पुराना कपडाबाट मनग्गे कमाइ

पुराना कपडाबाट मनग्गे कमाइ

इलाम : बाराका धर्मेन्द्र कुसवाह सिरक बनाउने काम गर्न २५ वर्षअघि रोङ गाउँपालिको शान्तिपुर आएका थिए। अहिले उद्यमी बनेर उनले अरूलाई रोजगारी दिएका छन्। ‘उताको सबै बेचेर यतै बस्न मन थियो, अलिक मिलेन’, उनले काम गर्दै भने।

छिमेकीलाई सघाउन आएका उनले एक दशक इलामका गाउँ–गाउँसम्म कपासको भारी बोकेर बिताए। केही वर्ष सहयोगीको काम गरे। १६ वर्षको उमेरमा आफैं काम थालेका उनले शान्तिपुरमै डेरा जमाए। अढाई दशक अवधिमा उनले निकै उतारचढाव बेहोरे।

‘कलिलो केटाले सिरक, डस्ना बनाऊँ भन्दै जाँदा कसैले पत्याउँदेनथे’, उनले सुनाए, ‘सबैले धपाउन खोज्थे तर चिनेका घरमा दिनभर पिढी कुरेर बसेपछि काम लगाउँथे।’ काम हेरेपछि भने राम्रो गर्ने रहेछ भनेर सबैले पत्याएको उनले बताए।

कपास महँगो बन्दै गएपछि व्यापार घट्दै जाँदा व्यवसाय नै संकटमा पर्ने पीरले उनलाई सतायो। उनले सहरमा फाट्टफुट्ट देखिन थालेको पुराना कपडाको कपास बनाउने मेसिन प्रयोग गर्ने योजना बनाए। ट्र्याक्टरसहित मेसिनलाई १८ लाख लगानी गरेर उनले पहिलो मेसिन जोडे।

बारामा बुवाले खेत जोत्न ल्याएको ट्र्याक्टरमा मेसिन जडान गरी उनले शान्तिपुरमा प्रवेश गराए। उनको खस्किएको व्यवसायले गति लियो। थप १८ लाख खर्च गरी उनले अर्को ट्र्याक्टर र मेसिन भित्याए। एउटा मेसिनले करिब सय किलो पुराना कपडालाई कपासजस्तो बनाएर सिरक, डस्ना, चकटीलगायत सामान बनाउँछ। उनका अनुसार दिनमा तीन जनाको समूहले गर्ने काम यत्ति हो। एउटा मेसिनका लागि तीनदेखि चार जना कामदार चाहिन्छ। दुईवटा मेसिनले २ सय किलो हाराहारीमा कपास बनाएर कपडा बनाउने गरे पनि माग थेग्न नसकिएको उनको भनाइ छ।

उनले अहिले ६ जनालाई मासिक १० हजार, खाना, आवास, लत्ताकपडासहित रोजगारी दिएका छन्। आफ्नो मासिक कमाइ ३० हजार रुपैयाँभन्दा बढी रहेको उनले सुनाए। उनका अनुसार इलामका गाउँ–गाउँबाट सामानको माग आएको छ। ताप्लेजुङबाट निम्तो आए पनि जान नसकेको उनले सुनाए।

ट्र्याक्टरमा जोडेको मेसिन गाउँ–गाउँ लगेर सेवा दिने जुक्ति निकालेपछि धेरैलाई फाइदा भएको सूर्योदय नगरपालिका–११ का भेषराज भट्टराईले बताए। दसंैपछि घरमै बोलाएका उनले सय किलोबराबरका सामग्री बनाए। भने, ‘डढाउने गरेका सबै कपडा प्रयोगमा आए।’ खर्च पनि कम लागेकाले धेरैले यही विधि मन पराएको उनको भनाइ छ। कपडा र श्रम गरेर प्रतिकिलो १ सय ६० रुपैयाँ हाराहारी ज्याला लिने गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.