रोगले मासिँदै सुन्तला
इलाम/फिदिम/ताप्लेजुङ : इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वी जिल्लामा रोगका कारण सुन्तला मासिन थालेको छ। पात पहेंलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण सुन्तला बगान ६० प्रतिशतसम्म मासिएको छ। इलामको सुन्तलामा चार वर्षअघि देखापरेको ग्रिनिङ रोग अहिले जिल्लाका सुन्तला उत्पादन क्षेत्रमा फैलिएर बगान नै सखाप भएको किसान बताउँछन्।
रोङ गाउँपालिका–६ सलकपुरका किसानको आधाभन्दा धेरै सुन्तला बगान नै मासिएको वडाध्यक्ष सुवास तामाङले बताए। ‘वार्षिक ३ करोड रुपैयाँसम्मको सुन्तला यही क्षेत्रबाट बिक्री हुन्थ्यो’, उनले भने, ‘अहिले उत्पादन घटेर सुन्तला खेती नै संकटमा परेको छ।’ अहिले वार्षिक १ करोडको सुन्तला बेच्न पनि समस्या पर्न थालेको उनले सुनाए।
सुन्तला पर्यटनका लागि भारत र बंगलादेशका व्यापारी तथा पर्यटक आउने सलकपुरको आर्थिक आधार नै हराउन लागेको किसान कुमार मोक्तानले बताए। उनका अनुसार सुन्तला टुप्पोबाट सुक्न सुरु गर्ने र पात पहेंलो भई सिक्रो बन्ने गरेको छ। रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले सुन्तलाको रोग स्थानीयको नियन्त्रणबाहिर गएको बताए। भने, ‘केन्द्र सरकारले समयमै चासो नदिए सबै सकिने खतरा छ।’
इलामका इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ। किसानका अनुसार सबै क्षेत्रमा रोगको प्रकोप उत्तिकै फैलिएको छ। केही वर्षअघिको तथ्यांकअनुसार जिल्लाका ३ सय ९ हेक्टर क्षेत्रमा सुन्तला बगंैचा थियो। इलामबाट वार्षिक ४ हजार १ सय टन सुन्तला निर्यात हुने गरे पनि उत्पादन र क्षेत्र घट्ने क्रममा छ।
सिन्धुलीपछि १२ जिल्लाको सुन्तला खेतीमा क्षति पुर्याएको सिट्रस ग्रिनिङ रोग इलाममा चार वर्षअघि देखिएको थियो। गोदक र सोयाकका ११ वटा नमुना परीक्षण गर्दा यो रोगको पुष्टि भएको थियो। यस्तै, लक्षण देखिएर जिल्लाका सबै क्षेत्रको सुन्तलाका बोट मर्न थालेको जनाइएको छ। किसानले सुकेका बोट हटाउन थालेका छन्।
पात पहेंलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण सुन्तला बगान ६० प्रतिशतसम्म मासिएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको खुमलटार प्रयोगशालामा गरिएको परीक्षणमा ६ नमुनामा सिट्रस ग्रिनिङ फेला परेको थियो। सिन्धुलीमा देखापरेको केही वर्षपछि यो रोगले धनकुटा, कास्की, तनहुँ, दैलेख, गोरखा, लमजुङ, कैलाली, डडेलधुरा, बैतडी, डोटी, सल्यानलगायत जिल्लामा व्यापक क्षति पुर्याएको बाली संरक्षण निर्देशनालयको बुलेटिनमा उल्लेख छ।
पाँचथरमा पनि यस्तै समस्या देखिएको किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए। ‘बोटै सुकेर मर्ने समस्या व्यापक छ’, उनले भने, ‘अहिलेसम्म रोकथामको प्रयास भएको छैन।’
फाल्गुनन्दको नवमीडाँडा, फिदिमको साम्दिन, याङवरकको नागी, मिक्लाजुङको कुरुम्बा, कुम्मायकको रानीगाउँमा सुन्तला खेती हुने गरेको महासंघले जनाएको छ। ग्रिनिङ रोग लागेपछि पातको नसा हरियो भए पनि पहेलो भई सूक्ष्म तत्वको कमी भएजस्तो लक्षण हुने विज्ञ बताउँछन्। यो रोग हजार मिटरभन्दा माथि पनि देखिन थालेको जनाइएको छ।
निर्देशनालयले यसअघि काभ्रे, धनकुटा, सिन्धुली र इलामका सुन्तला जात बालीको रोग उपचारका लागि अभियान सञ्चालन गरेको थियो। कृषि विज्ञका अनुसार फल्ने समयको ६ वर्षपछि यो रोगको प्रकोप देखापर्छ। रोग लागेपछि बोटको आकृति नै फरक हुने गर्दछ। यो रोग कलमी गर्दा र सिट्रस सिल्ला किराले सार्ने जनाइएको छ। कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत डा. रामकृष्ण श्रेष्ठले सबै जिल्लामा सिट्रस डिक्लाइनको समस्या देखिएको बताए। भने, ‘समस्याको सूचना आएपछि तुरुन्त अनुसन्धान र रोकथाम प्रयास गर्ने गरिएको छ।’ सुन्तलामा लाग्ने सबै रोगलाई सिट्रस ग्रिनिङ भन्ने नसकिने उनको भनाइ छ।
ताप्लेजुङको आठराई त्रिवेणी–५ चाँगेका डम्बरध्वज आङबोहाङको सुन्तला बगानमा अहिले २१ बोट मात्र छन्। उनले पाँच वर्षअघि १ सय ७० वटा सुन्तलाका बिरुवा लगाएका थिए। व्यावसायिक रूपमा सुन्तला खेती गर्न लागिपरेका उनी बिरुवा बर्सेनि मरेपछि निराश बनेका छन्।
‘धेरै दुःख गरेर धान र कोदो फल्ने जग्गामा सुन्तला रोपें तर फल्ने बेला भएपछि सबै मरेर सकियो’, उनले भने, ‘अहिले सुकेको बोट काटेर दाउरा बाल्दै छु।’
फल्ने बेला भएपछि पात पहेंलो हुने अनि बोटै मर्ने समस्या गाउँभरि रहेको उनले सुनाए। पहिले कृषि कार्यालयमा समस्या लिएर जाँदा ‘चुना दल्नु ठीक हुन्छ’ भनेर हलुका जवाफ पाएको तर मर्न नछाडेको किसान बताउँछन्। ‘अहिले कृषि कार्यालय पनि उठेछ, यस्तो भयो भन्दै कहाँ जानु ? ’ उनले भने।
फुङलिङ–८ दोखुका तुलसी गौतमले २०५३ सालमा लगाएको बिरुवाबाट दुई वर्ष मात्र फल खान पाए। अघिल्ला दुई वर्ष प्रतिबोट एक डोकाका दरले फलेको सुन्तलाका बोट अहिले अधिकांश सुकेका छन्। दुई वर्षअघि १ लाख ६० हजारभन्दा बढीको सुन्तला बेचेका तारीबुङका नरेन्द्र बस्नेतले पनि अधिकांश बोट मरेको बताए। ‘सुन्तला बगान मासिँदै गयो’, उनले भने,‘अलिअलि बाँचेकामा पनि झरेरै सकिने र एक वर्ष फलेको बोटमा अर्को वर्ष नफल्ने समस्या छ।’
मौसम परिवर्तनका कारण सुन्तला मासिँदै भएको किसानको अनुमान छ। ‘हिमाल देखिने ठाउँका बगानमा अलि कम मरेका छन्, हिमाल नदेखिने पाटाको बगानमा धेरै मरेका छन्’, दोखुका कृष्ण बरालले भने। पहिले फल्ने ठाउँमा नफल्ने र त्योभन्दा माथिल्लो उचाइमा फल्न थालेको उनको अनुभव छ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयद्वारा प्रकाशित पुस्तकमा ८ सयदेखि १५ सय मिटर उचाइसम्म सुन्तला फल्ने उल्लेख छ। पहिलेभन्दा ढिलो सुन्तला पाक्न थालेको पनि किसान बताउँछन्। कृषि कार्यालयका अनुसार १६ सय ५० हेक्टर क्षेत्रफलबाट ९ हजार ९ सय टनसम्म उत्पादन हुँदै आएको छ।
(तोयानाथ भट्टराई/इलाम, भीमकुमार बाँस्कोटा/फिदिम, सीताराम गुरागार्इं/ताप्लेजुङ)
प्रतिक्रिया दिनुहोस !