मेसी-रोनाल्डोबिनाको एल क्लासिको, कसले मार्ला बाजी ?
काठमाडौँ : विश्वका सर्वाधिक सफल दुई क्लबबीचको बहुचर्चित भिडन्त आइतवार राति हुँदैछ । दुई स्पेनिस क्लबबीचको भिडन्तका क्रममा नेपाली समयानुसार राति ठीक ९ बार्सिलोनाले रियल मड्रिडलाई क्याम्प नोउमा स्वागत गर्नेछ ।
यो पटकको एल क्लासिको पहिलो भन्दा खल्लो हुने चिन्ताले भने दुवै क्लबका समर्थकलाई पिरोलेको छ । यो चिन्ताको खास कारण हुन् बार्सिलोनाका लियोनेल मेसी र रियल मड्रिड छाडेका क्रिस्टियानो रोनाल्डो ।
एघार वर्षमा पहिलो पटक मेसी र रोनाल्डोबिना नै एल क्लासिको हुँदैछ । कर विवादमा फसेपछि रोनाल्डो रियल मड्रिडलाई बिदाको हात हल्लाउँदै यसै सिजन इटालियन क्लब युभेन्ट्स पुगिसकेका छन् भने कुमको चोटका कारण मेसी कम्तिमा तीन सातालाई मैदान बाहिर छन् ।
एल क्लासिको भिडन्त समकालिन विश्व फुटबलका दुई स्टारकै कारण अत्यधिक चर्चामा थियो । मेसी र रोनाल्डोबीच मैदान बाहिर र सामाजिक सञ्जालमा पनि हुने प्रतिद्वन्द्वी व्यवहारले एल क्लासिको चर्चित थियो ।
यो सिजन रोनाल्डोले छाडेपछि रियल मड्रिड साँच्चिकै घाइते जस्तो देखिन्छ । त्यसको जबाफका लागि स्पेनिस ला लिगाको अंकतालिका हेरे पुग्छ । जहाँ बार्सिलोना ९ खेलबाट १८ अंकसहित लिगको शीर्ष स्थानमा रहँदा मड्रिड ९ खेलबाट १४ अंकसहित सातौँ स्थनमा छ । भलै यी दुई टोलीबीच ४ अंकको मात्रै दुरी भए पनि रोनाल्डोले छाडेपछि रियलको अग्रपंक्ति साँच्चिकै लडखडाएको छ ।
उता रोनाल्डोले युभेन्ट्समा लगातार गोल गर्दैछन् भने टोलीले सिरि ए मा ७ अंकको अग्रता बनाएको छ । युभेन्ट्स २८ अंकसहित पहिलो नम्बरम हुँदा उसलाई पछ्याइरहेको नापोली २१ अंकसहित दोस्रो स्थानमा छ ।
मेसी र रोनाल्डोबिनाको एल क्लासिको केही खल्लो हुने भए पनि लामो समयदेखि स्पेनिस र युरोपियन फुटबलमा दबदबा बनाउँँदै आएका यी दुई क्लबबीचको प्रतिस्पर्धाले दर्शक तान्नेमा कुनै शंका छैन ।तर रोनाल्डो हिँडेपछिको रियलले बार्सिलोनासँग कसरी प्रतिस्पर्धा गर्छ ? यो चाख लाग्दो भएको छ । रियल पछिल्ला पाँचमा तीन खेल पराजय भोग्न बाध्य भएको छ भने एक मा बराबरी र एकमा जित निकालेको छ । अर्कातिर बार्सिलोनाले ३ खेलमा जित र २ खेलमा हार भोगेको छ ।
रोनाल्डो हुँदा लगातार तीन सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको रियलले खराब प्रदर्शनकै कारण प्रशिक्षकलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
रियलको संकट कतिसम्म गहिरो छ भने उसले पछिल्लो गोल गर्न ४८१ मिनेटसम्म कुर्नुप¥यो । रोनाल्डोले छाडेपछि विकल्पमा हेरिएका करिम बेन्जेमा र ग्यारेथ बेल पनि पटक पटक घाइते भइरहँदा लयमा छैनन् । त्यसैगरी अग्रपंक्तिका इस्को र टोनी क्रुज पनि चोटकै कारण खेल्न सकिरहेका छैनन् ।
बार्सिलानाले पनि उसको वास्तविक लय यो सिजनमा देखाउन सकेको छैन । रियल भन्दा केही राम्रो खेले पनि बार्सिलोनाले आफ्नो लय भुले जस्तो देखिन्छ । मेसी घाइते भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणाको भिडन्तमा इटालियन क्लब इन्टरमिलानलाई २–० ले हरायो ।
बार्सिलोना त्यही लयलाई समात्दै एल क्लासिकोमा बाजी मार्ने दाउमा छ । बार्सिलोनाको यो दाउ सफल हुन मेसीको अनुपस्थितिमा फिलिपे कोटिन्हो र लुइस स्वारेजबीचको तालमेल चल्नुपर्ने देखिन्छ । अर्कातिर रियलको अग्रपंक्ति ग्यारेथ बेल र करिम बेन्जामाको काँधमा छ ।
के हो एल क्लासिको ?
यो प्रतियोगिता इतिहासका कारण पनि प्रख्यात छ । ऐतिहासिक दृष्टिबाट हेर्दा बार्सिलोना र रियल मड्रिड स्पेनका दुई ठुला सहर हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतः बार्सिलोना समर्थक क्याटालोनिया समर्थक छन् भने रियल मड्रिड समर्थक स्पेनिस सरकारनिकट हुन्छन् । यी दुवै क्लब संसारकै सबभन्दा धनी र सफल मानिन्छन् ।
पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकलाई असम्मान र अत्याचार गरिन्थ्यो । तसर्थ त्यहाँका नागरिकले राज्यसँग बदला लिने एकमात्र उपाय मड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु राखेका हुन्छन् ।
यस्तो छ इतिहास
एल क्लासिको माथिका दुई स्पेनिस क्लबबीचको भिडन्त हो । योसहित दुई क्लबबीच २३९ औँ एल क्लासिको हुने छ । अहिलेसम्मका २३८ एल क्लासिकोमा ला लिगातर्फ १७७, कोपा डेल रे मा ३४, च्याम्पियन्स लिगमा ८ र अन्यमा २० रहेका छन् ।
यी भिडन्तमा विगतको कुरा गर्ने हो भने रियल मड्रिडले ९५ एल क्लासिकोमाा बाजी मारेको छ । उता बार्सिलोनाले ९३ एल क्लासिकोमा जित निकालेको । ५० एल क्लासिको बराबरीमा टुंगिएका थिए ।
ला लिगातर्फको कुरा गर्ने हो भने १७७ एल क्लासिकोमा रियलले ७२ खेल जित्दा बार्सिलोनाले ७० खेलमा बाजी मारेको छ । ३५ खेल भने बराबरी भएका छन् ।