बानेश्वरको मेरो घरनजिकै बस्न आउनुभयो। हामी छिमेकी भएर रह्यौं। त्यसपछि भने चक्रजीसँग घनिष्ठ सम्बन्ध विकास भएको हो। त्यो घनिष्टता बढाउन भीमबहादुर तामाङको मित्रता निकै उपयोगी रह्यो।
राजनीतिक भूमिकामा चक्रजी
चक्रजीको निर्वासनको राजनीतिसँग म व्यक्तिगत रूपमा अनभिज्ञ छु। विद्यार्थी छँदा नै राजनीतिमा संलग्न भएको, बीपीसँग उठबस गर्ने थोरै तरुणमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो भन्ने सुनेको हुँ। तर नेपाल आगमनपछि भने उहाँको भूमिका राजनीतिमा निकै चाखलाग्दो रह्यो।
गिरिजाप्रसादसँग जति निकट भए पनि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग आवश्यक पर्दा उहाँमा सेतुको काम गर्न सक्ने हैसियत थियो। शैलजा आचार्यसँग उहाँको सुमधुर सम्बन्ध रह्यो।
गिरिजाप्रसाद र कृष्णप्रसादबीच औपचारिक सम्बन्ध जेजस्तो रहे पनि मदन भण्डारीको अवसानपश्चात् काठमाडौं १ को उपनिर्वाचनमा भट्टराईजीको उम्मेदवारीले ल्याएको यी दुईबीचको तीक्तताको नेपालको राजनीतिमा दूरगामी असर पर्यो। २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो पार्टी बन्न पुग्यो। अस्थिर सरकारको शृंखला त्यही बिग्रिएको राजनीतिको परिणाम हो र आजसम्म नेपालको कुनै सरकारले निर्वाचनपछिको एक पूर्ण अवधिसम्म काम गर्न पाएको छैन।
२०५६ सालमा आमनिर्वाचन हुनु थियो। कांग्रेस त्यतिबेलासम्म पनि दुई खेमामा विभाजित थियो। संयोगले भीमबहादुर त्यसबेला मेरै घरमा बस्नुभएको थियो। भीमबहादुरजी राजनीतिक प्राणी त हुनुहुन्थ्यो तर वादविवाद उति रुचाउनु हुन्नथ्यो। सुनेरै बस्ने बानी उहाँको थियो। चक्रजी त्यसको ठीक उल्टो हुनुहुन्थ्यो। एकदम वादविवाद रुचाउने सक्रिय भाग लिने।
तर, त्यो बिहान के कारणले हो– भीमबहादुरजीसँग मेरो त्यसबेलाको राजनीतिक माहोलका बारेमा संवाद भयो। कांग्रेसको आगामी निर्वाचनमा कस्तो अवस्था होला भन्नेमा हाम्रो कुराकानी केन्द्रित थियो। मैले भीमबहादुरजीलाई भने – यतिबेला कांग्रेस दुई खेमामा विभाजित छ। एक्लै गिरिजाप्रसादले चाहेर पनि कांग्रेसको बहुमत आउँदैन। सरकारको नेतृत्व लिएकाले सत्ताको असफलताको अपजस पनि उहाँले बेहोर्नुपर्छ। त्यसैले पार्टीमा एकताको सन्देश दिन र दागरहित व्यक्तिको रूपमा कृष्णप्रसादलाई प्रधानमन्त्रीका रूपमा उठाउन सक्दा मात्र कांग्रेसको बहुमत आउन सक्छ।
भीमबहादुरजीले यसमा सधैं झैं कुनै प्रतिक्रिया दिनुभएन। गम्भीर भएर सुन्नुभयो मात्र। त्यसपछि म घरमा आएर तयार भई सर्वोच्च अदालतमा बहस गर्न निस्कँदै थिएँ– चक्रजी मेरो घरमा आउँदै गरेको देखें। त्यतिबेला म हतारमा थिएँ। लामो कुरा गर्ने अवस्था थिएन। चक्रजीले मेरो अवस्था बुझ्नुभयो र बाहिरै केही कुरा गरौं भन्नुभयो। सोझै भीमबहादुरसँग बिहान गरेको कुराको प्रसंग निकाल्नुभयो। यसबाट बिहान गरेको कुराकानी भीमबहादुरजीले चक्रजीसँग सेयर गरेको कुरा बुझ्न मलाई समय लागेन। त्यसमा मैले आफूलाई लागेको धारणा स्पष्टसँग राखें। चक्रजीले यसमा काम गर्न सकिन्छ भनेर भन्नुभयो।
यसको केही दिनपछि गोदावरी रिसोर्टमा गिरिजाप्रसाद र कृष्णप्रसादको राजनीतिक संवाद भएको, निर्वाचनपछि कृष्णप्रसादलाई प्रधानमन्त्री बनाउन कांग्रेस मञ्जुर भएको समाचार प्रेषित भयो।
नेपाल–भारत सम्बन्धमा दक्खल राख्ने व्यक्तिका हैसियतमा कांग्रेसको निमित्त मात्र हैन, आइपर्दा समग्र मुलुककै लागि उहाँको निधनले रिक्तता महसुस भएको छ।
यो विषयमा त्यसबेला पार्टीपंक्तिमा एकसाथ विभिन्न व्यक्तिले विचार गरिरहेका हुन सक्छन्। तर त्यो विचारलाई कार्यरूपमा परिणत गर्ने काममा चक्रप्रसादको अग्रणी भूमिका थियो भन्नेमा म विश्वस्त छु। गिरिजाप्रसाद र कृष्णप्रसाद दुवैलाई मिलाएर एक ठाउँमा उभ्याउन उहाँले खेल्नुभएको भूमिकाको म आफू साक्षी छु।
जोखिम लिने व्यक्ति
राजनीतिमा चक्रजी जतिबेला पनि जोखिम लिने व्यक्ति भनेर मैले चिन्ने अवसर पाएँ। गिरिजाप्रसादसँग निकटस्थ भएर पनि राजनीतिक मुद्दामा उहाँसँग संवाद गर्ने मात्र हैन, बेलामा राय बझाउन पनि धक नमान्ने उहाँको बानी थियो।
कांग्रेसको बाह्रौं अधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाबीच सभापति पदमा प्रतिस्पर्धा हुने तय थियो। तर कांग्रेसभित्र तेस्रो शक्तिको रूपमा कसैले उम्मेदवारी दिनुपर्ने आवाज पनि सशक्त थियो। त्यो विचारसँग चक्रजी पनि सहमत हुनुहुन्थ्यो। र, उहाँले सभापतिमा भीमबहादुर र महामन्त्रीमा नरहरि आचार्यलाई समर्थन दिनुभयो। यसो गर्नु राजनीतिक हिसाबले प्रत्युत्पादक हुन्छ भन्ने जान्दाजान्दै उहाँले जोखिम लिन पछि हट्नुभएन। परिणाम उहाँलाई दुवै शक्तिशाली खेमाले रुचाएनन् र केन्द्रीय सदस्यमा पराजित हुनुपर्यो।
राजनीतिमा ‘स्वार्थ’ को सम्मिलन र विघटन कति चर्को हुन्छ भने चक्रजीले मूल्यप्रति आस्था प्रकट गरेका कारण दण्डित हुनुपर्यो।
यति मात्र हैन, २०६२–६३ को जनआन्दोलनपूर्व माओवादीसँग गिरिजाप्रसादको सुरुको संवादका सूत्राधारका रूपमा चक्रजीको भूमिका महत्वपूर्ण रह्यो। यद्यपि कार्यरूपमा अर्थात् बाह्रबुँदे सहमतिमा पुग्दा भने सायद उहाँको भूमिका सुरुको जस्तो नरहेको मैले महसुस गरेको छु।
राजाले सत्ता हातमा लिँदा र राजनीतिक भविष्य अन्योलमा रहँदा सशस्त्र आन्दोलन गरेको माओवादीसँग अग्रपंक्तिमा रहेर संवाद चलाउनु आफैंमा दुस्साहसभन्दा कम काम थिएन।
वैकल्पिक सोचका धनी
विकल्पमा खेल्ने पहिलो उच्च दर्जाको राजनीतिज्ञमा मैले बीपीलाई लिएको छु। सम्भावनाको खेललाई बीपीले कहिल्यै छोड्नुभएन। सशस्त्र क्रान्तिको बेलामा पनि राजासँग संवादको ढोका सदैव खोल्नुभयो।
संगत गर्दा मैले यो गुण पुष्पकमल दाहालमा पनि देखेको छु। सौदाबाजीमा निपुण पुष्पकमल दाहालको लचकता हेर्नलायक छ।
चक्रजीमा पनि विकल्पको सम्भावनामा खेल्ने बानी थियो। जतिबेला पनि लिकबाट हटेर सोच्ने र त्यस कुराको परीक्षण गर्ने उहाँको बानी सदैव प्रशंसनीय रह्यो। प्रत्येक व्यक्ति साहसिक काम गर्न किन डराउँछ भने त्यस्तो व्यक्ति लाभ–हानि मात्रको हिसाबले सन्तुलनमा बस्न रुचाउँछ। तर, चक्रजी प्रयोग गर्न रुचाउनुहुन्थ्यो। एउटै जीवनमा जति गर्न सकिन्छ, त्यो सबै गर्ने आँट भएका विरलै व्यक्तिमा चक्रजी पनि पर्नुहुन्थ्यो।
रुचिका अन्य विषय
धेरै राजनीति गर्नेहरू एक लिकमा हिँड्छन्। सायद गिरिजाप्रसाद त्यसै पंक्तिमा पर्नुहुन्छ। तर चक्रप्रसाद छुट्टै कोटीको व्यक्ति हुनुहुन्थ्यो। राजनीतिक दर्शनदेखि साहित्यसम्म, संगीत, कलादेखि कृषि–वनस्पतिसम्म उहाँको रुचि थियो। चक्रजीले खुमलटारको नयाँ बनाउनुभएको घर आफ्नो चाहअनुसारको थियो। त्यसको आर्किटेक्चरदेखि बगैंचा सजावटसम्म र फर्निचरदेखि भान्सासम्ममा उहाँको स्वाद देख्न सकिन्छ। यसमा पक्कै पनि चक्रजीको पत्नी कुसुमजीको पनि ठूलो हात छ। किनभने त्यो घर–बगैंचाको हैसियत बिग्रन नदिन चक्रजी बिरामी अवस्थामा हुँदा पनि, ६ वर्षसम्म कुसुमजीले ठूलो परि श्रम गर्नुभएको छ।
अध्ययनशील प्रकृतिका चक्रजी गम्भीर पुस्तक पढ्ने कांग्रेसीहरूमध्ये एक रहेको मैले देखेको हुँ। नयाँ पुस्तकमा रुचि राख्ने मात्र हैन, ती पुस्तकको दुष्टिकोणलाई नेपालको समसामयिक राजनीतिक–आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थासँग दाँज्ने र जोड्ने काममा पनि उहाँमा रुचि थियो।
राजनीतिमा यतिविधि दक्खल हुँदाहुँदै पनि झापामा एउटा मेडिकल कलेज खोल्ने अन्तिम प्रयास भने उहाँको पछिल्लो शारीरिक अवस्थाका कारण पूरा हुन सकेन।
कूटनीतिक मर्यादाको कुरो
चक्रजी कूटनीति बुझ्ने व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्थ्यो। विश्व घटनाक्रमलाई सूक्ष्मरूपमा विश्लेषण गर्नुहुन्थ्यो। भारतमा लामो समय विद्यार्थी जीवन एवं निर्वासनमा बस्दा भारतीय राजनीतिज्ञदेखि विभिन्न तप्काका व्यक्तिहरूसँग उहाँको सान्निध्यता थियो। कांग्रेसले भारत बुझ्ने एक गतिलो नेतालाई चक्रजीको अवसानसँगै गुमाएको छ। नेपाल–भारत सम्बन्धमा दक्खल राख्ने व्यक्तिका हैसियतमा कांग्रेसको निमित्त मात्र हैन, आइपर्दा समग्र मुलुककै लागि उहाँको निधनले रिक्तता महसुस भएको छ।
चक्रजी त्यतिबेला भारतका लागि नेपाली राजदूत हुनुहन्थ्यो। नयाँदिल्लीस्थित नेपाली दूतावासमा भीआईपी बस्ने एउटा कक्ष छ। पञ्चायतकालमा शाही परिवारका सदस्यहरू पनि त्यहाँ बस्ने गर्दथे। २०४७ सालपछि तत्कालीन युवराज दिल्ली जाने निश्चय भएछ। राजदरबारबाट चक्रजीलाई दूतावासमा युवराजलाई राख्न कठिनाइ पर्छ कि भनेर सोधनी भएछ। चक्रजीले स्पष्ट भन्नुभएछ– संवैधानिक राजतन्त्रका उत्तराधिकारीलाई दूतावासमा स्वागत गर्न पाउँदा मलाई खुसी अनुभव हुनेछ। यो कुरा चक्रजीले मसँगै भन्नुभएको थियो।
चक्रजीलाई यो स्पष्ट थाहा थियो– कूटनीतिक मर्यादाको पालना कसरी गर्नुपर्छ भनेर। अचेलका राजदूत राष्ट्रलाई कम र पार्टीप्रति बढी बफादारी देखाउँछन्। राजदूत छउञ्जेल उहाँले राष्ट्रलाई प्रतिनिधित्व गरेको कुरा कहिल्यै बिर्सनुभएन।
अन्त्यमा, प्रजातन्त्रको मूल मान्यतालाई आत्मासात गरेका र कांग्रेसको आदर्शप्रति सदैव विश्वास गर्ने अथक् योद्धा चक्रजीप्रति हार्दिक श्रद्धाञ्जली !