माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा विश्वकपको ट्रफी
पोखरा : आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी पोखरा ल्याइएको छ । शुक्रबार साँझ काठमाडौं ल्याइपुर्याएर स्यम्भूमा सार्वजनिक गरिएको ट्रफी अन्नपूर्ण हिमालको काख पोखरामा ल्याइएको हो ।
ट्रफी पोखरा रंगशालाको क्रिकेट मैदानमा सार्वजनिक गरि प्रदर्शनी गरिएको छ ।शुक्रबार देखि पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट खेलाडी विभिन्न टिममा सहभागी छन् ।
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायतका राष्ट्रिय खेलाडीको उपस्थितिमा पोखरामा सार्वजनिक गरिएको हो ।
अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ । सोही ट्रफी पहिलो पटक नेपालमा ल्याइएको हो । फुटबल विश्वकपको ट्रफी भने सन् २०१४ को ब्राजिल विश्वकपअघि नेपालमा ल्याइएको थियो ।
विश्वकप सुरु हुनुअघि विश्वव्यापी रुपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराएको हो । ट्रफी ओमन, अमेरिका, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेशपछि नेपाल ल्याइएको हो ।